बजार संरक्षणको बहानामा नदी दोहन

गलेश्वर । नदीजन्य वस्तुको उत्खनन्मा डोजर, एक्साभेटर जस्ता ग¥हुङ्गा उपकरणको प्रयोग गर्न कानूनले निषेध गरेको छ । म्याग्दीका कालीगण्डकी र म्याग्दी नदीमा बजार र वस्ती संरक्षणका नाममा खुल्ला रुपमै त्यस्ता उपकरण प्रयोग भैरहे पनि सरोकारवाला निकाय मौन छन् ।

उत्तरबाट दक्षिणतर्फ बगिरहेको पवित्र कालीगण्डकी नदीको बेनी खण्डमा सदरमुकाम बेनी बजार संरक्षणका नाममा नदीको छेउछाउ र बीच भागमा रहेका ठूल्ठूला ढुङ्गा फुटालेर नदीको सौन्दर्य नष्ट गर्ने काम भएको छ ।

बेनी क्षेत्रको पवित्र कालीगण्डकी नदीको प्रशस्तै दोहन भइरहेको स्थानीयवासीले बताएका छन् । बजार संरक्षणका लागि पर्खाल लगाउने बहानामा जथाभावी नदी किनाराका ढुङ्गा र बालुवा निकाल्दा संरक्षण होइन जोखिमको सम्भावना बढेको भन्दै उनीहरुले बेनी नगरपालिकामा गुनासोसमेत गरेका छन् ।

बजारवासीको गुनासो अनुगमनका क्रममा पुष्टि भएपछि उपभोक्ता समितिका पदाधिकारीहरुलाई नगरपालिकामा बोलाएर जथाभावी ढुङ्गा ननिकाल्न र उपकरण प्रयोग नगर्न सचेत बनाइएको नगर कार्यपालिकाका सदस्य कृष्णकुमार विश्वकर्माले बताउनुभयो । उपभोक्ता समितिको अदृश्य चलखेलका कारण गुणस्तरीय काम नहुने, ढिलासुस्ती र संरक्षणको नाममा विनाश हुनसक्नेतर्फ बजारवासीबाट चासो व्यक्त हुन थालेका छन् ।

स्थानीय बासिन्दाको गुनासो आएपछि बेनी नगरपालिकाले उपभोक्ता समितिलाई सचेत बनाएको छ । रुपाताल एकीकृत संरक्षण समितिमार्फत कालीगण्डकी नदी कटानबाट बेनी बजारलाई जोगाउने उद्देश्यले सञ्चालित योजनाका लागि उपभोक्ता समितिले एक्साभेटर प्रयोग गरेर नदी किनारका ठूला ढुङ्गा फुटाउँदा थप जोखिम बढेको भन्दै बजारवासीले विरोध जनाएका हुन् ।

“आयोजनाको नाम ‘बेनी बजार संरक्षण’ भए पनि काम चाहीँ ‘कुखुरालाई बार’ जस्तै भएको छ,” बेनी बजारका एक स्थानीयवासीले भने – “नदीका ठूल्ठूला ढुङ्गा निकालेर टुक्राटुक्रा बनाई ग्याबियन लगाएर संरक्षण होइन झन् विनाश निम्तिने निश्चित छ ।”

बेनी नगरपालिकाका नगर कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा पनि नदीका ढुङ्गा फोडेर पर्खाल लगाएकामा निकै असन्तुष्ट हुनुहुन्छ । विश्वकर्मा भन्नुहुन्छ – “यसरी बेनी बजारको संरक्षण कसरी हुन सक्छ ? पहिलो कुरा त नदीको स्वरुप र धार नै परिवर्तन गरिएको छ । पुराना, गहिरोसँग बसेका ठूल्ठूला ढुङ्गा फोडिएका छन् । दोस्रो ग्याबियन जाली लगाउने ठाउँमा जग नै खनिएको छैन । पानीको सतहमाथिबाट नै ग्याबियन पर्खाल लगाइएको छ । यो त कुखुरालाई बार लगाए जस्तै भयो ।”

म्याग्दी उद्योग वाणिज्य सङ्घका भूतपूर्व अध्यक्ष एवं बेनीका उद्योगी प्रमोदकुमार श्रेष्ठले पनि कालीगण्डकी नदीबाट ढुङ्गा निकालेर ग्याबियन लगाउनु उपयुक्त नभएको बताउनुभयो । “हामीले उपभोक्ता समितिहरुलाई बारम्बार सचेत पारिरहेका छौँ तर, उनीहरुले अटेर गरेका छन्,” श्रेष्ठले भन्नुभयो ।

बेनी बजार संरक्षणका नाममा भैरहेको यस्ता गतिविधिलाई स्थानीय प्रशासन र स्थानीय निकाय दुवैले टुलुटुलु मात्रै हेरिरहेका छन् । बजार संरक्षण गर्न ग्याबियन जाली लगाउने बहानामा उपभोक्ता समितिले घुमाउरो शैलीमा ठेकेदारमार्फत उपकरण प्रयोग गरेर नदीमा जमेर बसेका ठूल्ठूला ढुङ्गाहरु पmोडिरहेको छ । नदीको स्वरुप र धार नै परिवर्तन गरेर मनपरि गरिरहेका उपभोक्ता समिति र अघोषित ठेकेदारहरुलाई न बजारवासीले रोकेका छन् न त सम्बन्धित निकायले नै । कसको स्वार्थमा किन यसरी नदीको दोहन भैरहेको छ ? सम्बन्धित निकाय किन मौन छ ? यो रहस्यको विषय बनेको छ ।

रुपाताल संरक्षण समितिले बेनी बजार संरक्षणका लागि पुरानो पर्खाल संरक्षण र गत भदौको बाढीले बगाएको ठाउँमा ग्याबियन पर्खाल निर्माणका लागि चार वटा उपभोक्ता समितिमार्फत काम गरिरहेको छ । उपभोक्ता समितिले बिना प्रतिस्पर्धा सीमित व्यवसायीको उपकरण प्रयोग गरेको, उपभोक्ता परिचालन गरेर गर्नुपर्ने काम घुमाउरो शैलीमा ठेक्कामा लगाएको र ग्याबियन जालीमा चलखेल गरेको बजारवासीले गुनासो गरेका छन् ।

बेनी बजार संरक्षणका लागि चालु आर्थिक वर्षमा तीन करोड ५० लाख रुपैयाँ विनियोजन भए पनि कुन उपभोक्ता समितिसँग कति बजेटमा सम्झौता भएको हो भन्ने बारेमा कार्यालय र समिति दुवैले सार्वजनिक गरेका छैनन् । चार वटामध्ये ८ नं वडाको एउटा उपभोक्ता समितिका अध्यक्ष उत्तमकुमार कर्माचार्यले साना ढुङ्गा पर्खाल लगाउन प्रयोग गरेको र बजारवासीले गरेको आशङ्का सत्य नभएको प्रतिक्रिया दिनुभयो । उहाँले ग्याबियन जाली लगाउने ठाउँदेखि ४० मिटर वरपरका खेलुवा ढुङ्गाहरु प्रयोग गर्न पाइने सहमति भएको र सोहीअनुसार नै काम गरिएको बताउनुभयो । तर, नदीको बीचमा गाडिएर रहेका ठूल्ठूला ढुङ्गाहरु समेत एक्साभेटरले निकालेर फोडिएकाबारे भने उहाँले केही बताउन चाहनुभएन । अध्यक्ष कर्माचार्यले भन्नुभयो – “ग्याबियन पर्खालका लागि ठूला ढुङ्गा हाल्नुपर्छ पनि भन्ने अनि ढुङ्गा निकाल्दा विरोध पनि गर्ने ? यो दोहोरो चरित्र के का लागि ?”

अध्यक्ष कर्माचार्यले बेनी नगरपालिकासँग नदीका ढुङ््गा निकाल्न नदिने हो भने ढुङ्गा ल्याउने ठाउँ देखाइ देऊ हामी त्यहीँबाट ढुङ्गा किनेर ग्याबियन लगाउँछौं भन्दा नगरपालिकाले ढु्ङ्गा ल्याउने ठाउँ देखाइदिन नसकेको पनि जानकारी दिनुभयो ।

बेनी बजार संरक्षणका लागि म्याग्दी बेनीतर्फ कालीगण्डकी किनारमा ७६० थान ग्याबियन पर्खाल लगाइने सम्झौता भए अनुसार अहिले सोही अनुसार काम भइरहेको उहाँको दाबी छ ।

बजार संरक्षणका लागि चालु आवमा रु तीन करोड ५० लाख विनियोजन भएको भनिए पनि अध्यक्ष कर्माचार्यले पुग नपुग ३ करोड रुपैयाँको हिसाब मात्र देखाउनुभयो । कर्माचार्यका अनुसार प्याकेज ‘ए’का लागि ७३ लाख ८६ हजार ३ सय, प्याकेज ‘बी’ मा ७१ लाख नौ हजार, प्याकेज ‘सी’ ७१ लाख र प्याकेज ‘डी’ का लागि ७८ लाख रुपैयाँ रहेको छ । तर, बजेटको विषयमा बजारमा निकै कानेखुशी समेत हुने गरेको छ । उपभोक्ता समिति र निर्माण कम्पनीले यथार्थ बजेट सार्वजनिक नगरेको भन्ने गुनासो व्यापक छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here