किन आशु झारेर बिदाई भए मनबहादुर खड्का ?

काठमाडौँ । तत्कालिन वन विभागका एक जना महानिर्देशकको सेवानिवृत हुने समय नजिकिदैथ्यो । त्यो बेलाको वनको डिजीको शान, शौख अनि मान, सम्मान कस्तो न कस्तो । वन मन्त्रालय भनेकै वन विभाग थियो, वन मन्त्री अनि सचिव भनेकै वनको डिजीको आडमा बसेको भान हुन्थ्यो बाहिरी दुनियाँलाई ।

सेवानिवृत हुन थालेका व्यक्ति कम हुँकार दिने खालका थिएनन् । उनको विगतको इतिहास निकै रबाफिलो थियो । डिएफो हुनु त उनी जस्तो हुनु भन्ने बखान निकै पहिले देखि सुनिन्थ्यो । कालान्तर तिनै व्यक्ति डिजी भए, सान र रबाफका साथ विभाग चलाए । तिनै व्यक्ति डिजी पदबाट सेवानिवृत हुदै थिए । (स्वर्गवास भइसक्नु भएका ती व्यक्तिको आत्मसम्मानका लागि यहाँ नाम उल्लेख गर्न असमर्थ भए )

एक दिन विभागमा एकाएक निकै खैलाबैला मच्चियो कि डिजीसाफलाई त एउटा महिलाले चप्पल उठाएर हान्छु भनि । यो घटना विभागका एक जना कर्मचारीले मलाई सुनाएका थिए । मैले पत्रकारिता गर्न थालेको देखि हालसम्म झण्डै दुई दर्जन जति वन विभागको डिजी देखिसकेको छु । मैले लेख्न थाल्दा इन्द्रसिँह कार्की डिजी र रबिबहादुर विष्ट वन सचिव थिए । सायद दोस्रो पटक कार्की डिजी भएको बेला मैले पत्रकारितामा बामे सर्न थालेको हुँ । कार्की पछि दिव्यदेव भट्ट र पछि जमुनाकृष्ण ताम्राकार विभागमा पदासिन भए ।

डिजीसाफको त्यो घटनालाई बुझ्न मलाई झण्डै एक हप्ता लाग्यो । घटना उनी दाङ जिल्लाको डिएफो हुँदाको अबस्थाको रहेछ । दाङमा बस्दा लसपस भएकी एक मैयासाफ अन्तिम पटक बार्गेनिङ गर्न आएकी रहेछिन् । ती मैयासाफको माग पूरा नगरुन्जेल डिजीसाफले विभागमा मुख देखाएनन् । पछि विभागमा गाईगुई सुनियो, दाङमा बस्दा भित्र्याएकी कान्छीले अन्तिम पटक थर्काइन् । कति लाख लिनुदिनुको कारोवारमा कुरो मिलेछ ।

यही आँखाले विभागको रातो घर भित्रको एउटा कोठामा तत्कालिन डिजी जमुनाकृष्ण ताम्राकारको खरानी रङको कोटमा ५० हजारको गड्डी हालेर अख्तियारको फन्दामा पारेको घटना पनि देख्यो । तत्कालिन डिजी डा. केशब कँडेल विदेश भ्रमणका रहेका बेला ललितपुर जिल्ला वन कार्यालयको हाताभित्र राखिएको करोडौँ मूल्य बराबरको रक्तचन्दन ट्रकमा लोड गरेर लुटियो । डिजी भइसकेका दिव्यदेब भट्ट किन सुर्खेतमा क्षेत्रीय निर्देशकमा लखेटिए ? यी बदमास आँखाले देख्नु देख्यो, नदेख्नु कति देख्यो, देख्यो । लेख्न थाल्यो भने कति महाकाब्य तयार हुन सक्छन्, जस्तो लाग्छ आजभोली ।

संघीयता कार्यान्वयन भएपछि वन विभाग उहिलेको जस्तो वन विभाग रहेन । तैपनि वन विभाग अस्तित्वमा छ । विभागमा डिजीको पद कायमै छ । डिएफओ विनाको डिजी साँच्चै हेर्दा हतियार विहिन सिपाही जस्तो लाग्छ ।

