तस्करसँग भिड्दै यी वन अधिकृत

काठमाडौँ । लकडाउनले कतिपय कर्मचारीलाई घरपरिवारसँग बस्ने, खाने र रमाइलो गर्ने अवसर दिएको छ । घरको चौघेरोमा खुट्टा खुम्च्याएर बसे पनि नेपाल सरकारले चैत महिना नढल्कदै खातामा तलबको तामेली गरिसकेको छ । तर कतिपय कर्मचारीको लकडाउनको डायरी खोतल्दा लाग्छ, लकडाउनको समय भनेको दिनरात हिड्ने, हिजोको थकान नमेटिदै आज दौडिहाल्ने, फेरी हिजो र आज जस्तै भोली पनि हिड्ने, कुद्ने, चुनौती फेस गर्ने, हाकिमको गाली खाने, परिवारको चिन्ता बढाउने ..यस्तै यस्तै दैनिकी छ केही कर्मचारीको ।

हुन पनि हो, लकडाउनले कसैको समयलाई ‘निरर्थक’ बनाएको छ भने कसैले यो समयलाई ‘सार्थक’ परिणत गरिरहेका छन् । कतिपय पेशा र व्यवसायका व्यक्तिका लागि लकडाउन दिक्दारको समय हो, तर कतिपयका लागि पेशागत क्षमता देखाउने ‘सुनौलो अवसर’ अनि राज्यले दिएको जिम्मेवारी इमान्दारीका साथ पुरा गर्ने ‘इमानको घडी’ जस्तै भएको छ ।

के प्रहरी, के वन कर्मचारी, के स्वास्थ्यकर्मी, के मिडियाकर्मी…। यस्ता केही पेशा छन् जसलाई थकान छैन, थकान मान्छु भन्दा पनि सुख्ख पाइदैन । आफ्ना काम अरुलाई ‘खेताला’ लगाएर पनि गराउन सकिदैन । त्यसैले होला, यी केही पेशामा संलग्न व्यक्तिहरुले यस्तो बेला कर्मठ, निष्ठावान अनि चरित्रवान हुनु जरुरी छ, देश र समाजका लागि ।

यहाँ कुरा गर्न खोजिएको वन कर्मचारीको हो । अहिले वनजंगलमा सबैका गिद्धे दृष्टि छन् । सद्धे मान्छे पनि दिनभरी घर बसेर साँझतिर वनजंगल पस्ने बेला हो यो । स्कुले डे«सबाला वनजंगल छिर्छन्, बन्दुक भिर्नेहरुको गन्तव्य पनि वनजंगल नै छ । अनि सदावहार रुपमा घाँस, दाउरा गर्ने महिला दिदीबहिनीको त के कुरा भो । वनजंगल पस्यो, जे भेट्यो, त्यही बोक्यो, हिड्यो । अधिकांशको लकडाउनको डायरी यसरी चलिरहेका बेला वनजंगलको सुरक्षार्थ खटिएका वन कर्मचारीले कसरी काम गरिरहेका छन् ? उनीहरुको दैनिकी कस्तो छ ? कस्तो रणनीतिका साथ काम भइरहेको छ फिल्डस्तरमा । यही विषयमा वनजंगलको सुरक्षार्थ खटिएका ‘हरिया सिपाही’ सँग नेपालकथाले खोतल्ने प्रयास गरेको छ ।

दुबैलाई थुनेर राखेको छु, हेरौँ अब के के हुन्छ ?

