मध्यरातमा यसरी काटियो हात्तीको दाह्रा

आधाभार, पर्सा । गत बिहीबार अमलेखगञ्ज स्थित नेपाल आयल निगमको डिपो नजिक रहेको अमलेश्वर मध्यवर्ती सामुदायिक वनमा बाख्रा चराउन गएकी रुकैया खातुनलाई आक्रमण गर्ने जंगली हात्ती यमगजको दाह्रा मध्यरातमा काटिएका छन् । बिहीबार दिउसो ३ बजेतिर सो हात्तीको आक्रमणमा परेर घाइते भएकी खातुनको उपचार हुँदै गर्दा मृत्यु भयो ।

जंगली हात्तीले खातुनलाई आक्रमण गरेसँगै हात्ती थप उग्र हुनसक्ने देखेपछि पर्सा राष्ट्रिय निकुञ्जले दाह्रा काटेर यसलाई कमजोर बनाउने रणनीति लियो । सोही रणनीतिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तत्काल स्वीकृति दियो । विभागको स्वीकृति पछि दाह्रा काट्ने निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको दक्ष प्राविधिकको टोली चितवनबाट शुक्रबार दिउँसो अमलेखगञ्जस्थित हात्तीसारमा आइसकेको थियो । पोथी हात्ती राप्तीकलीसँग रत्यौलीका लागि सधैँ जसो राती यमगज हात्तीसार आउने गथ्र्यो । हात्तीसारमा आएको मौका छोपी डार्ट गरेर दाह्रा काट्ने योजना बन्यो ।

रातभरी रुगियो, बिहानातिर काम सुरु भयो
हात्तीसारका कर्मचारी साँझको खाना खाएर आआफ्नो ठाउँमा बसिसकेका थिए । चितवनबाट आएको प्राविधिक टोली यमगजको प्रतिक्षामा हात्तीसारमा सबै बन्दोबस्ती मिलाएर बसेको थियो । यमगज राप्तीकलीसँग रत्यौली खेल्न शुक्रबार रातीको ११ बजे आइपुग्यो । हात्तीसारका हात्ती कराए । जंगली हात्ती पनि आउँदा प्रायजसो हात्ती कराउने गर्छन् ।

डा.अमिर सडौला

यमगज आफ्नो सुरमा हात्तीसार प्रवेश गर्यो । राप्तीकलीसँग रमायो । प्राविधिक टोलीले उसका सबै गतिविधि नजिकबाट नियाली रहेको थियो । राती नै डार्ट गरेर दाह्रा काट्दा दाह्रा काटीसके पछिको हात्तीको अवस्था निगरानी गर्न नसकिने भएकाले सो टोली बिहानको समय सम्म कुरेको थियो ।

रातको सुनसान वातावरणले यमगजलाई राप्तकलीसँग रमाउन खुबै साथ दिइरहेको थियो । रात ढल्किदै थियो । बिहानको २ बजेर ५० मिनेटमा चिकित्सकको टोलीले यमगजलाई सिडेसन गर्यो । सिडेसन भनेको हात्तीलाई एकै ठाउँमा उभ्याउन, अड्याउनका लागि औषधि दिने प्रक्रिया हो । औषधी दिएपछि हात्ती सुरक्षित ठाउँमा उभिएको, लडाउन मिल्ने ठाउँ भए, नभएको हेरियो । हात्ती सुरक्षित ठाउँमा लडाएर काम गर्न सकिने स्थिति भएपछि बिहानको ४ बजेर ४० मिनेटमा लडाउने औषधी दिइयो ।

दाह्रा काट्ने योजनाका साथ चितवनबाट पर्सा आइपुगेका डा.अमिर सडौलाले नेपालकथासँग भने, सिडेसन गर्दा कम्तिमा चार देखि पाँच घण्टा वन्यजन्तु एकै ठाउँमा उभिन सक्छ । त्यो समयमा हामीले वन्यजन्तु लडाउदा सुरक्षित ठाउँमा छ कि अप्ठयारो ठाउँमा छ भनेर हेर्छौँ । हामीले काम गर्न सक्ने ठाउँ छ कि छैन भनेर पनि अध्ययन गर्छाैँ । होसमा आएपछि वन्यजन्तु भाग्न सक्ने सुरक्षित ठाउँ छ कि छैन भनेर पनि यो समयमा हेर्छाैँ । त्यसपछि मात्र हामीले लडाउने औषधी दिने गछौँ । सोही अनुसार बिहाना ४ः४० मा सुताउने÷लडाउने औषधी दिएको हो ।

हात्ती लडिसकेपछि पाँच मिनेटमा दुइटै दाह्रा काटियो । डा.सडौलाले भने, यो हात्तीको दाह्रा मसिनो र सानो थियो । त्यसैले खासै समय लागेन । एउटा दाह्रा काट्ने दुई तीन मिनेट लाग्यो होला । हामीले पाँच मिनेटजतिमा दुबै दाह्रा काटि सकेका थियौँ । प्राविधिक टोलीले दाह्रा काटीसकेपछि बिहानाका ५ बजेर १८ मिनेटमा हात्तीलाई उठाउने औषधी दिएयो । औषधी दिएको ५ मिनेटमा हात्ती उठ्यो । उठ्दा निकै कमजोर महसुस गरिरहेको थियो ।

डा. सडौलाले नेपालकथासँग भने, ‘‘हामीले सुताउँदा सुरक्षित र उठ्दा फेरी लड्यो भने अप्ठयारो ठाउँमा पर्न नसक्ने गरी ठाउँ हेरेका थियौँ । हात्ती उठ्यो, यताउता हेर्यो, दाह्रा काटिसकेको हुँदा र औषधीको असरले कमजोर महसुस गरिरहेको थियो । युवा हात्तीमा हुनु पर्ने जोस त्यो बेला थिएन । बिस्तारै उसले जंगलको बाटो लियो । त्यति बेला बिहानको उज्यालो भइसकेको थियो । हामीले उसको बाटो केही परसम्म पछयायौँ । औषधीको असर कस्तो छ भने हेरयौँ । हात्ती मजाले जंगलतिर पस्यो ।’’
हात्तीको ३२ इन्च भन्दा बढी लामो दाह्रा काटिएको छ । दाह्रा काटिएपछि मुचुल्का खडा गरी पर्सा राष्ट्रिय निकुञ्जले दाह्राको जिम्मा लिएको छ । दाह्रा काटिएपछि हात्तीको मात केही कमजोर हुने र भविष्यमा बदमासी गर्न नसक्ने आँकलन पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामको छ ।

डा. अशोकले भने, अब यो हात्तीको मात केही मत्थर हुन्छ । युवा छ, जोस छ तर पनि हिजोको जस्तो अब रहँदैन । दाह्रा काटेपछि पनि झन उत्तेजित हुने पनि हुने पनि हुन्छन् । त्यसैले यसको नजिकबाट निगरानी राख्ने काम भइरहेको छ ।

दाह्रा काट्न नसकेको भए के हुन्थ्यो ?
पर्सा राष्ट्रिय निकुञ्जको हात्तीसार अमलेखजञ्ज वस्ती नजिकै छ । वस्ती नजिकै भएकाले हात्तीबाट स्थानीय समुदाय कहिलेकाँही पीडित हुने गरेका छन् । हात्तीसार वरीपरी घुमिरहेको यमगजले हानेर बिहीबार एक महिलाको मृत्युको घटनाले अमलेखजञ्जमा तनाव सिर्जना भइसकेको थियो । युवा यमगजले राप्तीकली पाएपछि अमलेखजञ्ज नछाड्ने स्थिति बन्दै थियो । दिनभरी नजिकै बिचरण गर्ने साँझ पर्दा हात्तीसार आउने क्रमले स्थानीय वस्तीमा चुनौती थपिदै थियो ।

यमगज हरेक दिन हात्तीसारमा आउन थालेपछि दैनिकजसो केही न केही घटना हुन सक्ने आँकलन गरी पर्सा राष्ट्रिय निकुञ्जले हात्तीसारका सबै हात्तीलाई केही दिनका लागि अन्यत्रै सार्ने योजना पनि बनाएको थियो । डा. अशोकले भने, जंगली हात्तीले नछाड्ने अनि दैनिक जसो घटना भइरहने सम्भावना बढेपछि दाह्रा काट्न नसकेको भए हात्तीसारका सबै हात्ती केही समयका लागि अन्यत्रै सार्ने योजना थियो तर हामी दाह्रा काट्न सफल भयौँ । अब त्यो स्थिति नआउला ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here