निकुञ्जका हाकिमलाई हात्तीले चार दिन घेरा हालेपछि …

आधाभार, पर्सा । कोशी टप्पुमा हात्तीका ठूला र साना झुण्ड देखिरहन्छन् । युवा मत्ता हात्तीले झुण्ड बनाउने र टुटाउने काम गरिरहने भएकाले कोशी टप्पुमा हात्तीका झुण्ड बन्ने, भत्किने तथा देशदेशान्तर हुने क्रम चलिरहन्छ ।

यसैबीच तीन वटा मात लागेर हिड्ने मत्ता हात्तीको समुह गत जुलाई १० मा पश्चिमतर्फ घुम्न हिड्यो । कोशी टप्पुको पश्चिम क्षेत्र भएर तीन वटा युवा हात्तीले खेतीपाती मचर्काउँदै हिड्न थालेपछि त्यो खबर सरकारी निकायसम्म पुग्यो । तर के गर्नु, मान्छे भए पो समातेर फकाई फुलाई घरतिरै फर्काउनु । हात्तीलाई कसको रोक्ने सक्ने ताकत ?

कोशी टप्पुबाट रमाना भएको त्यो समुह गाउँ बस्ती छल्दै, चर्दै, रातबिरात हिड्दै ५ अगस्ततिर सिराहको मिर्चैया क्षेत्रमा देखियो । मिर्चैया आसपासका जंगलमा एक हप्ता डुल्दै बन्दीपुरक्षेत्रमा ११ अगस्त देखिएका तीन वटा हात्ती १५ अगस्तमा सिन्धुलीमा झुल्किन्छन् ।

मत्ता हात्तीले धेरै क्षति नपुरयाएपनि जम्काभेट भएका कुरालाई पछार्दै महोत्तरीको लक्ष्मीनिया क्षेत्रसम्म आइपुग्दा २१ अगस्त भइसकेको हुन्छ । सागरनाथको जंगल क्षेत्र हुँदै मूर्तियासम्म आइपुग्दा तीन वटै हात्ती एकसाथ हुल बाँधेका देखिन्छन् ।
१४ सेप्टेम्बरमा रौतहटको चन्द्रनिगाहापुरको उत्तरी सामुदायिक वनमा देखिएको यो समुह १६ सेप्टेम्बरमा अमलेखगञ्ज आइपुग्दा एउटा हात्ती मात्र देखिन्छ, बाँकी दुई वटा मत्ता हात्ती बस्ती नजिक देखिदैनन् । सो मितिदेखि एउटा हात्तीले अमलेखगञ्ज, पथलैया हुँदै सुवर्णपुरसम्म करिब २१ दिन बिताउँदै गर्दा अर्का दुई वटा हात्ती पर्सा राष्ट्रिय निकुञ्जको हल्खोरीया दह क्षेत्रमा बिचरण गरेको अवस्था भेटिएका छन् ।

निकुञ्जको हेडक्वाटरमा डुल्दै यमगज

पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगञ्जस्थित हात्तीसारमा नारायणगज, राप्तीकली,कामिनीकली सहितका हात्ती राखिएका छन् । कोशी टप्पुबाट मात्तिदै अमलेखगञ्ज पुगेको मत्ता हात्तीले पोथी कामिनीकली, राप्तीकलीसँग नारायणगज देखेपछि मत्ता हात्ती नारायणगजमाथि जाई लाग्न थाल्यो । जंगली हात्ती र पालुवा हात्तीबीच ठूलो भिडन्त हुने स्थिति पैदा भयो । हात्तीसारमा पालेको नारायणगजको ज्यान जोगाउन उसलाई आधाभार सारियो । करिब तीन दिनसम्म राप्तीकलीसँगको मायापिरती पछि मत्ता हात्ती शान्त मनले बिचरणको लागि बाहिरियो । नाराणगज आधाभारमा रहेको थाहा पाएपछि पर्सा राष्ट्रिय निकुञ्जको हेडक्वाटरलाई मत्ता हात्तीले चार दिनसम्म घेरा हाल्यो । नारायणगजसँग उसको रिस राप्तीकलीसँग रहे बसेको मेटिएको थिएन ।

पर्सा राष्ट्रिय निकुञ्जमा हात्तीका विषयमा विद्यावारिधि गरेका अशोककुमार राम अहिले कार्यालय प्रमुख छन् । तीन वटा मत्ता हात्तीको समुह पर्सा निकुञ्ज क्षेत्र प्रवेश गरेको सूचनासँग नजिकबाट नियाली रहेका डा. अशोकले अमलेखगञ्जमा जंगली हात्तीले राप्तीकली,कामिनीकलीको लागि रातदिन नारायणगजसँग निहुँ खोज्न थालेपछि नारायणगजलाई आधाभार सारेका थिए । फलस्वरुप मत्ताले राप्तीकलीसँग रसरंग मिलाउन पायो र नारायणगजसँगको सम्भावित भिडन्तको घटना टरयो ।
तिहार घरआँगनमा आइसकेको थियो । राती राती मत्ता हात्तीसँग रत्तिने कामिनीकलीले कात्तिक ४ गते साँझ चार बजेतिर माउते रमेश महरामाथि धाबा बोलिन् । जंगलबाट चराएर बाँध्न खोज्दा कामिनीकलीले आफ्नै माउते महरालाई आक्रमण गर्यो । उपचारको क्रममा महरा संरक्षण सहिद हुन पुगे ।

डा. अशोककुमार राम

५ गते मत्ता हात्ती नारायणगजलाई खोज्दै आधाभार आइपुग्यो । उसले निकुञ्जको हेडक्वाटरलाई घेरा हाल्यो । कार्यालय प्रमुख निवासमा थुनिए । मत्ता हात्तीलाई धपाउनु, जिस्काउनु थप चुनौती निम्त्याउनु भएकाले कर्मचारीहरु हात्ती धपाउने भन्दा सुरक्षित तरिकाले नारायणगजलाई फेरी अमलेखजञ्ज छाड्ने प्रयासमा लागे ।
नेपाली सेना, टयाक्टर, जेसिबिको प्रयोग गरेर मत्तालाई भगाएर चार दिनको अवधिमा नारायणगजलाई फेरी अमलेखगञ्ज पुरयाइयो । नारायणगजलाई अमलेखगञ्ज पुरयाएको बुधबार राती मत्ता हात्ती फेरी लखर लखर गर्दै उतै पुग्यो । हात्तीसारमा कसैलाई सुत्न दिएन । नारायणगजलाई आक्रमण गर्न सक्ने भएकाले कर्मचारीले रातभर पहरा दिए ।
बिहीबार अमलेखगञ्ज स्थित नेपाल आयल निगमको नजिक रहेको अमलेश्वर मध्यवर्ती सामुदायिक वनमा बाख्रा चराउन गएकी रुकैया खातुन दिउसो ३ बजेतिर मत्ता हात्तीको आक्रमणमा परिन् । उनको उपचार हुँदै गर्दा मृत्यु भयो ।

निकुञ्जको हेडक्वाटरमा डुल्दै यमगज

यमगज नामाकरण
यमपञ्चकका अवधिमा मानवीय क्षति हुने गरी घटना भएकोले यो हात्तीको नाउ यमगज राखिएको छ । बिहीबारको घटना पछि निकुञ्ज प्रशासनले यसको निगरानी बढाएको छ । निगरानी बढाउने क्रममा यो हात्तीको नाम यमगज भनेर लिखित तथा मौखिक सम्बाद गरिने भएको छ । लहान निवासी निकुञ्ज प्रमुख डा. अशोकरामले शुक्रबार भने, यो पटकको टिका यमगजको पछाडि दौड्दा दौड्दै सम्पन्न भयो । घर नजिकै भएर पनि जान सकिएन ।

समस्याग्रस्त नै हो त यमगज
झापा देखि शुक्लाफाँटासम्म अध्ययनको कार्यक्षेत्र बनाई हात्तीमा विशेषज्ञता हासिल गरेका डा. अशोक रामले नेपालकथासँग भने, तीन वटा हात्तीको समुह बनाएर आउँदा आउँदै साथीहरुबाट अलग्गिदा मत्ता हात्ती एक्लो भएर बिरक्तिएको हुुनसक्छ । यसको अरु दुई साथी हल्खोरिया दह क्षेत्रमा छन् । पहिलो कुरो त समुहका सदस्यबीच मिलन हुने सम्भावना छ । मिलन भएपछि बिरक्तिदैन होला भन्ने अनुमान गर्न सकिन्छ ।

अर्काे कुरा बिहीबार मान्छेलाई हानेर यसले ठूलो दुर्घटना गरिसक्यो । अब मान्छेलाई लखेट्ने कुरा यसका लागि नर्मल जस्तै हुन सक्ने स्थिति पनि छ । यदि त्यसो भयो भने यो हात्तीले यो क्षेत्रमा ठूलो चुनौती थप्न सक्छ । अनि समस्याग्रस्त हात्तीको रुपमा लिएर यसलाई नियमित अनुगमनमा राखेर यसलाई नियन्त्रणमा लिने वा समस्या सिर्जना गर्न नदिने उपाय अपनाउनु पर्ने हुन्छ ।