केही दिनदेखि हालका डिजी मनबहादुर खड्का देश दौडाहामा छन् । निधारमा अबिर, गलामा माला र काँधमा दोसल्ला ओढीरहेको उनका तस्विर सामाजिक सञ्जालमा जताततै देख्न पाइन्छ । खड्का भोली पर्सि नै सेवानिवृत हुँदै रहेछन् । यसरी मान सम्मानका लागि खड्कालाई कसले बोलायो ? किन बोलायो भन्ने कौतुहलता जाग्नु स्वभाविक हो । उहिलेको डिजी भएको भए त सेवानिवृत हुनु अघि यसो अनुगमन भन्दै ‘वनदेबीको प्रसाद’ उठाउन जाने प्रचलन पनि विभागको पुरानै र रैथाने संस्कार हो ।

तर अहिले त त्यो परिस्थिति छैन । डिएफो बिनाको डिजी किन देश दौडाहामा ? किन यसरी मान सम्मानको ओइरो ? खड्काको यो पछिल्ला घटना देख्दा ती विगतका डिजीसाफहरुको झल्झल्ती याद आउने गर्छ । सेवा निवृत हुनु अघि विभागबाट भागभाग भएका तत्कालिन डिजी र सेवा निवृत हुनु अघि जिल्ला जिल्लामा गएर फूलमाला र अबिर पहिरिने वर्तमान डिजीको सन्दर्भले केही शब्द कोर्न मौका जुरायो ।

२०५५ सालतिरको हिउँदतिरको कुरो हो । खड्का कञ्चनपुरको डिएफो हुँदा उनले हात्ती लगाएर कञ्चनपुरको अतिक्रमण हटाएको कुराले राष्ट्रिय रुपमा चर्चा पायो । म नेपालगञ्जमा एउटा तालिममा थिए, मेरो सम्पादकले कञ्चनपुरतिर जान निर्देशन दिए, म तालिम सकिएपछि कञ्चनपुर पुगे । खड्कासँग पहिलो मुलाकात बाणी क्षेत्रको अतिक्रमण उठाउँदै गर्दा भयो । अतिक्रमण उठाउन हातमा लठ्ठी समातेर खड्का तात्दै गरेको र रेञ्जर पूर्णशंकर यादवले निर्देशन पालना गरेको दृश्य अझै ताजै छ ।

२०४४ सालमा अस्थायी अट्याच अफिसर भएर राष्ट्रिय निकुञ्जमा जागिर खाएका खड्काको निजामति सेवामा स्थायी भएपछिको पहिलो नियुक्ति भने बैतडी जिल्लामा भएको थियो । पञ्चलाल शाह र सुरेन्द्रराजभक्त नेपाली त्यतिबेला खड्कासँगै जागिर प्रवेश गरेका सहयात्री थिए ।

खड्काको शौभाग्य वा अपभाग्य । तत्कालिन अवस्थामा बैतडी जिल्लामा कसैले जान मानेका थिएनन् । जिल्ला वन कार्यालय बैतडीमा व्यापक अनियमितता भएको घटना तत्कालिन श्री ५ राजा बिरेन्द्रको बैतडीमा सवारी हुँदा सार्वजनिक भयो । राजाले त्यो घटना सुनेपछि त्यहाँका हाकिमदेखि लिएर सबै कर्मचारीलाई जागिरबाट हटाउने हुकुम भएको थियो । त्यो घटनापछि बैतडी जाने आँट कसैले गरेका थिएनन् । तर खड्कालाई कामु कार्यालय प्रमुख बनाएर पठाइयो । पहिलो पोष्टिङमा नै हाकिम भएका खड्काले २०४४ साल पुसदेखि २०४६ सालसम्म तत्कालिन सेती महाकाली वन डिभिजन कार्यालय बैतडीमा नेतृत्व दिए ।

