कमाण्ड समाले डा. महेश्वर ढकालले

काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशक पदमा डा. महेश्वर ढकालले पदवहाली गरेका छन् ।

बिहिबार राष्ट्रपति चुरे तराई संरक्षण विकास समितिको सदस्य सचिवबाट बिदाई भएका डा. ढकालले शुक्रबार विभागमा पदबहाली गरेका हुन् ।

विभागका कर्मचारीहरुले नवनियुक्त महानिर्देशक ढकाललाई स्वागत गरे । पदवहाली कार्यक्रममा डा. ढकालले आफू इमान्दार भएर राज्यले दिएको जिम्मेवारी पूरा गर्ने बताए ।

उनले भने, म जे जति समयसम्म यो विभागमा बस्छु । राज्यले दिएको जिम्मेवारी इमान्दारीताका साथ पूरा गर्नेछु । मैले कसैलाई काखापाखा गर्ने छैन । सबै कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गरे विभागले विगतको भन्दा राम्रो काम गरेर देखाउनेछ । त्यो नै सबैको सफलता हुनेछ ।
ढकाल यस अघि विभागको इकोलोजि शाखामा काम गरिसकेका व्यक्ति हुन् ।

सरुवामा चाँसो

साउनको मध्यतिर विभागको कमाण्ड समाल्न पुगेका ढकालका अगाडि कर्मचारी सरुवाको भारी राखिएको छ । कोशीबाट रामचन्द्र खतिवडा र पर्साबाट मनोज साहको डेरा सरिसकेको छ भने अरु प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतको डेरा सार्ने काम बाँकी भएका बेला विभाग भित्रिएका ढकालले विभाग भित्र र फिल्डमा कस्तो टिम बनाउन्छन भन्ने कुरा सबैको चाँसोको विषय बनेको छ ।

सधै सुशासन र पारदर्शीताको कुरा गर्ने डा. ढकाल आफ्नो जागिरे जीवनमा पहिलो पटक सरुवा गर्ने कुर्शिमा पुगेका छन् । उनको सरुवा रणनीति कस्तो खालको हुने हो ? बबरमहलमा बसेर सिंहदरबार भित्रको दबावलाई कर्मचारी सरुवामा कसरी मिलाउने योजना बनाउन्छन ? विभागमा उनको सफलता त्यसमा पनि भर पर्ने देखिन्छ ।

साझेदारसँगको सहयात्रा

वन मन्त्रालयभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाको लामो सहयात्रा भएको एउटै विभाग राष्ट्रिय निकुञ्ज विभाग हो । विभागको नेतृत्वले संरक्षण साझेदार संस्थासँग गरेको व्यवहारले ती निकायले उपलब्ध गराउने आर्थिक तथा प्राविधिक सहयोगको दायरा बढ्ने वा घट्ने हुन्छ । यसअघि कञ्चनजंगा र बर्दियामा भएका घटनाहरु विभागको नोटिसमा रहेकै छन् ।

डा. ढकाल ‘मुखको खरो, व्यवहारको मिठो’ भएका व्यक्ति हुन् । संरक्षण जस्तो जटिल र बहुसरोकारावाला कामका लागि संरक्षण साझेदार संस्थाको सहयोग र समन्वय विभागको ‘अत्यावश्यक सेवा’ भएकाले डा. ढकालले विगतको भन्दा अझ राम्रो सम्बन्धको यात्रा तय गर्ने अपेक्षा गरिएको छ ।

ढकालको निजामती सेवाको यात्रा

आज भन्दा ३४ वर्ष पहिले एसएलसी पास गरेका ढकालले आइएस्सी र बिएस्सी वन विज्ञानको शिक्षा नेपालबाट आर्जन गरे । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर पास गरेका ढकालले जापानबाट वातावरण विज्ञान स्नातकोत्तर शिक्षा हासिल गरेका छन् । जापानबाट फरेष्ट रिसोर्स इकोनोमिक्समा विद्यावारिधि उपाधी प्राप्त गरेका ढकालको सरकारी सेवामा प्रवेश भने २०५४ सालमा भएको हो ।

वन मन्त्रालयभित्रको सोइल कम्जरभेसन सेवामा शाखा अधिकृत तहमा झण्डै १२ वर्षको जागिरे जीवनपछि २०६७ सालमा उनको निकुञ्जतर्फ उपसचिवमा बढुवा भएको हो । उपसचिव हुँदा निकुञ्ज विभागको इकोलोजि शाखामा राम्रो काम गरेका अधिकृतहरु मध्येमा ढकाल पर्ने गर्छन् ।

२०७३ सालमा सहसचिवमा बढुवा भएका ढकालले छोटो समय विभागको उपमहानिर्देशक भएर काम गरे । विभागबाट सरुवा भएर वन तथा वातावरण मन्त्रालयमा गएपछि जलवायु परिवर्तन व्यवस्थापन महाशाखाको जिम्मेवारी समालेका हुन् । सो महाशाखामा बसेर डा. रामप्रसाद लम्साल पछि उल्लेख्य काम गर्ने अधिकारी कहलिएका ढकालले जलवायु परिवर्तन सम्बन्धी दर्जनौँ अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका तर्फबाट भाग लिएका छन् ।

