बर्दिया । सुर्खेत जिल्लाको बराहताल गाउँपालिका वडा नम्बर १ तेलपानी वस्तीसम्म यातायातलाई सुचारु गर्ने उद्धेश्यका साथ अघिल्लो हप्ता वन तथा वातावरण मन्त्री बीरेन्द्रप्रसाद महतो बर्दिया पुगेका थिए । तेलपानीसम्म बाटोघाटो सहज बनाउन उनले वन पथको शिलान्यास पनि गरे ।
शिलान्यासको कार्यक्रम सञ्चालन हुँदै गर्दा कार्यक्रममा उपस्थित बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामलाई तेलपानीबाट केही व्यक्ति शिकार गर्न जंगल छिरेको सूचना प्राप्त भयो । उनले त्यहीबाट टोली लिएर आफै जान खोजे तर मन्त्रीको कार्यतालिकालाई असर पर्ने भएकाले उनले तत्कालै निकुञ्ज कर्मचारी र नेपाली सेनालाई परिचालन गरे ।
तेलपानीमा भएको सर्चबाट दुई जना व्यक्ति दुई नाल बन्दुक सहित पक्राउ परे । वन्यजन्तुसँग सम्बन्धित थप कुराहरु फेला पर्न सकेन । पक्राउ परेका ती व्यक्तिलाई हातहतियार खरखजाना मुद्धामा सुर्खेत जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।हातहतियार सहित मानिस पक्राउ परेपछि निकुञ्ज प्रशासनले थप रणनीतिका साथ काम गर्न थाल्यो । थप सुराकी परिचालन गरियो र सेनाको गस्ती बढाइयो ।
बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षा चुनौती भएको प्रमुख ठाउँहरु मध्य तेलपानी पनि एक हो । भौगोलिक विकटता र सुरक्षा पोष्टको दुरी निकै बढी भएकाले यो क्षेत्रमा सधैँजसो वन्यजन्तुको चोरी शिकार हुने गरेको छ । यो क्षेत्र सेवा सुविधाको दृष्टिले निकै दुर्गम छ । बाटोघाटो, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्यको राम्रो व्यवस्था छैन । क्षेत्रमा लेखपराजुलीमा एउटा नेपाली सेनाको पोष्ट स्थापना भएको छ, बाँसपानी र राजकाँडा क्षेत्रमा दुईवटा पोष्ट छन् ।
राजकाँडा र बाँसपानी बीचको दुरी कम्तिमा ६० किलोमिटर भन्दा बढी छ । पैदल हिँडेर गस्ती गर्दा चोरी शिकार गर्ने व्यक्ति शिकार गरेर भागी सक्ने भएकाले त्यो दिन निकुञ्ज प्रशासनले दुबै पोष्टबाट देवीदत्त गणका सेना र निकुञ्जको टोली परिचालन गरेको थियो । गस्ती टोली पुग्दासम्म शिकारीहरु जंगलबाट भागिसकेको थिए । पछि निकुञ्ज र सेनाको टोलीले छापा मार्दा घरभित्र लुकाएर राखेको जरायोको काचो सुकुटी ( ४० केजी भन्दा बढी ) र दुई वटा सहित हतियार बरामद भएका छन् ।
डा. अशोक बर्दियामा प्रमुख संरक्षण अधिकृत भएर जाने बित्तिकै नेपाली सेना, मध्यवर्ती क्षेत्र, युवा चोरी शिकार नियन्त्रण समुह लगायतका सरोकारवालाहरुसँग बसेर सुरक्षा चुनौतीका विषयमा छलफल र सुझाव लिएका थिए । सरोकारवालाबाट आएका सबै सुझावलाई कार्यान्वयन गर्न कार्ययोजना सहित अघि बढ्ने जानकारी डा.अशोकले दिए ।
उनले भने, तेलपानी क्षेत्रमा गाउँभरी हतियार र घरघरमा सुकुटी रहेको आशंका हामीले गरेका छौँ । यो कुरालाई नियन्त्रण गर्न निकुञ्जले आवश्यक रणनीति बनाइसकेको छ । अब गस्ती बढाउनलाई तेलपानीसम्म वनपथ चाँडै निर्माण गर्नुपर्ने देखिएको छ । त्यसपछि राजमार्गबाट दैनिकजसो गस्ती बढाउन सकिन्छ । चुरे क्षेत्रमा पनि सुरक्षा पोष्ट थप राख्नु पर्ने देखिएको छ ।
डा. अशोकरामले पर्सा राष्ट्रिय निकुञ्जको कमाण्ड समालेपछि गत वर्ष चोरी शिकारमा संलग्न दुई जना प्रदेश सभा सदस्य सहित १५ जनालाई पक्राउ परेका थिए । पर्सामा सधैँ चोरीशिकार गरिरहेका गिरोहका व्यक्तिहरु पक्राउ परेपछि राजनीतिक दवाव पनि खेप्नु परेको थियो ।
शिकार गरिएका एउटा जरायो, दुई वटा निलगाई र एउटा चित्तल सहित तीन वटा आधुनिक हतियार पक्राउ परेका थिए । सो घटनामा काठमाडौँ क्षेत्र नम्बर ५ ‘ख’ का प्रदेश सभा सदस्य श्याम खड्का, पर्सा निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ का प्रदेश सभा सदस्य प्रमोद जयसवाल, नेपाली सेनाको पूर्व जमदार दामोदर अधिकारी सहित १५ जना पक्राउ परेका थिए । सो घटनामा ३४ जना फरार अभियुक्त करार भएका थिए ।
निकै सम्वेदनशिल क्षेत्र हो : थापा
बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले तेलपानी क्षेत्र वन्यजन्तु संरक्षणका लागि निकै सम्वेदनशिल क्षेत्र भएको बताएका छन् । उनी प्रमुख संरक्षण अधिकृत भएर काम गर्दा तेलपानी गाउँबाट २५१ वटा अवैध हतियार बरामद गरिएका थिए । नेपालकथासँग थापाले भने, नेपाली सेनाको पोष्ट टाढा टाढा छन् । भौगोगिक हिसाबले निकै दुर्गम ठाउँ हो । एक दिनको गस्तीले पुग्दैन, लामो समयको गस्ती भएर जानुपर्छ । त्यो सधैँ सम्भव नहुने हुँदा यो क्षेत्रमा वन्यजन्तुको शिकारका घटना बढी हुने गरेका छन् ।
उनले भने, यो बस्तीको ९० प्रतिशत ऐलानी जग्गामा बसोबास भएको छ । कर्णाली अञ्चलका मानिसले राजापुरबाट नून, तेल किनेर लैजाने पुर्खादेखिको बाटोको यो बास बस्ने ठाउँ हो । पछि बास बस्दा बस्दै केही मानिसहरु स्थायी बसोबास गर्न थालेका हुन् । खेतीपाती खासै छैन, भारत गएर यहाँका मानिसको जीविकोपार्जन हुने गर्छ । विकल्प केही नभएपछि गलत बाटोतर्फ मानिस हिड्ने गरेका छन् ।
यो क्षेत्रमा मध्यवर्ती क्षेत्र घोषणा गरेर जेडएसएल र डब्लुडब्लुएफले ताल कार्यक्रम मार्फत केही वर्ष जीविकोपार्जनका कार्यक्रम त सञ्चालन गरेको थियो । तर ती अस्थायी भए, सरकारले खासै कार्यक्रम सञ्चालन गर्न नसक्दा चोरी शिकारका घटना वृद्धि भइरहेका छन् । यहाँ थप सुरक्षा पोष्ट स्थापना गर्न जरुरी भइसकेको छ ।