सुदूरपश्चिम प्रदेश कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ६१ बर्षिय बृद्ध बहादुर चुनारा मुक्त हलिया हुन् । उहाँले साहुबाट ऋण लिएर ब्याज बाफत मालिकको घरमा हलिया बसेका थिए । हलियाहरुलाई सरकारले मुक्त गरेको ९
बर्ष बितिसकेको छ, तर पनि उहाँ जस्तै अरु मुक्त हलियाका दिन उस्तै छन् ।
दुई दशक मालिकको घरमा हलिया बसेका चुनारा सरकारले मुक्त घोषणा गर्दा हर्षित भएका थिए तर मालिकको घरबाट मुक्त गराएपनि उचित व्यवस्थापन नहुँदा चिन्तित बन्दै गएका छन् ।
‘मेरो परिवार पुस्तौँदेखि अर्काको घरमा हलिया बस्दै आएको थियो, ‘उहाँले भन्नुभयो, मुक्त भएपछि मुक्ति पाईन्थ्यो सोचेको थिए, तर दैनिक गुजारा चलाउन फेरी मालिकै भर परेका छौँ ।’ मुक्त भएपनि फेरी आफ्ना दिन पुरानै रहेको उहाँको दुखेसो छ । ‘ऋण लिएर ब्याज बाफत ऋण नतिरुन्जेलसम्म मालिकको घरमा हलिया बस्दै आएका हामी मालिकको चुङ्गुलबाट मुक्त भएका छौँ, ‘उहाँले भन्नुभयो, ‘पुर्नस्थापनामा खासै पहल नहुँदा मुक्त हलियाको दैनिक अवस्था झन दयनीय बन्दै गएको छ ।’ मुक्त हलियाको मुक्तिका लागि गाँस, वास र कपासको व्यवस्था गरिदिनुपर्ने उहाँको माग छ । उहाँले ‘ख’को वर्गको परिचय पत्र पाए पनि सेवा सुविधा नपाएको गुनासो पोख्नुभयो ।
भीमदत्त नगरपालिका–३ तिलकपुरकी कुरी कोली साहुको ऋण लिएर डेढ दशक हलिया बसे । कोलीले साहुबाट सरकारले मुक्त गरेपनि व्यवस्थापन नगरेका कारण फेरी पनि गुजारा चलाउन मालिककै भरपर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । आफ्नो परिवारले परिचय पत्र समेत नपाएको गुनासो पोख्दै उहाँले खोला छेउमा झुपडी बनाएर बस्ने गरेको दुखेसो पोख्नुभयो । ‘हामीले १५ बर्ष साहुको हलो जोतेर परिवार धानेका थियौँ, ‘उहाँले भन्नुभयो, ‘मुक्त गरेको एक दशक वितिसक्दा पनि हाम्रो पहिचान भएको छैन् ।’ परिचय पत्र समेत नपाएका कारण विभिन्न सरकारी सेवा सुविधाबाट बञ्चित भएको उहाँको दुखेसो छ । ‘हलेसीबाट छुटकारा पाएका छौँ, ‘उहाँले भन्नुभयो्, ‘फेरी पनि जिउनका लागि साहुकै हलो जोत्नुपर्छ ।’
भीमदत्त नगरपालिका–६ ऐठपुरका ईन्द्रबहादुर चुनाराका बाबु, बाजेपनि हलिया हुन् । उहाँको परिवार हलिया बस्दै आएको थियो । चुनारा परिवारले साहुको घरमा २० बर्ष हलो जोतेर गुजारा चलाएको थियो । साहुबाट मुक्ति पाएपनि समस्याबाट मुक्ति नपाईएको उहाँको दुखेसो छ । ‘बुवा बाजेले साहुको दुई दशक हलो जोत्यो, ‘उहाँले भन्नुभयो, ‘हाम्रो परिवारले अहिलेम्म परिचय पत्र समेत पाएका छैनौँ ।’ हलियाको उचित व्यवस्थापन नभएका कारण अझैपनि साहुकै हलो जोत्न बाध्य भएको उहाँको दुखेसो छ । अदिया ठेक्कामा जमिन जोतेर गुजारा चलाएको उहाँको भनाई छ ।
बेदकोट नगरपालिका–४ सार्कीपार्की टोलका मुक्त हलिया रगी भुलका बुवा राटो भुल दुई दशक साहुको घरमा हलिया बसे । हलिया मुक्ति भईसकेपछि उहाँको मुत्यु भयो । बुवा बाजेले साहुकै जमिन जोतेर परिवारको गुजारा चलाएको रगी भुलको भनाई छ । रगी भुलले सरकारले मुक्त दिलाएपनि अभावबाट मुक्ति दिलाउन नसकेको गुनासो गर्नुभयो ।
