सगरमाथा संवाद : हिमाल बचाउन विश्व समुदायलाई आह्वान

काठमाडौं । नेपालले आयोजना गरेको सगरमाथा संवादको पहिलो श्रृखला तीनदिनसम्म सञ्चालन भएर शनिवार सम्पन्न भएको छ । पहिलो संवाद श्रृखलाले २५ बुँदे सगरमाथा आह्वान पत्र समेत सार्वजनिक गरेको छ ।


“जलवायु परिवर्तन, हिमाल र मानव भविष्य” भन्ने मूल नाराका साथ काठमाडौंमा आयोजना गरिएको संवादको पहिलो संस्करणमा १७५ जना विदेशीको सहभागीता रहेको थियो भने झण्डै चारसय जति नेपालीको सहभागी थिए ।

विश्व समुदायलाई हिमालको चिन्ता लिन आग्रह गरिएको छ । सो सगरमाथा आह्वानपत्रमा औद्योगिक क्रान्तिअघि भन्दा अधिकतम १.५ डिग्री सेल्सियससम्म तापमान वृद्धिमा सीमित गर्न विश्व समुदायलाई विशेष अनुरोध समेत गरेको छ ।

संवादले भनेको छ, संयुक्त राष्ट्रसंघको २०२५ लाई “हिमनदी संरक्षणको अन्तर्राष्ट्रिय वर्ष” र २१ मार्चलाई “विश्व हिमनदी दिवस” को रूपमा मनाउने निर्णय स्वागतयोग्य र समर्थनयोग्य छ । उच्च हिमाली क्षेत्र र समुन्द्री तटीयसम्मका देशको सम्बन्ध र साझा मुद्धा बन्नु पर्नेमा पनि संवादले जोड दिएको छ ।


संवादले पेरिस सम्झौता अक्षरस पालना र कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ । त्यसैगरी विकासशील र जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई द्विपक्षीय, बहुपक्षीय र वैकल्पिक स्रोतबाट वित्तीय सुनिश्चिततामा जोड दिएको छ ।


संवादले ग्रामीण र सहरी समुदाय दुवैमा सानादेखि ठूला स्तरका पूर्वाधारसम्म हरित, लचिलो र समावेशी विकास प्रवद्र्धन गर्ने महत्त्वलाई स्वीकार गर्र्दै स्वच्छ ऊर्जा, ऊर्जा दक्षता र न्यायपूर्ण ऊर्जाको महत्वलाई जोड दिने, स्वच्छ ऊर्जाका साथै हरित, चक्रीय र बायो–अर्थतन्त्रमार्फत भविष्यलाई शक्ति प्रदान गर्ने महत्त्वलाई पनि संवादले स्वीकार गरेको छ ।

पर्वतीय क्षेत्रहरूमा जलवायु कार्य र दिगो विकासका लागि लक्षित वित्तीय स्रोतहरू परिचालन गर्न पर्वतीय देशको विकासका लागि समर्पित कोष स्थापना गर्ने आह्वानलाई समर्थन गर्ने र मौजूदा तथा नवप्रवर्तनकारी वित्तीय स्रोतहरूको उपयोग गरी पर्वतीय पारिस्थितिक प्रणाली सेवाहरूको मान्यता, सम्मान र पुरस्कृत गर्न प्राथमिकता दिने संबादपछि जारी गरिएको आह्वान पत्रमा उल्लेख छ।

(तस्विरका लागि राससलाई धन्यबाद)

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here