दिपक ज्ञवाली, डिभिजनल वन अधिकृत दाङ

खरो स्वभावका ज्ञवालीले शुक्रवार नेपालकथासँग भने, दाङ जिल्लामा दैनिक आठवटा सव डिभिजनका आठवटा टोली र दुई वटा टोली डिभिजन कार्यालयबाट मोबालाइज गरिरहेको छु । अस्ति मात्रै १५० क्युफिट काठ बरामद गरे । मान्छे थुनेको छु । १० जना न्यायिक हिराशतमा छन् । सात वटा मुद्धा दायर गरिसके ।

१० जनालाई कसरी राख्नुभएको सानो थुनुवा कोठामा ? नेपालकथाको जिज्ञासामा ज्ञवालीले भने, यस्ता अपराधीलाई छोड्न सक्ने आधार मैले देखिन अनि थप एउटा थुनुवा घर बनाएर ‘सोसियल डिस्टयासिङ’ मा राखेको छु ।

वन विभागका पूर्व महानिर्देशक रेशम डाँगी पनि हाल दाङमा बसेर ज्ञवालीलाई हौसला दिइरहेको कुरा उनले सुनाए । प्रदेश मूख्य मन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङमा बदमासी गर्नेलाई दण्ड गर्नुपर्छ भन्ने भन्दा पनि बदमासीलाई ढाकछोप गर्न दशौँ गुना प्रेसर आउने गर्छ । तर हठि स्वभावका ज्ञवालीले सक्ने जति काँध थापेका छन्, अनावश्यक प्रेसरलाई थेग्नलाई । उनका अनुसार आफुलाई ठूलै पहुँच भएको देखाउन खोज्ने केही व्यक्तिका सात वटा ट्याक्टर वन कार्यालयको प्राङ्गणमा खिया लगाउने गरी खडा गरिएका छन् ।

उनी एक दिन छक्क परे, एकै ठाउँमा ४०० क्यूफिट काठ लुकाएर राखेको मान्छे नै ‘पावर लगाउन’ ठूलै नेता कहाँ पुगेको देख्दा । अनि के गर्नु भयो त ? उनले भने अहिलेसम्म छाडेको छैन । हेरौँ अब कति थेग्न सकिन्छ ।

सामुदायिक वन, साझेदारी तथा राष्ट्रिय वनमा जता गएपनि हरिया रुख खसी बोका झै काटिएका दृश्य देख्दा मन बिरक्तिने गरेको उनले सुनाए । उनले नेपालकथासँग भने, हिजो मात्रै एक सामुदायिक वनभित्र दर्जनौँ सिसौका रुख काटिएको भेटिए । कुरा बुझ्दा सामुदायिक वनका अध्यक्ष र सचिवको मिलोमतो देखिएकाले दुबैलाई थुनेर राखेको छु । हेरौँ अब कुन कुन तहका अनुहारको फोनको घण्टी बज्छ ?

ज्ञवालीले भने, कुनै कर्मचारी पनि बिदामा बसेका छैनन् । मैले भन्ने गरेको छु, कि त गर होइन भने जागिर छाड । यो हाम्रा लागि ‘अपरच्यूनिटी’ हो । डिएफओ बदमास हुन्छन्, तिनले काठ तस्करसँग मिलेर वनजंगल खराप पार्छन् भन्ने आरोपलाई हामीले यही बेला खण्डन गर्न सक्नुपर्छ भनेर आफ्ना कर्मचारीलाई मोटिभेट गर्ने गरेको छु ।

अन्तमा केही छ भन्नु ? उनले भने, डिजी खड्का सरलाई धन्यबाद भन्छु । समाजका फटाहा, चोरसँग लडाई लड्दै गर्दा कोरोनासँग लड्ने साधन थिएन । विभागले केही मास्क, स्यानिटाइजर र पञ्जा पठाइदिएको छ । मैले हिजै फिल्डका स्टाफलाई पठाइसके ।

कसुर गर्नेलाई छाड्दिन, धेरै भए सरुवा होला

युवा, जोस, जाँगर भएका साहले जहाँ काम गर्ने अवसर पाए, करियरलाई ध्यान दिएर उच्च मनोवलका साथ काम गरे । कैलालीको पहलमानपुर इलाका होस् कि हुम्ला अनि भोजपुरतिर, काम गरेका सबै ठाउँमा राम्रै ‘परफरमेन्स’ दिएका साहले लकडाउनमा महोत्तरीको कमाण्ड सम्हालेका छन् ।

हेमन्त साह, डिभिजनल अधिकृत महोत्तरी

साहले शुक्रवार भने, म त हिडिसके फिल्डतिर । आज केही गम्भीर सूचना आएर सबै टोलीलाई मोबिलाइज गरेको छु । एउटा विशेष टिम अघि नै त्यतातिर हिडिसकेको छ । सामुदायिक वन तथा साझेदारीमा निकै बदमासी देखिन थालेको छ महोत्तरीमा । उनका अनुसार हालसम्म १३० क्युफिट सालको काठ बरामद भइसकेको छ । उनी अचम्मित हुने गरेका छन् जब गाउँकै मानिसले आफ्नौ नजिकैको वनजंगलमा आगो लगाएर आउन्छन् । यही समयमा कतिले सरकारी जग्गा अतिक्रमण गरी घर बनाउन थालेका छन् । हिजै मात्र उनले सरकारी जमिनमा बनाएको एउटा घर भत्काएर राती कार्यालय फर्केको जानकारी दिए ।

जिल्लाको दक्षिणी भेगमा खासै जंगल नभएकाले राजमार्ग भन्दा उत्तरको क्षेत्रलाई साहले केन्द्रमा राखेर योजना बनाउने गरेका छन् ।

नेपालकथासँग उनले भने, सबै स्टाफ दिनभरी दगुरिहेका छन् । मोटिभेसन त खासै छैन । कोरोनाको डर छ, साधन स्रोत छैन । सबै स्टाफको घरबाट सुरक्षित हुनु है भनेर फोन आउन्छ । घरमूली यसरी हिड्दा घरपरिवारलाई चिन्ता हुनु स्वभाविकै हो । बल्ल बल्ल विभागले हिजो मात्र मास्क, स्यानिटाइजर र पञ्जा पठाइदियो ।

महोत्तरीमा यो अवधिमा सबैभन्दा बढी वन्यजन्तुको उद्धार भएको छ । बस्ती पसेका चार वटा निलगाईको उद्धार गरी वनतिर छोडिएको उनले जानकारी दिए । तस्करले काठ काट्न आधुनिक खालका साधन प्रयोग गर्ने भएकाले काठ काटेको आवाज पनि नआउँदा कतिपय ठाउँमा काठ सप्लाई भइसकेपछि काठ चोरीका थाहा हुने गर्छ । साहले भने, गस्तीमा जाँदा मात्र रुखका ठुटा दखिने गरेका छन् तर हामीले शंका लागेको ठाउँमा छापा मारिरहेका छौँ ।

उनले भने, हामी अब रणनीति परिवर्तन गर्दैछौँ । सकभर तस्करलाई ठाउँको ठाउँमा पक्रन सके हुन्थ्यो भन्ने हिसावले काम गरिरहेका छौँ ।

जिल्लाको पूरै टिम लागेर मुश्किल मुश्किलले काठ सहित बदमासी गर्ने मानिस पक्रन नपाउँदै ‘छोडदिन’ कल आउने गरेको छ । उनले भने, तर मैले त्यस्तालाई सकभर छोड्ने गरेको छैन ।

राजनीतिक दवावलाई कति थेग्न सकिन्छ ? भन्ने जिज्ञासामा उनले भने, आफ्नो ब्रहमले देखेको भन्दा दायाँबायाँ गर्दिन । कसुर गर्ने कसैलाई छाड्दिन, धेरै भए सरुवा होला, जता गए पनि कामै गर्ने त हो नि ।

शिकारीले हामीलाई नौ राउण्ड फायर खोले

बिशाल घिमिरे, डिभिजनल वन अधिकृत, मोरङ

लकडाउनका समय निकै जटिलताका साथ गुज्रिरहेका छन् । चोरी शिकार, काठ, दाउरा कटानी, आगो लगाउने, वन डढेलो लगायतका समस्याका बीच हामीले सक्रियताका साथ काम गरिहेका छौँ, नेपालकथासँग शुक्रवार घिमिरेले भने ।

सायद लकडाउनमा वन कर्मचारीको आउजाउ हुँदैन भन्ने लागेर होला, शिकार खेल्ने क्रम निकै बढेको सूचना प्राप्त भयो । घिमिरेले भने, शसस्त्र वन रक्षकको टोली तयार पारेर लागे वन कर्मचारी लागे जंगलतिर । टाढैबाट फायर खोले शिकारीले । कम्ति हो र ? नौ राउण्ड फायर खोलेको दुश्मनले भाग्यबस कुनै कर्मचारीलाई काडो जत्ति पनि कोतारेन । ठूलो दुर्घटनाबाट बचियो ।

घिमिरे भन्छन्, हाम्रा केटाहरुले पनि जवाफी सात साउण्ड फायर खोले । अन्ततः तीन जना शिकारी सहित दुई वटा भरुवा बन्दुक र गोली बरामद भयो । बाल बाल बाँचेर फर्किनुपर्ने अवस्था भयो ।

ज्यानमारा शिकारीहरु अहिले न्यायिक हिराशतमा छन् । लकडाउनको समयमा सबैलाई घरभित्र बस्ने सरकारको उर्दि जारी छ । यही मौका छोपेर बदमास सोचका मानिसहरु जंगलमा शिकार खेल्ने तयार हुन्छन्, अनि यो पदमा बसेर कसरी बस्न सकिन्छ ? मिठासिला घिमिरे गस्तीकै क्रममा रहेका बेला शुक्रवार नेपालकथासँग भने ।

सो घटना पछि अहिले मोरङमा शिकारीले ‘हन्टिङ स्टाटिजी चेञ्ज’ गरेका छन् । घिमिरे भन्छन्, त्यो घटना पछि हामीले गस्ती बढायौँ । सुराकीको संयन्त्रलाई सक्रिय पार्यौँ । अब उनीहरु बन्दुक लिएर होइन, पासो थापेर बस्न थालेका छन् । पछिल्ला दिनमा जंगलबाट दर्जनौँ पासो बरामद गरिसकेका छौँ ।

राती शिकारीसँग जुध्ने, बिहान र साँझ दाउरेसँग भिड्ने काम भइरहेको छ । साइकिल,मोटरसाइकिलमा दाउरा बोक्ने ताँती देखिन्छ । उनले भने, कति दिन टिक्लान् अब यहाँका वनजंगल ? यसैगरी हरेक साँझ बिहान दाउराका लागि मात्र साना पोथ्रा, बुट्यान मात्र काट्ने हो भने ? यो चिन्ता यहाँ न राजनीतिक नेतृत्व न समाजका बौद्धिक वर्गमा देखिएका छ ।

१२ वटा सव डिजिभनलाई पूर्ण रुपमा परिचालन गरिएका छन् । सवारी साधनको समस्या छैन । कोरोनासँगको डर थियो, हिजै विभागले केही सामान पठाइदिएको छ, उनले भने ।

देशबिदेशबाट मानिस गाउँघरमा भित्रिएका छन् । बेरोजगारी बढेको छ । वनजंगलमा कुखुरा पोलेर पिकनिक खाने त कति भेटिन्छन भेटिन्छन् । अनि आगो लगाइदिन्छन् । को को सँग लड्ने ? भिड्ने ? कता हेरिसक्ने ? काम गर्न निकै गाह्रो छ तर पनि मैले मेरो मातहतका कर्मचारीलाई मोटिभेसन गरिरहेको छु ।

राज्यले दिएको जिम्मेवारीबाट पन्छिन सकिदैन । वन जंगल नरहे हामीले कहाँ जागिर खाने ? वनजंगल अरुले जोगाउने होइन, हामीले नै हो भनेर हरेक दिनजसो स्टाफ साथीहरुलाई पुर्नताजगी गराउने काम पनि भइहेको छ । वन कार्यालयले गर्ने रेगुलर काम पनि भइरहेका छन् । यति बातचित हुँदा हुँदै घिमिरेसँगको टेलिफोन सम्पर्क टुट्यो । सायद उनी गस्तीमा निकै पर जंगलभित्र पसि सकेका थिए होलान् ।

काठ चोरको अनुहार हेर्दा अचम्म लाग्छ

पूर्णेश्वर सुवेदी, डिभिजनल वन अधिकृत, पूर्वी नवलपरासी

सुवेदीले वन विभागभित्र इमान्दार कर्मचारीकै छवि बनाएका छन् । राष्ट्रिय निकुञ्ज विभागको रेञ्जर देखि भूसंरक्षण अधिकृत हुँदै हाल वन तथा भूसंरक्षण विभागका उपसचिव सुवेदी गण्डकी प्रदेशको एकमात्र तराईको जिल्ला पूर्वी नवलपरासीका डिभिजनल वन अधिकृतको जिम्मेवारीमा छन् । उनी भन्छन्, लकडाउन त हाम्रै लागि लागेको जस्तो भएको छ । बिहान उठ्यो, ठाउँ ठाउँबाट काठ चोरी, कटानी, आगलागी तथा शिकार गरेको सूचना आउन्छन् । सक्ने ठाउँमा आफै दगुर्ने हो, बाँकी ठाउँमा अरु कर्मचारीलाई दगुराउने काम भएको छ । जीवनभर तराईदेखि हिमालसम्म जागिर गर्दा हिडेकै हो, तर यस पटकको हिडाई त ‘ननस्पट’ झै भएको छ । उनले लकडाउनका थकाई डायरी खोतल्दै भने ।

साविकको नवलपरासी जिल्लालाई टुक्रयाएर पूर्वी नवलपरासी बनाएको छ । जिल्लामा अझै सात जना रेञ्जर छैनन्, ३४ वन रक्षक छैनन्, काम गर्नका लागि खरिदार र सुब्बाको मुख अझै देख्न पाइएको छैन । सुवेदी भन्छन्, आफु फिल्डमा जाँदा अरुलाई खरिदार र सुब्बाको काम गर भन्नुपर्छ, अरुलाई फिल्डमा पठाउँदा त्यो काम आफुले गर्नुपर्छ ।

उनी खटेकैले अरु कर्मचारी पनि रातदिन खट्ने गरेका छन् । एकैदिन झण्डै ३०० क्यूफिट चिरान काठ बरामद गर्न सफल सुवेदीले नेपालकथासँग भने, दिनभरको हिडाईले खास खाना खान नि पाइदैन, अनि ग्याष्टिक देखि के के रोग बढ्ने पो भइरहेको छ । चुप लागेर बस्ने मनले मान्दैन । कि गर्नुपर्यो कि जागिर छाड्नु पर्यो । मैले यहाँका कर्मचारीलाई पनि यही भनेको छु । अनि आफै खट्छु, अरुलाई पनि दिनभरी खटाउन्छु ।

कस्सिएर लागेको छु, दिनभरीको काठ चोरी गर्ने फटाहा पक्रेर उनीहरुको अनुहार हेर्दा अचम्म लाग्न थालेको छ । उनले भने, मोटरसाइकिलमा काठ बोकेर ल्याउन्छन्, लकडाउनमा मानिसहरुको बास नै जंगलमा हुन थालेको छ । जे भेटायो, त्यही बोकेर ल्याउन्छन् । राम्रा त्यही छन्, नराम्रा त्यही छन् । कतिलाई पक्राउ गरिसक्नु ? पक्राउ गरेर कार्यालय नपुरयाउँदै ५० थरिका फोन आइहाल्छन् ।

उनले भने, जति ठूलो मान्छेले भने पनि दोषी प्रमाण पुगेको मानिसलाई मैले छोडेको छैन, निर्दाेष मानिसलाई कसैले फोन नगरेपनि थुनेर राखेको छैन । म आत्तिएको पनि छैन र सुत्न पनि पाएको छैन ।

कोरोना भाइरसप्रति सुवेदीको टिप्पणी यस्तो छ, कोरोनाको संक्रमण बढी रहेको बेला मानिस पक्राउ गर्दा डर लागि रहन्छ । हाम्रो विभागका महानिर्देशक मनबहादुर खड्कालाई धन्यबाद दिन चाहन्छु, मास्क, स्यानीटाइजर, पञ्जा सम्म पठाइदिनुभएको छ । अब काम गर्न अलि हौसला पनि बढेको छ ।

बाटो बन्द छन् तस्करीलाई राज भएको छ

माधव देव, डिभिजनल अधिकृत, सर्लाही

‘‘जहाँ खुला छ, त्यही सबैको आँखा पर्ने । राम्रा, नराम्रा, चोर, फटाहा, भएभरका सबै गाउँघरमै थुप्रिएका छन् । खाली दिमाग, सैतान हाजिर भने झै भएको छ, सर्लाही जिल्लामा त… सर्लाहीका डिभिजनल वन अधिकृत माधव देवले शुक्रवार नेपालकथासँग भने ।

उनले भने, म त अचम्म पर्न थालेको छु । गाउँघरमा हरेक मानिसका बीच मौका यही हो, यति बेला जंगल नकाटे कति बेला काट्ने भन्ने प्रतिष्पर्धा जस्तै भइरहेको छ ।

सर्लाहीमा चोरी शिकारका घटनामा पक्राउ परेको कोही छैन । तर पनि ठाउँ ठाउँमा पासो थापेको निकै भेटिइ सके । गस्तीका दौरानमा पासो संकलन गर्दा स्टापहरु पनि अचम्म पर्न थालेका छन् । शिकारकै लागि आगो लगाउने पनि जताततै देखिन थालेका छन् ।

केही दिन अघि शिकार गरिरहेको सूचना पाएपछि घेरा हाल्दा शिकारी फेला पार्न सकिएन । हामीले शिकार हुने सम्भावित सबै ठाउँलाई नजिकबाट हेरिरहेका छौँ ।

राजमार्गमा प्रहरी प्रशासनको चेक कडा हुने गरेको छ । लकडाउनका बेला कसैलाई आवत जावत गर्न दिइएको छैन । राजमार्ग भन्दा दायाँबायाँ भित्रि बस्तीमा कोरोनाको डरले आवत जावत गर्न नदिइने भन्दै बाटो ‘ब्लक’ गरिएका छन् । बस्ती बस्तीका बाटो बन्द छन् अनि तस्करीलाई राज भएको छ । हामी गाडीमा जाँदा जाँदै तस्कर भाग्ने गरेका छन् ।

उनले भने, अहिले त सबैका हातहातमा फोन छ । जंगलको किनार नपुग्दै वन कर्मचारी आएको खबर तस्करलाई पुग्छ । अनि काठ बरामद गरेपनि मानिस भेटाउन सकेका छैनौँ ।

उनले भने, रातदिन जंगल पसेर दाउरा ल्याउनेको भने ताँती लाग्न थालेको छ । साइकिल, मोटरसाइकिलमा दाउरा बोक्नेको त हिसाबै छैन । दर्जनौ सवारी साधन सहित मान्छे पक्राउ गरेका छौँ । पक्राउ गर्ने बित्तिकै तीन तहका सरकारका मान्छेको फोन आउनु त अब साधारण कुरा भइहाल्यो । स्थानीय स्तरका पहुँचबाला व्यक्तिको त कति र कुन हदसम्मको फोन आउन्छ । त्यसको त के कुरा सकिन्छ र ?

दैनिक गस्तीको योजना अनुसार स्टाफहरु परिचालन भइरहेको जानकारी उनले दिए । उनले भने, लकडाउन त हामीलाई वनजंगलको रेकी लगाउने अवसर भएको छ । यसलाई सकारात्मक रुपले हामीले लिएका छौँ । कुनै पनि स्टाफ बिदामा छैनन् । रातदिनको गस्तीलाई अझै निरन्तरता दिइने योजना छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here