रामसारका लागि पाँच वटा तालको अध्ययन

काठमाडौँ । राष्ट्रिय ताल संरक्षण विकास समितिले देशका बिभिन्न पाँच वटा ताललाई रामसार सूचीमा सूचीकृत गर्न अध्ययन सुरु गरेको छ ।

मनाङको तिलिचो ताल, सल्यानको कुभिण्डे दह, सर्लाहीको नन्दीवन ताल, अछामको रामारोशन ताल र सिन्धुपाल्चोकको पाँच पोखरीको जैविक विविधता, सामाजिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक महत्वका बारेमा विकास समितिद्वारा गरिएको अध्ययन माथि बुधबार छलफल भयो ।

छलफलमा भाग लिँदै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले हाल अध्ययन गरिएका ताललाई रामसार सूचीमा सूचीकृत हुने सबै आधारहरुको पर्याप्त अध्ययन गरेर अगाडि बढ्नु पर्ने बताए ।

सिमसार विज्ञ डा. बिष्णुप्रसाद भण्डारीले पाँच वटा तालहरुको प्रारम्भिक अध्ययन गरिएको भएपनि अझै विस्तृत अध्ययन गरेर रामसार सूचीमा सूचीकृतका लागि नेपालले थप पहल लिनु पर्ने बताए ।

राष्ट्रपति चुरे तराई संरक्षण विकास समितिका सदस्य सचिव डा. महेश्वर ढकालले नेपालका थप सिमसार क्षेत्रहरु रामसार सूचीमा सूचीकृत गर्न सकिने प्रशस्त आधार रहेकोमा जोड दिए ।

डा. झमक कार्कीले सिमसार क्षेत्रलाई रामसार सूचीमा सूचीकृत गराउने प्रक्रियामा स्थानीय तह र स्थानीय बासिन्दालाई सहमतिमा लिएर काम गर्न सक्नु पर्नेमा जोड दिए ।
निकुञ्ज विभागका पूर्व महानिर्देशक फणिन्द्र खरेलको नेतृत्वमा अध्ययन भइरहेको छ ।

सो अध्ययन टोलीले पाँच वटै तालको जैविक विविधताको उपस्थिति, पानीको स्रोतको अवस्था, स्थानीय बासिन्दाको अवधारणा, धार्मिक, सांस्कृतिक महत्व लगायतका विषयमा अध्ययन प्रतिवेदन प्रस्तुत गरेको छ ।

विकास समितिका कार्यकारी निर्देशक सिता शाहीले पाँच वटा तालको जैविक, सांस्कृतिक, धार्मिक तथा सामाजिक महत्वका बारेमा अध्ययन गरिएको भएपनि आगामी दिनमा अन्य महत्वपूर्ण तालहरुको पनि थप अध्ययन गरिने जानकारी दिइन् ।

समितिका अध्यक्ष ध्रुब उप्रेतीले पाँच वटा तालका बारेमा छलफलमा आएको महत्वपूर्ण सुझाव तथा रायलाई समेटेर चाँडै नै अध्ययनलाई अन्तिम रुप दिइने बताए । उनले समग्र अध्ययन सकेर रामसार सूचीमा सूचीकृत गर्नका लागि सरकारसँग पहल गर्ने बताए ।

छलफल कार्यक्रममा विश्व वन्यजन्तु कोषका शिबराज भट्ट, निकुञ्ज विभागका इकोलोजिष्ट गणेश पन्त, राष्ट्रिय प्रकृतिक संरक्षण कोषका अनिल प्रसाई लगायतले भाग लिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here