जुम्ला । अत्यन्तै लजालु प्राणी । सायद घुम्टी ओड्न सक्ने विवेक भएको भए यसले घुम्टी पनि ओड्थ्यो होला । विशेष गरेर उच्च हिमाली क्षेत्रमा निगालो, मालिंगोको कलिला मुना, टुसा खाएर बाँच्ने शाकाहारी सानो प्राणी रेडपाण्डा मानिस मात्र होइन, जंगली जनावर आउँदा समेत निगालोको टुप्पोमा लुकेर बस्ने गर्छ । टिलिक पिलिक सुन्दर आँखाले दुश्मनलाई पनि निरन्तर हेरिहरन्छ । लाजे भाग्न सक्दैन तर दुश्मनको बाटोको छेऊमा लुकेर बस्छ । अरुले देख्लान भनेर निगालोका झयाङमा लुकेपनि बाँसको टुप्पो हल्लाउँदै आफु बसेको ठाउँको जनाउ दिने सोझो प्राणी रेड पाण्डा पछिल्ला दिनमा निकै असुरक्षित हुन थालेको छ ।
प्रहरीले बरामद गरेको रेड पाण्डाको छालाको संख्याको दर हेर्ने हो भने यसको संख्या पनि दिनप्रतिदिन घट्दै गएको अनुमान गर्न सकिन्छ । शारिरीक रुपमा सानो, सफा, रंगिन, माया लाग्दो अनि लो लाग्दो यो प्राणी संसारमै दुर्लभ स्तनधारी जनावर हो । यति जान्दा जान्दै पनि मानिसले यसलाई लखेट्छ अनि मारेर छाला शहर बजारमा बेच्न ल्याउन्छ । बजार कता हो ? सानो छालाको मूल्य कति हो ? कसले खरिद गर्ने हो ? लगायतका विषको टुङ्गो नलगाई रेडपाण्डाको छालाको मोलमोलाई गर्ने क्रममा अधिकांश गाउँले सर्वसाधारण प्रहरीको फन्दामा पर्ने गरेका छन् । ती फन्दामा पर्नेले त कानूनी दण्ड सजाय व्यहोर्ला तर विश्वमै दुर्लभ मानिएको त्यो निर्दोष प्राणीको बंशै नाश हुने सम्मको क्षतिपूर्ति कहिं कसैले पनि दिन सक्ने अवस्था छैन ।
चोरी सिकार, वनजङ्गल फँडानी, चेतनाको कमी लगायतका कारणले गर्दा लोपोन्मुख रेड पाण्डाको अस्तित्वमा चुनौतीपूर्ण बन्दै गएको छ । केही वर्ष पहिलासम्म घरआँगनमै देखिने यो वन्यजन्तु अहिले टाढा टाढाको जङ्गलमा पनि देखिन छोडेका छ । कहिले काँही देखिने एकाध संख्याको यो वन्यजन्तु अनाहकमा शिकार बन्ने पुगिरहेका छन् ।
रेड पाण्डा नेटवर्कको समन्वयमा कर्णाली विकास हातेमालो सेवा समाज जुम्लाले सिञ्जा र पातारासी गाउँपालिकामा रेड पाण्डा संरक्षणका लागि अभियान सञ्चालन गरिरहेको छ । यो क्षेत्रका १५० सामुदायिक वन उपभोक्तासँग समन्वय गरी संरक्षण गर्नुका साथै चोरी सिकारीलाई न्यूनीकरण गर्ने कार्यको पनि थालनी गरिएको छ ।
सरकारले रेड पाण्डा संरक्षणका लागि छुट्टै नीति बनाए तापनि अन्य जनावर जस्तै, यसलाई प्राथामिकता नदिँदा सङ्कटमा परेको अनुसन्धानले देखाएको रेडपाण्डा नेटवर्क अनुसन्धानकर्ता सरोज श्रेष्ठले बताउनुभयो ।
यो वन्यजन्तुको एकिन र वैज्ञानिक ढंगले हालसम्म अध्ययन अनुसन्धान र गणना त हुन सकेको छैन । तैपनि नेपालमा यसको संख्या ५०० को हाराहारीमा भएको अनुमान गरिएको छ । जसमध्य ४३ प्रतिशत रेडपाण्डाको पश्चिम नेपालका उच्च पहाडी क्षेत्रमा भएको मानिएकोक छ ।
प्राप्त जानकारी अनुसार जुम्लाका गिडिखोला, देपालगाउँ, ताम्ती, पातारासी, रिया, लगायतका क्षेत्रमा आवश्यक बासस्थान उपयुक्त रहेको मानिएको छ । नेपालका २४ वटा जिल्लामा मात्र रेडपाण्डा पाइने अनुमान गरिएको छ ।
विश्वमै दुर्लभ मानिएको यो प्रजातिको चोरी सिकारीमा संग्लनलाई एकदेखि १० वर्ष कैद र एक लाख देखि पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ ।