विदेशबाट फर्किएर माछापालन

दमौली । तनहुँको व्यास नगरपालिका–२ दमौलीका चन्द्र कायस्थ मङ्गलबार बिहान नौ बजे नै म्याग्दे गाउँपालिका–४ बडहरेमा रहेको माछापोखरी पुग्नुभयो ।

पोखरीबाट माछा निकाल्ने तयारी गरिएको जानकारी पाएलगत्तै उहाँ र दमौलीकै कृष्ण रुचाल त्यहाँ पुग्नुभएको थियो ।उहाँहरु माछापोखरी पुग्दा सञ्चालक गणेशकुमार श्रेष्ठसहित स्थानीय गाउँले पोखरीबाट माछा निकाल्न व्यस्त हुनुहुन्थ्यो । करीब दुई घण्टाको समयमा पोखरीबाट माछा निकालेपछि कायस्थले दश र रुचालले एक केजी माछा खरीद गर्नुभयो ।

कायस्थ र रुचाल मात्रै होइन पोखरीबाट माछा निकाल्ने थाहा पाएपछि अन्य ग्राहकसमेत माछा खरीद गर्नका लागि पोखरीमै पुग्नुभएको थियो । कायस्थले पोखरीको माछा मीठो हुने भएकाले आफूले सधैँ यहीँबाटै माछा खरीद गर्ने गरेको बताउनुभयो ।

दमौलीका अन्य व्यक्तिले समेत माछा ल्याइदिन आग्रह गरेपछि आफूले सबैका लागि माछा खरीद गरेर ल्याइदिने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चार÷पाँच जनाले माछा ल्याइदिन अनुरोध गरेर पैसा दिनुभएको थियो । मैले आफू सहित १० केजी माछा खरीद गरेर ल्याएँ ।”

सञ्चालक गणेशकुमार श्रेष्ठले मङ्गलबार पोखरीबाटै १०० केजी माछा बिक्री भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “माछा कहिले निकाल्ने भनेर सोध्छन्, मैले जुन दिन निकाल्ने भनेर खबर गर्छु उहाँहरु पोखरीमै आइपुग्नुहुन्छ ।” माछा खरिद गर्न आउनेलाई रित्तो हात फर्काउनुपरेको भन्दै उहाँले भन्नुभयो, “सबै माछा बिक्री हुन्छ जस्तो लागेको थिएन, थुप्रैलाई माछा पु¥याउन सकिँन ।”

पोखरीमै माछाको प्रतिकेजी रु ४०० पर्छ । माछाका लागि बजारको कुनै समस्या नरहेको बताइएको छ । उहाँले भन्नुभयो, “माछा बिक्री गर्दै बजारसम्म जानुपर्ने अवस्था छैन, पोखरीबाटै छोपाछोप हुन्छ ।” श्रेष्ठले २० रोपनी क्षेत्रफलमा तीन वटा पोखरी निर्माण गरी माछापालन गरिरहनुभएको छ । पोखरीमा रहु, कमन, ग्रास, नैनी जातका माछा रहेका छन् । वार्षिक रु १० लाखभन्दा बढीको माछा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो ।

माछापालनका लागि श्रेष्ठलाई छोरा भीष्म श्रेष्ठले सघाइरहनुभएको छ । माछापालनको शुरुआत भीष्मले नै गर्नुभएको थियो ।

विदेशबाट फर्किएर शुरु भएको व्यवसाय

भीष्म १० वर्ष दुबई बस्नुभयो । वैदेशिक रोजगारीका लागि दुबही पुग्नुभएका उहाँले त्यहाँ मिनरल वाटर कम्पनीमा काम गर्नुभयो । विसं २०५९ देखि २०६९ सम्म विदेशमा बसेर काम गर्दा उहाँले केही पैसा त कमाउनुभयो, तर आत्म सन्तुष्टि कमाउन सक्नुभएन । उहाँलाई लाग्यो, विदेशमा बसेर यति दुःख गरेर कमाउने जति त स्वदेशमै बसेर दुःख गरेर पनि कमाउन सकिन्छ ।

दुबई बसाईंकै क्रममा उहाँलाई स्वदेश फर्किएर माछापालन व्यवसाय गर्ने सोच आयो । उहाँले लगत्तै आफ्ना बाबु गणेशकुमार श्रेष्ठलाई माछापालनबारे सुनाउनुभयो, बाबुले पनि उहाँको प्रस्तावमा सहमति जनाउनुभयो ।

भीष्म विसं २०६९ मा स्वदेश फर्किनुभयो । लगत्तै माछापालन गर्न केही प्राविधिक कठिनाइ भयो । लगत्तै उहाँ मलेशिया गए पनि छ महीनामै फर्किनुभयो । उहाँ भन्नुहुन्छ, “विदेशमा बस्दा नै फर्किएपछि माछापालन गर्छु भन्ने सोच बनाइसकेको थिएँँँ ।” स्वदेश फर्किएपछि उहाँले दमौलीमा होटल सञ्चालनसमेत गर्नुभयो भने विसं २०७१ देखि माछापालन व्यवसाय पनि ।

भीष्मका बाबु गणेशकुमार श्रेष्ठले भन्नुभयो, “अरुले जग्गा भाडामा लिएर माछापालन गरेकोसमेत देखेँ, तर हाम्रो त आफ्नै जग्गा छ त्यसमै माछापालन गरौँ न भनेर छोरासँग सल्लाह गरेँ ।” शुरुमा उहाँहरुले छ रोपनी क्षेत्रफलमा दुई वटा माछापोखरी खन्नुभएको थियो । त्यसका लागि तत्कालीन कृषि विकास कार्यालयले रु ६० हजार सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here