डोजरले वन बिनाश

काठमाडौँ । बस्ती माथिको बाक्लो सल्लोका जंगल । पुस लाग्दा नलाग्दै जंगलमा देखिने आगो जेठको पानी नपर्दासम्म टुट्दैनथ्यो । जब सामुदायिक वनको रुपमा तत्कालिन जिल्ला वन कार्यालय म्याग्दीले २०५३ सालमा समुदायलाई हस्तान्तरण गर्यो ।

सल्लोका वन आगो कति हो लाग्ने ? त्यतिबेलाको घटना सम्झँदै म्याग्दी जिल्लाको गलेश्वर ठूला सल्लेरी सामुदायिक वनका अध्यक्ष पुण्यबहादुर चोखाल भने, रातदिन आगो लागेको देखिन्थ्यो । वन्यजन्तु त कति मरे मरे । हाम्रा गाइभैँसी र पाठा बाख्रा पनि वनजंगल चराउन डर हुन्थ्यो ।

म्याग्दी जिल्लाको सदरमुकामसँग जोडिएको धार्मिक क्षेत्र गलेश्वर महादेवको मन्दिरसँग रहेको यो वनलाई त्यहि मन्दिरको नाउँले चिनिन्छ । जिल्ला वन कार्यालयले ४३ हेक्टर वन क्षेत्र हस्तान्तरण गरेपछि भने आगलागीको समस्या बिस्तारै कम हुँदै गएको हो ।

६०० भन्दा बढी घरधुरी उपभोक्ता रहेको यो सामुदायिक वनमा खोटे सल्लो बाहेक अलि अलि चिलाउने, उत्तिस, कटुस, सिमलको जंगल पनि छ ।

सुख्खा पाखोमा वनजंगल भएकाले पछिल्लो समयमा गाउँतर्फ जोड्नका लागि जथाभावी डोजरले बाटो खन्दा यहाँका बासिन्दाले पहिरोको समस्या भोग्नु परेको छ । बाटो खन्न नपाउँदै पहिरो जाने समस्याले केही मानिसहरु बिस्थापित भइसकेका छन् भने गाउँको माथिबाट पहिरो खस्न सक्ने डरलाई दृष्टिगत गर्दै सामुदायिक वनबाट भएको आम्दानीले जैविक प्रविधिको प्रयोग गर्दै पहिरो नियन्त्रण गर्ने गरेको छ ।

अध्यक्ष चोखालले भने, डोजरले वन बिनाश गरेको छ । यो कुरा भनौँ भने विकास बिरोधी कुरा हुन्छ । तर यथार्थ चाँही त्यही हो ।

अम्रिसो लगायतका बोटविरुवाको रोपण र ढुङ्गाको पर्खाल हालेर पहिरोको रोकथाम गर्ने कार्यहरु हाल पनि सामुदायिक वनले गरिरहेको छ ।

अध्यक्ष, चोखाल

जंगल नभएको ठाउँमा वृक्षरोपण गरेको छ, सामुदायिक वनले । सामुदायिक वन भित्र रहेको काठको सदुपयोग गर्न वैज्ञानिक वन व्यवस्थापन पनि लागु गरिएको थियो । त्यस अघि जिल्ला वन कार्यालयबाट कार्ययोजना पारित गरी काठ निकालेर भएको आम्दानीले समुदायभित्र विकास निर्माण, सचेतना जगाउने लगायतका कामहरु सञ्चालन गरेको अध्यक्ष चोखालले बताए ।

सामुदायिक वनले फर्निचर उद्योग पनि सञ्चालन गरेको छ । उपभोक्ताले वनबाट काठ खरिद गरी सस्तोमा सामुदायिक वनले सञ्चालन गरेको फर्निचर उद्योगबाट सामानहरु बनाउने काम गरिरहेका छन् ।


पानीको मूल संरक्षण अभियान

चरिचरन बन्द गरेर वृक्षरोपाण गरेपछि भएको सबै डाँडाकाडा हरियाली भएको छ । संरक्षण र सदुपयोग गर्ने नीति अनुरुप समितिले अग्नी नियन्त्रण रेखा निर्माण, बाटोघाटो निर्माण तथा मर्मत सम्भार, पहिरो नियन्त्रण गर्ने गरेको छ । पानीको मूल संरक्षण अभियान नै चलाएको छ, सामुदायिक वनले ।

सुख्ख ठाउँ भएकाले आगलागी नियन्त्रण गर्न जंगलभित्र पानी पोखरी निर्माण गर्ने, ट्याङकी राख्ने लगायतका कामहरु पनि गरेको छ । अध्यक्ष चोखालका अनुसार वनजंगलको संरक्षण भएपछि हाल पानीको मूल बाह्रैमास आउन थालेका छन् र स्थानीय बासिन्दालाई पानीको अभाव हुन छाडेको छ ।


शिक्षाको लागि अक्षय कोष

दुई वर्ष जति सञ्चालन भएको वैज्ञानिक वन व्यवस्थापनबाट भएको आम्दानीले स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा १० लाख रुपियाँको अक्षय कोषको स्थापना गरेको छ । सो कोषको ब्याजबाट विद्यालयले शिक्षकको तलब खुवाउने गरेको छ ।


विपन्नलाई जीविकोपार्जन

समितिले समुदायभित्रका गरिव, विपन्न परिवारको पहिचान गरी बाख्रा पालन तथा अन्य पशुपालनमा सस्तो ब्याजमा ुऋण प्रवाह गर्ने गरेको छ । समितिबाट रकम लिएर धेरै जना व्यक्तिले आफ्नो आर्थिक अवस्था सुधार गरेको जानकारी अध्यक्ष चोखालले दिए ।


आगलागि सदाबहार चुनौती

घाँस पलाउन्छ भनेर गाउँकै मान्छेहरु वनजंगलमा आगो लगाउने प्रवृति अहिले थोरै कम भएको छ । माथिबाट ढुंगा खसेर ढुंगामा लाग्दा निस्कने आगोको झिल्कोले समेत आगलागि हुने गरेको अध्यक्ष चोखालले जानकारी दिए ।

जंगल भएर बाटोघाटो विकास भएको छ । बाटोमा हिड्ने बटुवा र गाडीमा यात्रा गर्ने मान्छेले चुरोट खाएर जथाभावी ठुटो फाल्ने प्रवृतिले पनि आगलागि हुने गरेको छ । यस्ता घटनामा स्थानीय व्यक्ति भन्दा पनि बाहिरका व्यक्तिको भूमिका बढी हुने गरेकाले नियन्त्रण गर्न कठिन भइरहेको उनले बताए ।

उपभोक्ता निकै सचेत

वन संरक्षण भएपछि वन्यजन्तुको संख्यामा पनि वृद्धि भएको छ । उपभोक्ताले न एक टुक्रा काठ, दाउरा चोर्छन् न वन्यजन्तुको शिकार गरेका छन् । पहिले पहिले दाउराको आवश्यकता भएपनि अचेल सबैले ग्यासमा पकाउन थालेपछि दाउराको माग खासै छैन समुदायमा । मृग, बदेल, तित्रा, वन कुखुरा पाइने जंगलमा पंक्षीहरु त धेरै थरिका पाउने दावी चोखालको छ ।
अध्यक्ष चोखालले भने, मान्छेले भन्दा आगलागिबाट वन्यजन्तु मरेका छन् । यहाँका उपभोक्ताले शिकार गरेको हामीलाई थाहा छैन ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here