लप्सीले चिनाएको वनपाले

काठमाडौँ । त्यति बेला जंगलभरी फलेको लप्सीको खासै महत्व हुन्थेन । गाउँघरमा प्रशस्त पाइने दही, मोही, गोरस र मौसमी तरकारीले लप्सीको अचार प्रति स्थानीय बासिन्दाले त्यति ध्यान पनि दिदैनथे । लप्सीको अचार बाहेक अरु कुरा बन्छ भन्ने पनि स्थानीय बासिन्दालाई थाहा थिएन ।

२०४६ सालको परिवर्तन भयो । मान्छेहरु राजनीतिक रुपमा स्वतन्त्र भए जस्तै हिडडुल, खानपान, रहन सहनमा पनि स्वतन्त्रता र परिवर्तन आयो । कास्कीको अन्नपूर्ण गाउँपालिका अन्तर्गत लक्ष्मी देउरालीका मान्छे देश बिदेश जाने क्रम बढ्यो । यो क्रमले लप्सीका परिकार अचार बाहेक अरु बन्छन् भन्ने पनि बिस्तारै जानकारीमा आउन थाल्यो ।

२०५० सालमा गाउँ नजिकैको लप्सीको जंगल वनपाले सामुदायिक वनको रुपमा स्थानीय समुदायलाई हस्तानतण भयो । जंगलमा लप्सी, चिलाउने, कटुस, उत्तिस र चन्दन बढी मात्रामा रहेकाले यसलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा जिल्ला वन कार्यालयसँग स्थानीय उपभोक्ताले सल्लाह मागे ।

१६० घरघुरी उपभोक्ता रहेको यो सामुदायिक वनले लप्सीलाई सदुपयोग गर्ने रणनीति बनाए अनुरुप लप्सी उद्योगको स्थापना भयो ।

हाल लप्सी उद्योगबाट अचार, गुलियो र पिरो लप्सीको क्याण्डी निर्माण गरी यहाँको समितिले आयआर्जन गरिरहेको छ । वनपाले सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष चुडामणी पौडेलका अनुसार सामुदायिक वनका रुपमा स्थानीय समुदायले संरक्षण गर्ने जिम्मा पाएपछि हालसम्मको अवधिमा लप्सीले दिएको कमाईले समुदायको विकास र सचेतना जगाउने काम भइरहेको छ ।

चुडामणी पौडेल,कोषाध्यक्ष

पौडेलले भने, लप्सीले आम्दानी पनि दिएको छ । त्यसै अनुसार काम पनि गरेका छौँ । हरेक वर्ष तोकिएको मितिमा लेखा परीक्षण गर्छौँ । समुदायमा काम गर्नु पर्दा सबैको सहमति र समन्वयमा गर्ने गरेका छौँ । त्यसैले हामीलाई जिल्ला स्तरबाट, गाउँविकास समितिको स्तरबाट र राष्ट्रिय स्तरबाट पनि बेला बेला पुरस्कार पाउने गरेका छौँ ।

वनजंगलमा लप्सीलाई मात्र हुर्काइएको छैन । प्रशस्त पानी भएकाले अम्रिसो, अलैचीलाई पनि प्रवद्र्धन गरिएको छ । एक हजार भन्दा बढी बिरुवा अलैचीको रोपण गरिएको छ भने त्यतिकै संख्यामा अम्रिसो रोपण गरिएको जानकारी कोषाध्यक्ष पौडेलले दिए ।


बढे वन्यजन्तु

वनजंगल संरक्षण गर्दा मृगको बथान देखिन थालेका छन् । कालिज, तित्रा त रुख रुख र झाडी झाडीमा देखिन्छन् । अहिले जंगल कति बाक्लो भएको छ भने चितुवा लुकेर बस्छ, जंगलमा जानै उपभोक्तालाई समेत डरको मर्नु छ, पौडेलले भने ।

चितुवाको आतंक निकै बढेपछि राहत बाँड्नलाई समितिका दुख्ख भयो । पौडेलले भने, चितुवाले धेरैका पाठा बाख्रा खायो । राहत दिन नसकिने स्थिति पो पैदा भएको छ ।

चोरी शिकारको समस्या यहाँ छैन । विश्व वन्यजन्तु कोष हरियो वनको सहयोगमा स्थानीय तहमा चोरी शिकार नियन्त्रण समुहलाई सक्रिय पारियो । वन डढेलो नियन्त्रण गर्न हरेक वर्ष अग्नी रेखा निर्माण र झाडी सफा गर्ने काममा स्थानीय उपभोक्तालाई खासै भनिरहनु पर्दैन ।

संरक्षण प्रति यहाँका उपभोक्ता निकै सचेत छन् । कोषाध्यक्ष पौडेले भने, आँखा झिम्क्याउने बित्तिकै बदमासी होइन, झन सचेत हुने यहाँका उपभोक्ता छन् । न त काठ दाउराको चोरी हुन्छ न वन्यजन्तुको चोरी शिकार नै । यहाँ अतिक्रमणको समस्या पनि छैन ।


लप्सीलाई बढाउने योजना

लप्सीको अचार र क्याण्डीले पोखरा, कुश्मा, बागलुङ बजार, चितवन, बुटवल देखि काठमाडौँसम्म खुब प्रचार पाएको यो ठाउँका बासिन्दा अझै लप्सीको जंगल र व्यवसाय बढाउने अभियानमा जुटेका छन् ।

यो कार्यका लागि डिभिजनल वन कार्यालय, संघीय सरकारको वन तथा भूसंरक्षण विभाग र विश्व वन्यजन्तु कोषको हरियो वन कार्यक्रमले सहयोग पुर्याएको पौडेलले बताए ।

उनले भने, हामीलाई फेकोफोनले सहयोग गर्न सुरु गरेपछि सबै निकायले हामीलाई माया गरे । सुरुका दिनमा फेकोफोन आएर हाम्रो काम हेर्यो । उसले धेरै सहयोग गरेको हो । त्यसपछि त सबै निकायले गर्दा अहिले हामीसँग लप्सी उद्योगसँग झण्डै एक करोड बराबरको मेसिन तथा अन्य सामानहरु छन् ।


कोल्ड स्टोर स्थापनको पहल

कोरोनाले लप्सी उद्योगको सबै कारोवारलाई ठप्प पार्यो । दुई वर्षसम्म खासै कारोवार भएन यो समितिको । लप्सी मौसमी फल भएकोले यसको मूल्य बढी पाउनका लागि कोल्ड स्टोरको आवश्यकता महसुस यहाँका उपभोक्ताले गरेका छन् ।

कोल्ड स्टोर निर्माणका लागि समितिलाई वन तथा भूसंरक्षण विभागले सहयोग गर्ने भएको छ । प्रदेश सरकारले पनि सहयोग गर्ने बचन दिएको छ ।

कोषाध्यक्ष पौडेलले भने, लप्सी मौसमी फल भएकाले यसलाई दुई÷चार महिना कोल्ड स्टोरमा राखेर राम्रो मूल्य पाउन सकिन्छ कि भन्ने योजना हामीले बनाएका छौँ । हाम्रो सपना पूरा होला कि भन्ने आशा जागेको छ ।

लप्सीको अचार र क्याण्डीको बजार अझ व्यवस्थापन गर्न सके यहाँको समितिले बार्षिक लाखौँ रुपियाँ कमाइ गर्न सक्ने अवस्था देखिएकाले यहाँका उपभोक्ता कोल्डस्टोरका प्रवन्ध गरेर आगामी दिनमा संरक्षणलाई व्यवस्थित बनाउने योजनामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here