कस्तुरीमृग पासो प्रकरण : प्रत्यक्षदर्शीको बयान

काठमाडौँ । सगरमाथा राष्ट्रिय निकुञ्जको खुम्जुङ अन्तर्गत क्याङ्जु क्षेत्रको जंगलमा सिकारीले पासो थापेर सात वटा कस्तुरीमृग र एउटा गिद्ध मारेको घटना सार्वजनिक भएको छ । सो घटना फोटो सहित पहिलो पटक खबर सार्वजनिक गर्ने व्यक्ति खुम्जुङ गाउँका दावा नुरु शेर्पाले नेपालकथासँग आधा घण्टा लामो सम्बाद गर्नुभएको छ ।

उनै शेर्पासँग नेपालकथाको सम्बाद ।

शेर्पा :हेर्नुहोस्, यो दुखद घटना भयो । हामीलाई निकै दुख्ख लागिरहेको छ । हामीले वन्यजन्तु पाल्ने तर बाहिरको मान्छे आएर शिकार गर्ने, अनि निकै असन्तोष भएको छ यहाँको मान्छेहरु । गाउँमा पूजा चलिरहेको बेला यस्तो नराम्रो दुर्घटना भयो ।

हामीले धेरै पटक निकुञ्जको मान्छेसँग चोरी शिकार बढ्ने संकेत पाएर खबर गरेको हो । अस्ति पनि एक शिकारीलाई स्थानीय बासिन्दले पक्रेर सेनाकोमा बुझायो । सेनाले निकुञ्जमा पठाएछ, निकुञ्जले छोडि दिएछ । यो निकुञ्ज पनि कस्तो हो, शंकास्पद मान्छे यस्तो समयमा हाम्रो वनजंगलमा किन आयो ? यो त जस्ले पनि बुझ्न सक्छ । संखुवासभाबाट आएको व्यक्तिसँग शिकारी हुन सक्ने केही प्रमाण भेटेर पनि केही दिन राखेर निकुञ्जले किन छाड्यो यसमा हामीलाई शंका लागिरहेको छ ।

हामी खुम्जुङ गाउँमा बस्छौँ । हाम्रो गाउँभन्दा तल सगरमाथा टे«किङ रुट छ, त्यो टे«किङ रुटबाट यो घटनास्थल कम्तिमा २०० मिटर तल दुधकोशीतिर छ । लकडाउन भएकाले हामी गाउँबाट तल झर्दैैनौँ । टे«किङ रुटमा पनि शान्त छ । हाम्रो शेर्पा समुदायमा कुल पूजा भएकाले कुल पूजामा ध्वजा लगाउन लामो निगालो चाहिन्छ । त्यसैले हाम्रो गाउँकी हितकुमारी राई निगालो काट्न तल गाकी रहेछ । उ राईकी छोरी हो तर शेर्पासँग बिहे गरेकी । गाउँमा उसलाई साइली भनेर बोलाइन्छ ।

साइलीले कस्तुरीमृग मरेको देखेपछि हतार हतारमा गाउँमा आएर भनि । अनि हामीले निकुञ्ज र सेनालाई खबर गर्यौँ । त्यति बेलासम्म हिजो (आइतवार) बिहानाको १० बजिसकेको थियो । अनि वडाअध्यक्ष लक्ष्मण अधिकारी सहित हामी पनि तल झर्यौँ । सबै ठाउँमा हेर्यौँ धेरै नराम्रो अवस्था थियो । कस्तुरीमृगको मासु काटेर यत्रतत्र फालेको थियो ।

घटना हेर्दा तल दूधकोशीमा साँघु हालेर शिकारी पारीपट्टीको जंगलबाट आएको देखियो । तीन वटा कस्तुरीको बिना निकालेको भेटियो । गिद्धको शरिर सडीसकेको थिएन । एउटा भाले हिजो अस्ति मात्र पासोमा परेको रहेछ । त्यसको बिना निकाल्न पाएको रहेनछ ।

त्यो ठाउँ भिरालो छ । हाम्रो गाइवस्तु चर्ने सक्ने ठाउँ हो । घाँस काटि राखेको ठाउँ हो तर वन्यजन्तु मजाले आइरहने ठाउँ हो । दूधकोशी तरेपछि धेरै माथि उक्लनु पर्दैन । दूधकोशीमा साँघु पनि भेटियो र शिकारी हिडडुल गरेको, शिकारी धेरै बेरसम्म बसेको ठाउँ पनि देखिन्छ । सायद केही दिन शिकारी ढुकेर बसेको हुन सक्छन् ।

अहिले गस्ती त जिरो नै हो । गस्ती आउने जाने गरेको भए, यस्तो हुँदैनथ्यो । लकडाउनको बेला हामी पनि बाहिर ननिस्किने अनि ट्रेकिङ रुटमा पनि कोही आवतजावत छैन । यस्तो बेला गस्ती हुनुपर्ने हो, पहिले नेपालबन्दको बेला समेत गस्ती हुन्थ्यो अहिले त के भो ? गस्ती देखिदैन ।

अहिले यहाँ आएको हाकिम पहिले यतै रेञ्जर थियो रे । अहिले हाकिम भएर आएको भन्ने सुनिन्छ । वन समितिले धेरै पटक पत्र काटेर बोलाको हो तर ऊ आउदै आउँदैन । अस्ति पनि शिकारीलाई बुझाउँदा किन छाड्यो त्यो पनि थाहा छैन । हामीसँग सरसल्लाह र बसउठ छैन ।

त्वाङबोचे भन्दा तल जाने दुईवटा बाटो बनिसकेका छन् । एउटा बाटो नभए अर्काे त छदैछ । फेरी जंगलको बीच बाटो भएर अर्काे बाटो काट्न थालेको छ । यहाँको हाम्रो समितिसँग कुनै छलफल, सोधपुछ नगरेर किन रुख काटेको हो ? दुई वटा बाटो हुँदा हुँदै किन अर्काे चाहिएको हो ? यो त हामीलाई उसले बुझाउन सकेको छैन । अब हामीसँग उसको चिनजान भएको छैन । बैठकमा बोलाउँदा समेत आउँदैन भन्छ हाम्रो साथीहरुले । त्यत्रो ठूलो पढेलेखेको हाकिमलाई हामीले सम्झाउन सक्दैनौँ होला ।

यहाँ एउटा होटल छ । त्यो होटललाई दिने गरेर रुख काटेको हामीले थाहा पाइसक्यौँ । बाटो काट्ने भन्ने तर काठ होटललाई दिने भन्ने कुरा गाईगुई चलेको यहाँ कानमा परिसकेको छ । त्यसैले हिजो भएको घटना र काठ काटेको कुरालाई लिएर अहिले हामी सबै वनको पदाधिकारी र सर्वसाधारण गाउँलेको मिटिङ भइरहेको छ ।

हाम्रो कसैको पनि सन्तुष्ट छैन, काठ काट्ने कुरामा । अब त्यो बाटो काट्न बन्द गर्ने कुरा चलिरहेको छ । म पनि बैठकबाट उठेर बाहिर आएको हो । होटललाई दिन काठ काट्ने अनि बाटो बनाउने भन्ने कुरा गलत हो । यस्तो गलत काम हामीले त गर्दैनौँ भने निकुञ्जले हाम्रो सल्लाह विना कसरी गर्न सक्छ ?

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here