मुक्त हलिया मुक्ति भएपनि सरकारी निकायबाट उचित पुर्नस्थापनाका कार्यक्रम संचालन नहुँदा फेरी पनि मुक्त हलिया दैनिक गुजाराका लागि घुमाउरो पारामा हलो जोत्न विवश भएको बताउनुभयो । उहाँले हलिया परिवारले मुक्ति संगै न्यायिक पुर्नस्थापनाको माग उठान गरेका छन् ।
बुधबार जिल्लाका विभिन्न मुक्त हलिया क्षेत्रमा कार्यरत संघ संस्थाले ९ औँ हलिया मुक्ति दिवस मनाउदै न्यायिक पुर्नस्थापनामा माग अघि सारेका छन् । राष्ट्रिय हलिया मुक्ति समाज र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले कञ्चनपुरमा छुट्टा छुट्टै कार्यक्रम गरि दिवस मनाउदै न्यायिक पुर्नस्थापनाको माग अघि सारेका हुन् ।
राष्ट्रिय हलिया मुक्ति समाजको अगुवाईमा महेन्द्रनगरमा ¥यालीका साथै कोण सभा गरिएको छ, भने नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले सरोकारवालासँग छलफल गरेको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष दिलराम टमाटाले मुक्त हलियालाई परिचय पत्र वितरणमा त्रृटी भएका कारण सच्याउनुपर्नेमा जोडदिनुभयो । पहिचान नभएका सबैलाई परिचय पत्र दिनुपर्नेमा उहाँले जोडदिनुभयो । मुक्त हलियाको घरदैलो गरेर तथ्याङ्क संकलन गर्नुपर्नेमा जोडदिनुभयो ।
बेदकोट नगरपालिका–२ का वडाध्यक्ष गणेश विक (कुसल)ले मुक्त हलिया पुर्नस्थापना गर्नका लागि अब स्थानीय तहले समेत पहल गर्नुपर्नेमा जोडदिदै आफ्नो वडा र नगरबाट आफुले पहल गर्ने बताउनुभयो । वडा स्तरबाट मुक्त हलियाले योजना माग गर्न समेत उहाँले आब्हान गर्नुभयो । स्थानीय र केन्द्र सरकारको संयुक्त पहलबाट न्यायिक पुर्नस्थापनाका कार्यक्रम संचालनमा उहाँले जोडदिनुभयो ।
राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले सरकारले यस भन्दा अघि सारेका पुर्नस्थापनाका कार्यक्रम पनि दिगो प्रभावकारी नभएको बताउदै अझै पनि मुक्त हलियाको गास, वास कपास सुरक्षाका कार्यक्रम संचालनमा जोडदिनुभयो । मुक्त हलिया परिवारको अवस्था कहालि लाग्दो भएको बताउदै उहाँले त्यसका लागि हरेक क्षेत्रमा मुक्त हलियालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । गैर मुक्त हलियाका कारण समस्या भएको बताउदै मुक्ति हलियाले उहाँहरुका कारण वास्तविक हलिया पीडित बन्दै गएको समेत गुनासो व्यक्त गर्नुभयो ।
कञ्चनपुरमा हालसम्म झण्डै तीन सय मुक्त हलियाका परिवार पुर्नस्थापना भईसकेका छन् । जिल्ला भूमि सुधार कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार २९९ मुक्त हलियाका परिवार पुर्नस्थापना भएका छन् । जिल्ला भूमि सुधार कार्यालय कञ्चनपुरका प्रमुख धर्मानन्द भट्टले १३३ जमिन सहित घर निर्माण र १६६ परिवारको घर मर्मत गरिएको बताउनुभयो ।
प्रति परिवार १० धुरका दरले जमिन दिईएको छ । चालु आर्थिक बर्ष २०७५÷०७६ मा २०० परिवारलाई जमिन र घर निर्माण गरिने र ४३४ परिवारको घर मर्मत गरिने छ । कञ्चनपुरमा २ हजार ५१६ मुक्त हलियाको लगत लिएपनि हालसम्म १ हजार ४९६ परिवारले मात्रै परिचय पत्र पाएका छन् । बाँकी मुक्त हलिया प्रमाणिकरण हुन बाँकी छन् । उहाँहरुले अहिलेसम्म परिचय पत्र समेत पाएका छैनन् ।