दुई वर्ष बैतडीमा बसेका खड्कालाई २०४६ मा छिमेकी जिल्ला डडेल्धुरामा पुनः हाकिमको रुपमा सरुवा गरियो । उनीसँगै नियुक्ति लिएका साथीहरु सहायक वन अधिकृत भएर काम गरिरहेको बेला खड्का भने दुई जिल्लाका हाकिम भइसकेका थिए । खड्का डडेल्धुरामा बस्दा जिल्लाभरी ‘कडा डेफो’ आको छ भन्ने हल्ला फैलिएसँगै जोगबुडा क्षेत्रको अतिक्रमण कम भएको स्मृति सुदूरपश्चिमका पुराना काठ व्यवसायीले गर्ने गरेका छन् ।

नेदरल्याण्डबाट स्नाकोत्तर पढाई पूरा गरेका खड्काले रसुवा, नुवाकोट, मकवानपुरमा बस्दा सामुदायिक वन विकासमा सहजीकरण गरेको स्मरण गरिन्छ । २०६४ सालमा कैलालीमा सरुवा भएका खड्कासँग काठ तस्कर र तस्करीका मतियारहरुको ठूलो मुडभेड भयो । खड्काले दलका नेतारुलाई तस्करी गरेको प्रमाण सहित औला ठड्याउदै सिडियोको अगाडि वन कर्मचारी माथि भएको हमलाको प्रतिबाद गरे । खड्कासँग विमती राख्ने व्यक्तिहरु पछि यौन काण्डमा पार्टीबाट कारवाहीमा परे, मन्त्री पद खोसियो, ती व्यक्ति अहिले पनि पदकै लागि पार्टी परिवर्तन गर्दै हिडेका छन् ।

कञ्चनपुरमा अतिक्रमण हटाएर नाम कमाएका खड्काले कैलालीमा पुगेपछि अतिक्रमण हटाउने काम सुरु गर्ने बित्तिकै काठ तस्करहरु बिच्किएका थिए । राजनीतिक दलका आवरणमा रातारात धनी हुने सपना बोकेका व्यक्तिहरुसँग प्रत्यक्ष भिडेका खड्कालाई तत्कालिन वन मन्त्री किरण गुरुङले समेत दुख्ख दिए ।

कैलालीमा बस्दा रातारात वन क्षेत्र खनजोत गर्दै गर्दा दर्जनौँ व्यक्तिलाई छोपेर थुनामा राखे । घर खानतलासी गरेर लुकाएर राखेका काठका गोलिया जफत गरे । जंगलको बीचमा बनाइएका सयौँ टहरामा आगो लगाए । हिम्मतिला खड्काले कैलालीको बाह्र वन जोगाउने आँट त गरे तर स्यावासी पाउनु पर्ने निकाय र तहबाट धन्यबाद पनि पाएनन् ।
उल्टो मन्त्री किरण गुरुङले छ महिना बिभागमा तानेर राखे । खड्काले पाएको अब्राहम कन्जरभेसन अवार्ड दिनुहुन्न भनेर मन्त्रीले बोले । तत्कालिन वन विभागका डिजी डा. केशब कँडेलले खड्काको काम नजिकबाट नियालिरहेका थिए, कँडेलको पनि केही चलेन । तर सत्यको जीत भयो, खड्का विभागमा तानिएकै बेला कैलालीको बौनियामा एक सामुदायिक वनका उपभोक्ताले आफ्नो सामुदायिक वनको नाउँ नै ‘मनबहादुर खड्का सामुदायिक वन’ राखे ।

मन्त्रीले कारवाही गरेका डिएफोको नाउँमा सामुदायिक वन राखेको हल्ला सिंहदरबारसम्म पुग्यो । मन्त्रीको नाकको डाँडी भाचिए झैँ भयो, विना कारण विभाग तान्ने आदेश दिने मन्त्री गुरुङले खड्कालाई पुनः कैलालीमा गएर काम गर्न चिठ्ठी काटे ।
२०५७÷२०५८ सालतिर माओबादी द्वन्द्व निकै उत्सर्कमा थियो । अर्घाखाँचीमा पोष्टिङ भयो खड्काको । अर्घाखाँची र कपिलबस्तु जिल्लाको सीमा क्षेत्र ‘बिक्रम सोता पाउरा वन क्षेत्र’ कुन जिल्लाको क्षेत्रभित्र पर्ने भन्ने बिबाद भयो । नापी चलिरहेको थियो । खड्काले स्थानीय बासिन्दाको कुरो सुने ।

