शहरिया चरालाई बिसिएनले ल्यायो ‘बर्ड फिडर’

काठमाडौँ । झट्ट हेर्दा शहरबजारमा खासै चराचुरुङ्गीहरु छैनन् कि भन्ने लागेपनि दर्जनौँ प्रजातिका पंक्षीको बास शहरबजारमा नै हुने गरेको छ । समाजमा महामारी, भोकमरी, रोगव्याधी फैलिँदा त्यसको प्रत्यक्ष असर ती पंक्षीमा पर्ने गरेको हुन्छ ।

यो पटकको कोरोना कहरले मानव समाजमा मात्र उथलपुथल ल्याएन, शहरी वातावरणमा आश्रित जीवजन्तु, पंक्षीलाई समेत असर पार्यो । आहार नपाएर कतिपय पंक्षी सडकमा मरेको देखिन थालेपछि नेपाल पंक्षी संरक्षण सङ्घले शहरीया पंक्षीको आहारको व्यवस्थापनको काम सुरु गरेको छ ।

सङ्घका सञ्चार अधिकृत निरज दाहालका अनुसार सानीमा बैँकसँगको सहकार्यमा काठमाडौँ उपत्यकाका पंक्षीका लागि ‘बर्ड फिडर’ नाम गरेको कार्यक्रम सुरुवात गरिएको छ ।

सञ्चार अधिकृत, निरज दाहाल


दाहालका अनुसार अहिले ५० वटा फिडर निर्माण गरिएका छन् । ती फिडरको माथिल्लो भागमा पंक्षीका लागि आहार दाना, फलफूल राखिन्छ र ती आहार फिडरको तल्लो भागको प्लेटमा झर्छ अनि चराचुरुङ्गीलाई खान सहज हुने गरी फिडर निर्माण गरिएका छन् ।

ती फिडरलाई राजदूतावास, ठूला तारे होटल, पार्क, रिसोर्ट, विद्यालय, क्याम्पसका हाताभित्र राखिने छन् । हाल गोदावरी पार्क भिलेजको हाता, कोटेश्वरको पार्कभित्र, डब्लुडब्लुएफ नेपालको कार्यालय हाताभित्र र कलाकार मदनकृष्ण तथा हरिबंश आचार्यले आफ्ना आँगनमा ती फिडर राखिसकेका छन् ।

जुन ठाउँमा फिडर राखिएका छन्, ती व्यक्ति वा संस्थाले चराचुरुङ्गीलाई चाहिने आहारको व्यवस्थापन गर्ने प्रतिबद्धता गरिएको जानकारी सञ्चार अधिकृत दाहालले दिए ।

उपत्यकाका घना बस्तीभित्र भँगेरा, बुलबुल, परेवा, धोबिनी चरा, फिस्टे चरा, न्याउली, कुत्रुक्के, काग, परेवा लगायतका पंक्षी पाइने गरेका छन् । यी पंक्षीलाई बर्खामा भन्दा हिउँदमा आहारको समस्या पर्ने गरेको नेपाल पंक्षी संरक्षण सङ्घका प्रमुख कार्यकारी अधिकृत इशाना थापाले बताइन् ।

बर्खाका बेला चराको आहार हरियो घाँसपात तथा रुखहरुमा किरा फट्याङ्ग्रा प्रशस्त मात्रामा हुने भएपनि हिउँदमा भने प्राकृतिक बासस्थानमा पनि चराचुरुङ्गीलाई आहारको समस्या हुने गरेको छ । यो अभियानले शहरीया चराचुरुङ्गीलाई हिउँदे याममा बढी सहयोग हुने देखिएको छ ।

पहिलो चरणमा ५० वटा फिडर राखिने भएका छन् । सहयोग गर्ने व्यक्ति तथा दाता धेरै देखिएमा दोस्रो चरणमा थप स्थानमा फिडर राख्ने योजना पंक्षी संरक्षण सङ्घले बनाएको छ ।

आहारको प्रकृति अनुसार शहरीया चराचुरुङ्गीहरु फिडर वरपर आउने हुन्छन् । कतिपय चराहरुले फलफूल मात्र खान्छन् भने कतिपयले चामल, गहुँ, भटमास लगायतका अन्न तथा दाना मात्र खाने खालका हुन्छन् ।

मौसम अनुसार कतिपय चराहरु शहर पस्ने र कहिलेकाँही उपत्यका वरपरका डाँडाकाँडा तथा वनजंगलमा घुम्ने पनि गरेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here