आन्तरिक उडान गर्न एकजना ‘क्याप्टेन’

काठमाडौं । सरकारी वायुसेवा कम्पनी नेपाल वायुसेवा निगमसँग आन्तरिक उडान गर्न चीनमा निर्मित १७ सिट क्षमतायुक्त चारथान जहाज छन् । बजार हिस्सा ओगट्दै मनग्ये आम्दानी गर्ने भन्दै ल्याइएका ती जहाज उडाउन भने निगमसँग अहिले एकजना ‘क्याप्टेन’ बाँकी छन् । 

निगम व्यवस्थापनसँग ‘वाई १२–ई’ सिरिजका चारथान जहाज उडाउन चारजनामात्रै क्याप्टेन छन् । तिनलाई साथ दिन सातजना कोपाइलट छन् । एउटा जहाज उडाउन एक क्याप्टेन र एक कोपाइलट चाहिन्छ । तर, केही दिनयता चार जहाज उडाउने जिम्मा एकजना क्याप्टेनको भागमा परेको छ ।

“यो भनेको चारमध्ये एउटामात्र जहाज उड्नु हो,” निगमका एक अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा मंगलबार भने, “यसमा निगम व्यवस्थापनले जानाजानी हेल्चेक्र्याँइ गरेका कारण चिनियाँ जहाज थन्किने अवस्था आएको हो ।”

अन्तर्राष्ट्रिय उडान गरिरहका ‘एयरबस ३२०–२००’ सिरिज जहाजका वरिष्ठ क्याप्टेन तथा निगमका प्रवक्ता विजय लामाले चारमध्ये दुई क्याप्टेन बिरामी बिदामा रहेको र एकजना तालिमका लागि विदेश रहेका कारण वाई१२–ई जहाज उडाउन कठिन भएको बताए ।
“हामीलाई यसै पनि पाइलट अभाव भइरहेका बेलामा झन् भएकै पनि बिरामी हुने र विदेश गएपछि बाध्य भएर एउटामात्र उडाउनुको विकल्प रहेन,” प्रवक्ता लामाले भने, “हाम्रो उद्देश्य सकेसम्म यात्रुलाई सहजै गन्तव्य पुर्‍याउने हो र त्यसैमा लागिरहेका छौं ।”

सम्बद्ध अधिकारीका अनुसार अहिले वाई १२–ई जहाज उडाउन प्रशिक्षक पाइलट आङनुरी शेर्पामात्र बाँकी छन् । वरिष्ठ क्याप्टेनहरू निपेन्द्र भट्टराई र सञ्जयबादे श्रेष्ठ केही दिनदेखि बिरामी बिदामा रहेका छन् भने क्याप्टेन उद्धव घिमिरे भने ‘ए३२०’ जहाज उडानको तालिम लिन इन्डोनेसिया गएका छन् । 

आन्तरिक उडान गरिरहेका पाइलटहरूबीच घिमिरेलाई एयरबसको तालिममा पठाएको विषयमा असन्तुष्टि देखिएको ती अधिकारी भन्छन्,  “सात तहमा कार्यरत घिमिरेलाई एयरबस उडाउने तालिममा पठाउने व्यवस्थापनले नौ तहमा कार्यरत पाइलटलाई ठाडै बेवास्ता गरेको छ । यही विषयमा पाइलटहरू असन्तुष्ट छन् । यसको असर आन्तरिक उडानमा पर्न थालिसक्यो ।”

एकैचोटि तीन क्याप्टेन नहुँदा सबै जहाजको भार प्रशिक्षक पाइलट शेर्पाको काँधमा आइपुगेको छ । उनलाई साथ दिन कोपाइलटहरू प्रचण्ड खड्का, लिबर्टी भण्डारी, श्रृजना रावत, राकेश काफ्ले, रविन केसी, विजय अवाले र महेशराज पाण्डे छन् । 

“शेर्पा एक्लैले पनि कति दिन जहाज उडाउने हुन् ठेगान छैन,” ती अधिकारीले भने, “६ दिन उडाएपछि सातौं दिन अनिवार्य बिदा बस्नुपर्ने नियम छ । यसको अर्थ एक दिन पूरै वाई १२–ई जहाज विमानस्थलमै थन्किन्छ ।”

चारथान वाई१२–ई रहे पनि दर्ता नम्बर ‘९एन–एकेएस’ भएको एउटा भने वर्ष दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ छ । उक्त जहाजको इन्जिन मर्मत गर्न भन्दै क्यानडा लगिए पनि हालसम्म फिर्ता ल्याइएको छैन । 

निगम व्यवस्थापनले चारथान वाई१२–ईबाट सातामा ५६ उडान गर्ने योजना  बनाए पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । यस हिसाबले एक दिनमा एउटा जहाजले दुई उडान गर्नुपर्ने हुन्छ । अब एउटा क्याप्टेन र सात कोपाइलटले एकैचोटि चार जहाजबाट दैनिक ८ उडान गर्न असम्भव छ । एउटा जहाज उडाउन एकजना क्याप्टेन र एकजना को–पाइलट चाहिन्छ ।

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार आन्तरिक उडान गर्ने निगमको एकथान साना जहाज उडाउन क्याप्टेन र को–पाइलट गरी पाँचजना चाहिन्छ । यसको अर्थ दुई क्याप्टेन र तीन को–पाइलट वा तीन क्याप्टेन र दुई को–पाइलट हुनुपर्छ भन्ने हो । 

“निगमले सधैं यस्तै असम्भव काममा हात हाल्ने गर्छ,” निगमकै एक वरिष्ठ क्याप्टेनले आक्रोश पोखे, ‘एउटा क्याप्टेनले चारवटा जहाज सँगसँगै कसरी उडाउन सक्छ ? यसको अर्थ के हो भने चार जहाज कहिल्यै पनि सँगै उड्न सक्दैनन् ।’ उनका अनुसार एकमात्र क्याप्टेनले एउटा जहाज उडाएपछि बाँकी तीन जहाज उडाउन क्याप्टेन हुँदैनन्, अनि तालिका भए पनि जहाज थन्किन्छन् । 

निगमले एकैपटक चारवटा खरिद गर्ने र दुईवटा निःशुल्क पाउने सम्झौताअनुसार साढे ३ अर्ब रुपैयाँमा छिमेकी चीनसँग जहाज खरिद गरेको थियो । उक्त रकम पनि चीनसँगै सहुलियतपूर्ण ऋणमा लिइएको हो । चीनसँग भएको सम्झौताअनुसार चारवटा वाई१२–ई र ५८ सिटे दुईथान ‘मोडर्न आर्क’ (एमए–६०) सिरिजका छन् । निगमले अनुदानमा पाएका एक–एकथान वाई१२–ई र एमए–६० जहाज सुरुमा ल्याएको थियो । त्यसपछि खरिद गरिएकामध्ये वाई१२–ई र एमए–६० ल्याएको थियो सबैभन्दा पछि अन्तिम दुई वाई१२–ई ल्याएको थियो । 

सभार: १२खरी

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here