संरक्षण गर्ने अर्घाखाँचीका समुदायले अनि राती राती काठ तस्करी हुने कपिलबस्तुबाट । यी सबै घटना सुनेका थिए खड्काले । माओबादी कारण तत्कालिन श्री ५ को सरकार सदरमुकाममा सिमित भएका बेला माओबादीको गढ मानिने सो क्षेत्रमा आफै पुगेर खड्काले स्थलगत भ्रमण गरे ।

काठ तस्करीहरुको गिरोहले नापी कर्मचारीसँग मिलेर सो क्षेत्रलाई कपिलवस्तुमा नापी गरिसकेको थिए । नापी कार्यालयबाट भएको बदमासीलाई सहन नसकी सो क्षेत्रको नापनक्साको ढड्डा जफत गरेर खड्काले अर्घाखाँची पुर्याए । यो कुरा तत्कालिन सिडियोसँग सीमित रहेन, सिंहदरबारसम्म पुग्यो । छानविन भयो, टोली अर्घाखाँची पुग्यो, स्थानीय सर्जिमन मुचुल्का, विगतको नापनक्सा, भोगचलन, पानी ढलो सबै हेरियो, पञ्च भलादमी, बुढापाका बसे, अर्घाखाँचीको वन क्षेत्र भएको ठहरियो । खड्कालाई फूलमाला लगाएयो त्यतिबेला ।

जागिरे जीवनमा २०६६ सालदेखि २०६८ सालसम्म काठमाडौँको डिएफो हुने मौका पाएका खड्कालाई एक दिन तत्कालिन उपराष्ट्रपति परमानन्द झाको कार्यालयबाट फोन आयो । वनक्षेत्र अतिक्रमण गरेर बनाइएको मन्दिर उद्घाटन गर्न उपराष्ट्रपति झा जाँदै थिए । त्यसलाई डिएफो खड्काले रोकेका थिए । खड्काले उपराष्ट्रपतिको सचिवालयलाई घटना विवरण सबै सुनाए । अतिक्रमण क्षेत्रमा बनेको संरचना उद्घाटन गर्नु गैरकानूनी कार्य हो भन्ने खड्काले दर्ज गर्न सफल भए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताको नेतृत्वमा काठमाडौँको सरकारी जग्गा अतिक्रमण गरेर बन्न थालेको संरचनाको शिलान्यास गर्न डा. प्रकाशचन्द्र लोहनी जाने कार्यक्रम थियो । खड्काले सिधैँ लोहनीलाई फोन गरेर त्यो काम पनि रोके । यी काम हेर्दा खड्का एक डिएफो मात्र सिमित भएनन् । उनले आफ्नो जिम्मेवारी पदीय तहभन्दा फरक ढंगले निर्वाह गरेको देखिन्छ ।

तराईमा मधेश आन्दोलन चलिरहेको थियो । बारामा मधेशी मुलका दुई जना डिएफो असफल भएर मन्त्रालयले विभागमा तानिसकेको थियो । २०६८ सालको कुरा हो । खड्कालाई बारा सरुवा गरियो । काम गर्ने वातावरण निकै बिग्रेको थियो तर खड्काले हिम्मत हारेनन् ।

राती राती भएका अपरेसनबाट १४ हजार गोलिया काठ जिल्ला वन कार्यालयको हाताभित्र जम्मा पारे । टाङिया बस्तीको नयाँ अतिक्रमण उठाए, थप अतिक्रमण हुन दिएनन् । रामबहादुर बम्जनको पक्की घरमा डोजर लगाउने आँट गरे । खड्काले भने, धर्मका नाउँमा वनजंगल मास्नेको के धर्म हुन्छ ? धार्मिक आवरणमा जग्गा पजनी गर्न खोजेका बम्जनले धेरै दिन खड्कासँग सम्बाद गर्न सकेनन् ।

बैतडीमा राजाको हुकुमबाट सबै कर्मचारीको जागिर गएको कठिन अवस्थामा कायमुकायमको पदवी पाएर जागिर सुरुवात गरेका खड्काले सहसचिव हुँदा सम्म कुनै दिन पनि सेकेण्ड म्यान भएर बस्नु परेन । सहसचिव भएर रेड कार्यान्वयन प्रमुख भएका खड्का विभागमा बस्दा पनि उपमहानिर्देशक भएनन् । जहाँ बसे फस्ट म्यान भएर बसे ।

पूर्वाञ्चलको क्षेत्रीय निर्देशक भएर काम गरिरहेका खड्कालाई तत्कालिन वन मन्त्री शंकर भण्डारीले विद्यमान कानून, नीति नियम मिचेरै उनलाई राष्ट्रिय निकुञ्जको डिजी बनाए । वन सचिव डा. केशी पौडेल चुइक्क बोल्न सके न त लोकसेवा अनि सामान्य प्रशासन मन्त्रालयले खड्कालाई निकुञ्जको डिजी हुने बाटोमा अवरोध खडा गर्न सक्यो । यस पछाडीको एउटै कारण थियो, खड्काको काम गर्ने हिम्मत । दिएको जिम्मेवारी पूरा गर्ने बानी ।

निकुञ्जमा ‘ल एण्ड अर्डर’ के हो भन्ने कुरा विश्वनाथ उप्रेती, तीर्थमान मास्के, कृष्णप्रसाद आचार्य लगायतका केही एकाध डिजी पछिको लामो कालखण्डमा खड्काले त्यो झल्को दिन सफल भए । खड्काको नियुक्तिमा विभाजित जनरल फरेष्ट्री र पार्क समुहका कर्मचारी उनको काम देखेर मौन बस्न बाध्य भए ।

२०४४ सालदेखि बिभिन्न १३ वटा जिल्लाको डिएफो भएर काम गरेका खड्का कञ्चनपुर, कैलाली, बारा र अर्घाखाँचीका घटनामा राम्रोरी परिक्षण हुने मौका पाए । अतिक्रमण रोक्न, वन तस्करी पक्रन, भूमाफियाँसँग मुडभेडमा आमने सामने भएका घटनाले खड्का ‘आर्मि शैली’ का वन प्रशासक कहलिए ।

दुई पटक हर्षाशु झारे खड्काले

निकुञ्ज विभागको महानिर्देशकबाट राष्ट्रपति चुरेमा सरुवा भएका खड्का केही समयपछि वन तथा भूसंरक्षण विभागको डिजीमा आए । कोरोना कालमा जिल्ला स्थित कार्यालयका कर्मचारीलाई कोभिड बिरुद्धको सामानको जोहो गर्ने काममा आफै खटेका खड्कालाई जिल्लाका कुनै डिएफोले बिर्सन सक्दैनन् । निकुञ्जका कर्मचारीले समेत वनको डिजीको सहयोगबाट कोभिड बिरुद्धका स्वास्थ्य सामग्री पाएपछि भनेका थिए, ‘खड्का जहाँ जान्छन्, केही गरेरै देखाउन्छन् ।’

खड्का सेवानिवृत हुनै लाग्दा देशभरीका सामुदायिक वन, डिभिजन वन कार्यालयबाट सम्मान ग्रहण गर्न र कार्यक्रम उद्घाटनका लागि आग्रह भयो । त्यसैले सेवानिवृत हुनु अघि खड्का देश दौडाहा गएको जानकारी उनको सचिवालयले बतायो ।
उनी रुपन्देही, कपिलबस्तु, नवलपरासीका सम्मान लिँदै, कार्यक्रमको उद्घाटन गर्दै जब अर्घाखाँचीमा पुगे । सम्मान कार्यक्रममा उनले विगतको कुरा स्मरण गरायो । अनि उपभोक्ताको आँखाबाट खसेको आशु देखेर खड्काले पनि हर्षका आशु झारे ।

