पोथी खोज्न नेपाली गिद्ध जम्मु कास्मिर !

काठमाडौँ । नवलपरासीको कावासोती पिठौलीबाट उडेको नेपाली गिद्धले १,१०० किलोमिटर पार गरी भारत र पाकिस्ताको सीमा क्षेत्र जम्मु कास्मिर पुगेको छ । सो गिद्धमा स्याटेलाइट जडान गरिएकोले सो दुरी पार गरेको रेकर्ड जानकारीमा आएको हो । हाल पनि सो गिद्ध जम्मु कस्मिरमा बिचरण गरिरहेको देखिन्छ । सो गिद्ध एकपटक फर्केर नेपालको शुक्लाफाँटा क्षेत्रसम्म पुगेका पनि देखिएको छ ।

नेपाल पंक्षी संरक्षण संघले त्यो गिद्धलाई यहाँको रैथाने गिद्ध भनेर स्याटेलाइट ट्याग गरेको छाडेको हो । त्यो गिद्धसँगै स्याटलाइट ट्याग गरिएका अन्य गिद्ध मुश्किलले पश्चितर्फ बाँके राष्ट्रिय निकुञ्ज हुँदै दक्षिणमा लखनऊसम्म र पूर्वमा धनुषाको आकाशसम्म उडान भरेको देखिन्छ । उससँगै ट्याग गरिएका गिद्धले हालसम्म बढीमा १०० किलोमिटर भन्दा बढी पार गरेका छैनन् भने यो गिद्ध मात्र किन १,१०० किलोमिटर पार गरेर त्यति पर पुग्यो ? यो अध्ययनको विषय भएको छ ।

नेपाल पंक्षी संरक्षण संघ ( बिसिएन) ले नेपालमा गिद्धको संरक्षणमा लामो समयदेखि काम गरिरहेको छ । संघकै प्रयासमा नेपालमा गिद्धमा स्याटलाइट ट्याग लगाउने काम भइरहेको छ । जसले गर्दा गिद्धको बिचरण, आनीबानी, आहारको अवस्था लगायतको विषयमा जानकारी लिन सहज भइरहेको छ ।

कृष्णप्रसाद भूसाल , गिद्ध संरक्षण कार्यक्रम अधिकृत

बिसिएन गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्णप्रसाद भूसालका अनुसार यो गिद्ध हिन्दकुश हिमालयको फेदैफेद बिचरण गर्दा गर्दै जम्मु कास्मिर पुगेको हो । यो गिद्ध मात्र किन यति टाढा पुग्यो ? नेपालकथाको जिज्ञासामा उनले भने, यही कारणले हो भन्ने त सकिने अवस्था छैन । नेपालकै रैथाने गिद्ध भनिएको यो गिद्धले यति लामो दुरी पार गरेको देख्दा थप अनुुसन्धानका विषय भएको छ ।

उनले अगाडि भने, कि यो गिद्ध नेपालको होइन, उतैको रैथाने हो, घुम्दै फिर्दै हामीकहाँ आइपुग्दा हामीले स्याटेलाइट ट्याग गरिदियौँ । पछि बिचरण गर्दै आफ्नै बासस्थानतिर फर्केको हो । अर्काे कारण पनि हुन सक्छ, नेपाली रैथाने गिद्ध भएपनि आहार खोज्दै, डुल्दै जाँदा त्यहाँ पुगेको पनि हुनसक्छ ।

भूसालले नेपालकथासँग मंगलबार दिउसो भने, कि यो गिद्ध पोथीको खोजीमा त्यता गएको पनि हुन सक्छ । गिद्धका अरु प्रजातिहरु राज गिद्ध, खैरे गिद्ध लगायतका गिद्धले जोडी खोज्नका लागि लामो दुरी पार गर्ने गरेका छन् । यो गिद्ध त्यही कारणले पनि त्यति टाढा पुगेको हुनसक्छ ।

नेपालको रैथाने गिद्ध डंगर प्रजातिको गिद्ध हो । यस अघि स्याटेलाईट ट्याग जडान गरिएका यी गिद्धको अनुगमन गर्दा बढीमा १०० किलोमिटरको अर्धव्यासमा बिचरण गरेको भेटिएको छ । हालसम्मको नियमित अनुगमनमा मूलत नेपालको करीव २० जिल्लाको २५ हजार बर्ग कि.मी. क्षेत्रसम्म ती गिद्धले विचरण गरेको रेकर्ड प्राप्त भएको छ ।

प्रकृतिबाट गिद्ध लोप हुनबाट बचाउने उद्देश्य अनुसार चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध संरक्षण तथा प्रजनन केन्दमा हुर्काईएका र त्यहा जन्मिएका गिद्धलाई सुरक्षित प्राकृतिक वातावरणमा पुर्नस्थापना गराउने लक्ष्य अनुसार बिसिएनको प्राविधिक सहयोगमा सन् २०१७ मा ६ र सन् २०१८ मा १२ र सन् २०१९ मा १३ डंगर गिद्धलाई स्याटेलाईट ट्याग जडान गरी प्राकृतिक बासस्थानमा छाडि नियमित अनुगमन भइरहेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको गिद्ध पुर्नस्थापना कार्ययोजना २०१६–२०१९ अनुसार यो कार्यलाई अघि बढाईएको छ ।

नवलपरासीको कावासोतीमा रहेको जटायु रेष्टुरेन्ट आसपासको क्षेत्रमा बस्ने गरेका यी गिद्धहरुले पछिल्लो करीब डेढ महिना यता १९० कि.मी टाढासम्म बिचरण गरेका छन् । स्याटेलाईट ट्यागले पठाएको तथ्याङ्ख केलाउदा नौ वटा गिद्धले करीव १७ हजार वर्ग कि.मी. क्षेत्रमा विचरण गरेको देखिएको छ ।

गिद्ध संरक्षण तथा प्रजनन केन्द्रको स्थापना र सञ्चालनमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पन्छी संरक्षण संघको संयुक्त अभियानमा बेलायती संस्था आरएसपिवी र जेडएसएलको महत्वपूर्ण सहयोग रहेको छ ।

यस केन्द्रमा राख्नको लागि सन् २००८, २००९ र २०१० मा पश्चिम नेपालका जिल्लाहरु नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग, कैलाली, कञ्चनपुर, अर्घाखाँची, पाल्पा, स्याङ्जा र कास्की बाट ६० वटा डंगर गिद्धका बच्चाहरु संकलन गरीएको थियो । यस केन्द्रमा राखिएका गिद्धले सन् २०१२ देखि अण्डा पार्न सुरुवात गरेका थिए भने हालसम्म १८ वटा बच्चा कोरलिएका छन् ।

यहा हुर्काइएका गिद्धलाई प्राकृतिक बासस्थानमा छाड्नु अघि नवलपरासीको कावासोती, पिठौलीमा रहेको रिलिज एभिएरीमा ल्याई करीव ८ महिनासम्म प्राकृतिक बासस्थान र जंगली गिद्धसँग घुलमिल गराएर मात्र प्राकृतिक बासस्थानमा छाडिन्छ ।

तस्विर ः बिसिएन

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here