पर्यटक कुर्दै गण्डकी प्रदेश सङ्ग्रहालय

पोखरा । पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक महत्वको गण्डकी प्रदेश सङ्ग्रहालयले प्रचारप्रसार र आवश्यक पूर्वाधारको अभावमा पर्यटकलाई आकर्षित गर्न सकेको छैन ।
पोखरा महानगरपालिका वडा नं ९ स्थित सो सङ्ग्रहालयमा एक सय वर्ष पुराना भाँडाकुँडा, गरगहना, घरायसी सामग्री, विभिन्न जातजातिका वेशभूषा एवम् गरगहना छन् । मुस्ताङ ग्यालरी नामकरण गरी सो क्षेत्रमा उत्खनन् गरिएका पुरातात्विक महत्वका सामग्रीसमेत प्रदर्शनी कक्षमा राखिएको छ ।

विसं २०४१ मा स्थापित तत्कालीन क्षेत्रीय सङ्ग्रहालय २०७५ भदौ २४ गते सामाजिक विकासमन्त्री नरदेवी पुनको उपस्थितिमा प्रदेश सङ्ग्रहालय नामकरण गरिएको हो । तेइस रोपनी जग्गामा फैलिएको सो सङ्ग्रहालयमा हाल सात कर्मचारी छन् । सङ्ग्रहालयको महत्व उजागार हुन नसक्दा यसबाट प्रतिफल प्राप्त गर्न नसकिएको कर्मचारीको भनाइ छ ।

सङ्ग्रहालय अवलोकन गर्न आउने पर्यटक बढ्न नसक्नुमा प्रचारप्रसार र आवश्यक पूर्वाधारको अभाव रहेकोे सङ्ग्रहालयका सूचना अधिकारी कवीन्द्रराज पौडेल बताउनुभयो । “सङ्ग्रहालयमा अझै पनि परम्परागत रुपमै प्रदर्शनी कक्ष रहेका छन्, आधुनिक सङ्ग्रहालयको अवधारणाबाट अगाडि बढ्न सकेका छैनौँ”, उहाँले भन्नुभयो । सङ्ग्रहालयभित्र ऐतिहासिक र सांस्कृतिक महत्वका वस्तु रहेकाले आधुनिक प्रदर्शनी कक्षसहित प्रचारप्रसारको गर्न सके पर्यटकको आवागमन बढ्ने सक्ने उहाँको विश्वास छ ।

सङ्ग्रहालयका लागि टिकट घर, व्यवस्थित बगैँचा, द्वार र कार्यालय भवन निर्माणका लागि प्रदेश सरकारसँग रु एक करोड माग गरिए पनि पाउन नसकिएको सङ्ग्रहालयका सहलेखापाल शोभाखर ढकालले बताउनुभयो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय मातहतमा आएपछि कर्मचारीले तीन महिनादेखि तलब समेत नपाएको ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “शुरुमा सङ्घले हेर्ने कि प्रदेशले हेर्ने भन्ने विषयमा नै अलमल देखियो । असारको अन्त्यतिर मात्रै सङ्घीय सरकारले प्रदेश सरकार मातहत राख्ने निर्णय ग¥यो, त्यतिबेलासम्म प्रदेश सरकारले बजेट बनाइसकेको थियो । सङ्ग्रहालयको लागि रकम छुट्याउन ढिला भएकोले पनि यो अन्योल देखिएको हो ।”

उहाँका अनुसार सङ्घीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको रकमबाट कर्मचारीले मङ्सिरसम्मको तलब पाएका छन् । “करारका तीन कर्मचारीले तलब लिनुभएको छ तर अरुले पाउनु भएको छैन”, ढकालले भन्नुभयो । सङ्घीय संरचनाका अभ्यासले पनि जटिलता देखिएकाले ढिला भएको हुन सक्ने उहाँको भनाइ छ ।

सङ्ग्रहालयको आम्दानी वार्षिक सटर भाडाबाट रु १३ लाख र सङ्ग्रहालय अवलोकन गर्न आएका पर्यटकको टिकटबाट रु दुई लाख गरी कूल १५ लाख छ तर खर्च वार्षिक झण्डै रु २२ लाख छ । वार्षिक रु ७ लाख घाटा छ ।

टिकट दरसमेत एकदम न्यून रहेको ढकाल बताउनुहुन्छ । नेपालीलाई रु १० र विद्यार्थी सहुलियत रु ५, सार्क देशका पर्यटकलाई रु ५० र अन्य विदेशीलाई रु १०० सय टिकट दर रहेको छ । दैनिकजसो ५० देखि १०० जना सङ्ग्रहालय अवलोकलनका लागि आउने गरेको बताइएको छ । सङ्ग्रहालय घुम्न आउने पर्यटकलाई लक्ष्य गरेर शनिबार खुला गरिएको छ भने मंगलबार बन्द हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here