न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले नेपालले सुरु गर्न थालेको सगरमाथा सम्बादमा भाग लिने कुराको संकेत दिएका छन् ।
राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अघिल्लो आइतबारदेखि यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको भेटवार्तामा महासचिव गुटरेसले यस्तो कुराको संकेत गर्नुभएको हो ।
मन्त्री ज्ञवालीले आगामी चैतमा नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महासविच गुटरेसलाई निमन्त्रणापत्र हस्तान्तरण गर्नुभयो । ज्ञवालीले भन्नुभयो, प्रधानमन्त्री ओलीबाट प्राप्त निमन्त्रणाप्रति आभार व्यक्त गर्दै महासचिवले त्यसको सकारात्मक जवाफ दिनुभएको छ । सम्भव भए, सम्बादमा भाग लिने बताउनुभएको छ ।
परराष्ट्रमन्त्रीले राजनीतिक स्थायित्व प्राप्तिसँगै नेपाल समाजिक, आर्थिक विकासको बाटोमा अग्रसर भएको जानकारी दिँदै दिगो विकासको लक्ष्य हासिल गर्न नेपाल सरकार लागिपरेको बताउनुभयो ।
उहाँले दिगो विकास हासिल गर्न स्रोत र साधनको अभाव रहे पनि लक्ष्य हासिल गरेरै छाड्ने नेपालको दृढता रहेको सुनाउनुभयो ।
दिगो विकास र शान्ति, जलवायु परिवर्तनजस्ता गम्भीर मुद्दाले नेपालजस्ता पर्वतीय मुलुक तथा साना टापु राष्ट्र असमानुपातिक प्रभाव घटाउन डटेर लागेको उहाँले जानकारी दिनुभयो । मन्त्री ज्ञवालीले राष्ट्रसङ्घसँग निरन्तर सहकार्य र साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गर्र्दै नेपालको प्रगतिका निम्ति राष्ट्रसङ्घबाट भएको योगदानको सराहना गर्नुभयो ।
उहाँले विश्वव्यापी स्वास्थ्य सरोकार, दिगो विकासका लागि उच्चस्तरीय राजनीतिक मञ्च, विकासका लागि लगानी, सहश्राब्दी विकास लक्ष्यको अद्यावधिक मूल्याङ्कन, विकासका लागि लगानी, जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय बैठक आयोजना गर्नुभएकामा महासचिवप्रति हार्दिक आभार व्यक्त गर्दै ती कार्यमा नेपालको सहकार्य रहने विश्वास दिलाउनुभयो ।
भेटमा राष्ट्रसङ्घका उपमहासचिव तथा राष्ट्रसङ्घीय शान्ति कार्य विभागका प्रमुख जाँ पिएरे लाक्र्वा र शान्ति कार्य सञ्चालन विभागका प्रमुख अतुल खरे, संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्यालसहित स्थायी नियोगका वरिष्ठ अधिकारी सहभागी हुनुहुन्थ्यो ।