प्राविधिक टोली सगरमाथा पुग्यो

काठमाडौँ । सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको प्राविधिक कर्मचारीको टोलीले आज बिहान ३ः०० बजे शिखरको आरोहण गरेको छ ।

प्रमुख नापी अधिकृत खिमलाल गौतम र अधिकृत रवीन कार्कीले सफलतापूर्वक आरोहण गरी टुप्पोको आसपास बिन्दुमा ग्लोबल नेविगेसन स्याटलाईट सिस्टमको उपकरण जडान गर्नुभएको विभागका सगरमाथा उचाइ मापन परियोजना संयोजक सुशील डङ्गोलले जानकारी दिनुभयो ।

विभागले पहिलोपटक सरगरमाथाको उचाइ मापन गर्ने उद्देश्यले आवश्यक तालीम तथा पथ प्रदर्शकको व्यवस्था गरी प्राविधिकलाई त्यस क्षेत्रमा गत चैत २७ गते खटाएको थियो । उक्त टोलीमा नापी विभागका सुरजसिंह भण्डारी र युवराज धितालसमेत हुनुहुन्छ । उहाँहरुले उक्त शिखरको आधार शिविरमा रही उचाइ मापनमा आवश्यक अन्य सहयोग गरिरहेका विभागले जनाएको छ ।

आरोहणकार्य चुनौतीपूर्ण रहेको र मौसमको अनुकूलता कायम भएमा शुक्रबारसम्म टोली काठमाडौँ फर्कन सक्ने विभागले जनाएको छ । डङ्गोलले कार्यक्षेत्रमा सङ्कलन गरिएका सूचना तथा अन्य विवरणका साथै प्राविधिक अध्ययन पूरा गरेपछि शिखरको उचाइको परिणाम आउन अझै करीब छ महीना लाग्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here