बर्दिया । बुढ्यौलीका कारण आहार गर्न नसक्ने अवस्थामा रहेको एउटा बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ ।
बर्दियाको भूरीगाउँ नजिकैको रानीपुर क्षेत्रमा आहार खोज्न नसकेर घिस्रिरे रहेको अवस्थाको घाइते बाघलाई डार्ट गरी खोरमा राखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामले जानकारी दिए ।
घिस्रिदै गर्दा बाघको खुट्टामा घाउ लागेको छ । निकै थकित अवस्थामा रहेको बाघ भोकले पनि आत्तिएको स्थितिमा भेटिएको उनले जानकारी दिए ।
अहिले सो बाघलाई ठाकुरद्धारास्थित खोरमा राखेर आधार र औषधीको व्यवस्था गरिएको छ । उनले भने, बाघको स्वास्थ्य अवस्था निकै कमजोर छ । कतिदिन देखि खान नपाएको जस्तो छ । अहिले उसको आहार र उपचारको काम भइरहेको छ । यो बाघले विगतमा गाउँमा पसेर केही पाठाबाख्रा खाएको भएपनि मानवीय क्षति भने हालसम्म नगरेको बताइएको छ ।
त्यसैगरी शिवपुर क्षेत्रमा गाउँमा पसेर पशुवस्तु खाने पल्केको एउटा चितुवालाई पासो पारेर बबई क्षेत्रमा छाडिएको छ । विगत एक हप्ता देखि राती गोठमा पसेर पशुवस्तु मार्न थालेपछि स्थानीयले निकुञ्जलाई खबर गरेका थिए । निकुञ्जको टोलीले चितुवालाई राती पासोमा पारेको थियो ।
(तस्बिर)


