निकुञ्ज विभागमा भयो अग्रजको भेला

काठमाडौँ । आफ्ना पूर्व अग्रजहरुलाई साक्षी राखेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ४२ औँ स्थापना दिवस मनाएको छ ।

२०३७ साल कात्तिक १८ गते स्थापना भएको विभागले विगत केही वर्ष यता पूर्व अग्रजहरुसँग विभागको कार्यप्रगति लगायतका विषयमा छलफल गरेर स्थापना दिवस मनाउने परम्पराको थालनी गरेको छ ।

यसपटकको स्थापना दिवसका अवसरमा विभागले तयार गरेको संरक्षित क्षेत्रको व्यवस्थापन रणनीति २०२२ – २०३० का विषयमा गम्भिर रुपले छलफल तथा बहसको विषय बनायो ।

गत असोज ७ गते चितवन राष्ट्रिय निकुञ्जको स्वर्णमहोत्सवका अवसरमा सार्वजनिक गरिएको सो रणनीति बारे विभागको पूर्व महानिर्देशकहरुले रचानात्मक तथा सिर्जनात्मक टिप्पणी गरेका छन् ।

कार्यक्रममा विभागका इकोलोजिष्ट डा. गणेश पन्तले रणनीतिका बारेमा प्रकाश पारेका थिए । सो रणनीतिका विषयमा विभागका सबै पूर्व महानिर्देशक, पूर्व अग्रज कर्मचारीले पृष्ठपोषक दिएका थिए ।

पछिल्ला दिनमा मुलुकमा संघीयता कार्यान्वायनसँगै संरक्षणमा चुनौती थपिएको विषयमा विभागले नीतिगत रुपमा स्पष्ट ढंगले अघि बढ्नु पर्नमा जोड दिइएको छ ।

जलवायु परिवर्तनको असरले समग्र जैविक विविधतामा नकारात्मक प्रभाव पारिरहेको बेला कुन वन्यजन्तुमा कस्तो असर परिरहेको छ भन्ने कुराको अध्ययन, अनुसन्धान विभागसँग नहुँदा भविष्यमा वन्यजन्तु लोप हुन सक्ने खतरा बढेको कुरा पनि औल्याइएको छ ।

वन्यजन्तुको संख्या वृद्धिसँगै मानव वन्यजन्तुबीचको द्वन्द्वका घटनामा वृद्धि भइरहेको, वन्यजन्तुको अवैध चोरी शिकारको चुनौती सधैँ बढीरहेको, संरक्षित क्षेत्र भएर बग्ने पानीको स्रोत खोलानालामा प्रदुषणको मात्रा बढ्दै गएको र विकासको चाहानाले सबैभन्दा बढी संरक्षित क्षेत्र नै चेपुवा पर्ने गरेको कुरालाई यथोचित ढंगले सम्बोधन गर्न नसके दुर्लभ तथा संकटापन्न वन्यजन्तु झन खतरामा पर्ने कार्यक्रममा बहसको विषय बन्यो ।

कार्यक्रममा संरक्षण साझेदार संस्थाका प्रतिनिधिहरुले विभागले हाल लिएको संरक्षण नीतिमा भावी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

विभागको महानिर्देशक डा. महेश्वर ढकालको सभापतित्वमा भएको कार्यक्रममा विभागका संस्थापक महानिर्देशक विश्वनाथ उप्रेती, मन्त्रालयका निमित्त सचिव शिव वाग्लेको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here