खड्कालाई बारामा पनि सम्मानका लागि बोलाइयो । बारामा डिएफो भएर बस्दा खड्कालाई असफल पार्न जुन जुन राजनीतिक दल र नागरिक समाजका पात्र त्यतिबेला सक्रिय थिए, तिनै व्यक्तिले सम्मान गरेको देखेपछि खड्का चकित भए । ती व्यक्तिहरुले खड्काको काम गराई बुझ्न नसक्दा विगतको तितो अनुभवको लागि क्षमा याचनाका शब्द ती व्यक्तिहरुबाट सुनेपछि खड्काका आँखा दोस्रो पटक एकाएक रसाए ।

यसको अर्थ खड्का दुधले धोएका पात्र हुन भन्ने त होइन । तर पनि सेवा निवृत हुनै लाग्दा कान्छी मैयासाफले सताएका डिजीसाफको घटना र खड्काको जीवन भोगाईका परिघटना तुलना गर्दा काममा पारदर्शीता, तल्लो तहको कर्मचारीसँगको समन्वयता र नियम कानूनको अधिनमा रहेर मात्र काम गर्ने पात्रको छवि बनाउन सफल भएका खड्काबीच निकै फरक देखिन्छ । खड्काका दर्जनौ कमी कमजोरी सुसुप्त भए, उनका असल कामले ती कमी कमजोरीलाई पलाउन दिएन, हुर्किन दिएन, झांगिन दिएन । सायद यही यथार्थको धरातलमा जीवनको उत्तरार्धतिर सबैले फूलमाला ओढाउने जमर्काे गरे ।

सँगै काम गरेका कर्मचारीको खड्काप्रतिको टिप्पणी सुन्ने गरिन्छ, उनी मुखका बैगुनी तर व्यवहारले गुनी मान्छे हुन् । जिब्रोमा आएको बोल्ने तर व्यवहारले सकभर कसैलाई नबिगार्ने बानी खड्काको छ । सायद यो बानी उनको जीवन जीउने दर्शन पनि होला ।

आफू मातहतका कर्मचारीको चुक्लीको पोको बोकेर उनी कहिल्यै मन्त्रालय गएनन् । सचिव र मन्त्रीको अगाडि आफू मातहतका कर्मचारीको जहिले पनि बचाउ गरे तर गल्ती गर्ने र काम चोर कर्मचारीलाई आफूले भने सात पुस्ता सम्म पुग्ने गरी सातो खाए । हकारे, डाँठे, गाली गरे । उनको रिसाउने बानी रिसाइ पाउने भन्दा सुन्नेले झर्काे मान्नुपर्ने सम्म हुन्थ्यो । यति हुँदा पनि जुनियर कर्मचारीको नजरमा खड्का मुखले भन्ने र मनमा पाप नभएको एक सिनियर हाकिमको दर्जामा सधै स्थिर भइरहे ।

रचनात्मक, सिर्जनात्मक छलफल र बादबिबाद, मुडभेड, रस्साकस्सी, सही कुराको अडान लिन सक्ने, कडा स्वभाव, हक्की, स्पष्ट अभिव्यक्ति खड्काको जीवनका अभिन्न विशेषता हुन् । ती सबै कुराको धरातल कानून, नीति, नियम र इमान्दारीताको जगमा हुने हुँदा खड्कालाई न अख्तियारले डाम्न सक्यो, न हाकिमले तर्साउन सके । हरेक मानिस स्वार्थी हुन्छ नै । आफ्नो स्वार्थलाई छताछुल्ल हुन नदिनु नै खड्काको जीवनको सफलता हो । जागिरको सुरुवाती दिनदेखि सेवा निवृत हुने दिनसम्म फस्ट म्यान भएर काम गर्ने मौका पाएका खड्काको आगामी दिन झन सुखमय र हक्की स्वभावमा बित्न सकोस् ।

(तस्विर स्रोत : सामाजिक सञ्जाल)

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here