अन्तर्राष्ट्रिय सम्मेलनमा उनको प्रस्तुती निकै ओजपूर्ण र तार्किक हुने गरेको छ । पढ्ने, लेख्ने मिहिनेति ढकालले तयारी विना कहि पनि प्रस्तुत हुनुहुदैन भन्ने मान्यताका साथ काम गर्ने गरेको उनका सहपाठीहरु बताउन्छन् ।

सो महाशाखामा रहँदा जलवायु परिवर्तनसँग सम्बन्धित नेपालले अन्तर्राष्ट्रिय मञ्चमा तयार पार्नुपर्ने महत्वपूर्ण अध्ययन, अनुसन्धान तथा दस्तावेजमा काम गरेका छन् । ढकालले जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा नेपालका तर्फबाट महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्ने अवसर पाएका छन् ।

सो महाशाखाबाट सरुवा भएर ढकाल गण्डकी प्रदेशको वन सचिव भएर पनि काम गए । स्याङ्जा घर भएका ढकाललाई पोखरामा बसेर काम गर्न निकै सहज भयो । मन्त्री देखि जुद्ध गुरुङ अनि कार्यालय सहयोगी देखि मन्त्रालयका उच्च अधिकारी पानी पधेरोमा भेटेका भएर पनि होला डा. ढकाल पोखरामा बस्दा अरु प्रदेश सचिव जस्तो विवादित भएनन् ।

गण्डकी प्रदेशबाट संघीय सरकारको वन तथा वातावरण मन्त्रालयमा सरुवा भएका ढकालले कि त निकुञ्ज विभाग कि त मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा मागेका थिए ।

माग गरेको दुइटै ठाउँमा पदस्थापन हुन नसकेका ढकाललाई तत्कालिन मन्त्रालयको नेतृत्वले राष्ट्रपति चुरे तराई विकास समितिको सदस्यसचिवमा सरुवा गरेको थियो । समितिमा बसेर पनि उनले चुरे संरक्षणको गुरुयोजना परिमार्जनको महत्वपूर्ण काममा हात हाले ।

बिभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरेको ‘समितिका सप्तरङ्गी पदाधिकारी’ सँग काम गर्न निकै कठिन महसुस गरेका यस अघिका समितिका अरु सदस्य सचिव जस्तै डा.ढकाललाई पनि चुरेमा काम गर्न निकै कठिन भयो ।

सरकारले स्पष्टीकरण सोधेर घर पठाएका पदाधिकारी अदालतको परादेशबाट फेरी खुमलटार प्रवेश गरेपछि त डा.ढकालले ढुक्कसँग काम गर्ने वातावरण नै पाएनन् । बोलीमा सबै विज्ञ तर काममा माखो नमार्ने समितिका पदाधिकारीका भाषण समेत ढकालले लेख्नु पर्ने स्थितिमा डा. ढकाल चुरेमा जति बसे, रणनैतिक हिसावले निकै सफल देखिए ।

दैनिक भ्रमण, काज, इन्धन, सवारी साधनमा रुमल्याउने समितिका पदाधिकारीसँग डा. ढकालले जोरी खोजेरै केही सिर्जनात्मक काम गर्न खोजे । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिन्धुलीसम्म लिएर एकै दिन एक लाख विरुवा रोप्ने काममा उनी सफल भए ।

फिल्ड घुमेर भ्रमणभत्ता, इन्धन, गास, बासको ‘क्लेम’ मात्र गर्ने पदाधिकारीले प्रतिवेदन समेत बुझाउने गरेका थिएनन् । जब ढकाल सदस्य सचिव भएर गए, अनि प्रतिवेदन विना सबै किसिमका भुक्तानीमा ताला लगाइ दिए ।

सरकारी सवारी साधन, सरकारी ड्राइभर अनि सरकारी इन्धन पोलेर फिल्ड हिडेका पदाधिकारी फिल्डमा नपुगेरै खुमलटार हाजिर हुने गरेको विगतको इतिहासलाई डा.ढकालले सच्याए । फिल्ड प्रतिवेदन विना पदाधिकारीको त ड्राइभरको दानापानी रोकिन थालेपछि राज्यमन्त्री र सहायकमन्त्री स्तरको सुविधा लिने विज्ञहरु खुमलटारबाट निस्केपछि थानकोट कट्न थालेका छन् ।

छोटो समय चुरेमा बसेका डा. ढकाल सुशासन सबैले पालना गर्नु पर्छ भन्ने कुराको बलियो आधार स्थापित गरेर निकुञ्ज विभाग फर्किएका छन् । विभागमा उनी कति सफल वा असफल हुन्छन्, त्यो त हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here