निकुञ्ज हेडक्वाटरमा छिरेको यमगज ।

अहिले सम्म के गर्नु भयो त ? भन्ने जिज्ञासामा डा. अशोकरामले भने, जंगली हात्ती आफैमा चुनौतीको भारी बोकेर हिड्ने प्राणी हो । यो वस्ती तथा हात्तीसार नजिक आउनु नै समस्या हो । त्यसैले यसलाई पहिलो चरणमा आफ्नो बासस्थानतर्फ भगाउने कोशिस गरियो । तर यसले मानेन । पोथी हात्तीसँग बस्ने वातावरण सिर्जना गरियो । त्यसले पनि शान्त भएन । फेरी हात्तीसारको भालेसँग जुध्न पछि पर्यो । जसका कारणले हामी पनि चार दिनसम्म घरभित्रै थुनिनु पर्यो । हामी बाहिर निस्केर एक्सनमा जाँदा ठूलो दुर्घटना हुन सक्थ्यो ।

अनि दोस्रो चरणमा हामीले टयाक्टर, जेसिबि, गाडी प्रयोग गरेर भगाउने कोशिस गर्दा पनि नभागेपछि नेपाली सेनाको टोली परिचालन गरियो । सकभर जंगली हात्तीलाई रिस उठ्ने गरी घपाउँदा अर्काे ठाउँमा उसले ठूलो क्षति पुरयाउन सक्छ । तत्काल हाम्रो समस्या समाधान भएपनि अर्काे ठाउँमा जटिल समस्या सिर्जना गर्न सक्ने भएकाले हामीले हाम्रो कम्पाउण्डमा मजाले बस्न दियौँ र उसको आनीबानी अध्ययन गर्यौँ ।

नारायणगज राखेको ठाउँमा घेरा हाल्दै यमगज ।

अबको योजना ?

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामले बिहीबारको घटना पछि पनि यमगजलाई ‘उरेन्ठेउलो󠆸’ भन्न मिल्ने बताए । आउँदा दिनमा यही गतिमा हिड्यो भने यो ‘दादा’ पल्टिन सक्छ । मानिससँग जुध्दै जाँदा झन मात चढ्न सक्छ । जो हिजोका दिनमा ध्रुबे, रोनाल्डो, मकुना थिए । जसले वर्षाैँसम्म त्रसित पारेका थिए ।

उनले नेपालकथासँग भने, पहिलो चरणमा धपाउने कोशिस गरियो । हात्तीसार र आधाभार छाडेन । दोस्रो चरणमा यसलाई डार्ट गरियो । डार्ट गर्दा पनि यसले आफ्नो मात कम भएको छैन । डार्ट गरिसकेपछि कतिपय जंगली जनावर शान्त भएर जंगलतिर जाने गर्छन् । यो हात्तीमा त्यो लक्षण देखिएन । तेस्रो चरणमा यसको दाह्रा काट्ने प्रयासमा निकुञ्ज प्रशासन लागि रहेको उनले बताए । जसका लागि उनले विभागसँग समन्वय र पत्राचार गरिरहेको जानकारी दिए ।

पर्सामा हात्तीका चुनौती थपिँदै

पर्सा वन्यजन्तु आरक्ष हात्तीको संरक्षणका लागि स्थापना भएको संरक्षित क्षेत्र हो । पर्सा रैथाने हात्ती भएको नेपालको एकमात्र संरक्षित क्षेत्र हो । रैथाने हात्ती आफैमा चुनौती भएपनि आगन्तुक हात्तीले थप चुनौती थप्दै आएका छन् । गत वर्ष पूर्वतिरबाट दुई वटा मत्ता हात्ती पर्सामा प्रवेश गरेपछि धेरै वस्तीमा हात्तीले त्रसित बनायो । यस पटक यो तीन वटा मत्ता हात्ती सहित गरी पाँच वटा हात्ती थपिएका छन् । पर्सा क्षेत्रमा सात वटा हात्ती आगामी दिनका लागि चुनौतीका चाङ हुने देखिएका छन् ।
डा. अशोकराम भन्छन्, पर्सामा समस्याग्रस्त हात्तीको संख्या बढ्दै जाने संकेत देखा परिरहेका छन् । यसका लागि समयमै उचित योजना बनाउनु जरुरी छ । समस्या उत्पन्न भइसकेपछि योजना बनाएर केही हुदैन । त्यो दिशातर्फ निकुञ्ज लागि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here