काठमाडौँ । वन तथा वातावरण मन्त्री डा. विरेन्द्रप्रसाद महतोले वन मन्त्रालयबाट सेवा निवृत भएका कर्मचारी सबैभन्दा बढी बदमास भएका बताएका छन् ।
विश्व सिमसार दिवसका अवसरमा वन तथा भूसंरक्षण विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्वारा शुक्रबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री महतोले बहालबाला हुँदा एउटा भनाई राख्ने, अडान कस्ने र रिटायर्ड भएपछि आफ्नो स्वतन्त्र ब्याख्या गर्दै अर्कै कुरा गरेर मन्त्रीको बदनाम गराउने काम गरेको बताएका छन् ।

उनले भने, मन्त्रालयमा बहालबाला हुँदाको समयमा यो काम कुनै हालतमा मिल्दै, मिल्दैन, यो काम गर्दा पछि धेरै समस्या आउछन् भन्ने अनि रिटायर्ड भएपछि यो मन्त्री खत्तम छ, यसले देश बिगारिसक्यो, कामै गर्न सक्दैन भनेर सत्तोसराप गर्ने प्रवृति वन मन्त्रालयका कर्मचारीमा देखियो । यो आपत्तीजनक छ, कर्मचारीको द्धैत चरित्र छ । यसले हामीलाई काम गर्न गाह्रो पारिरहेको छ । मन्त्रालयमा बसेर काम गर्न नमान्ने अनि रिटायर्ड भएपछि नानाथरीका कुरा गरेर समाज बिगार्ने काम गर्ने ? मन्त्री र मन्त्रालयका प्रति द्धैष फैलाउने काम भइरहेको छ । समाजको साइकोलोजि बिगार्ने काम भएको छ ।
कार्यक्रमको प्रमुख वक्ता रहेका मन्त्री महतोले लिखित भाषण लिएका थिए तर उनले मञ्चबाटै उद्घोष गर्दै भने आज त लिखित भाषण पढ्छु भनेर आएको हुँ । धेरै पटक बोलेर गाली खाइसकेको छु । तर पनि आज लेखेको होइन, बोलेरै भाषण गर्छु । आफूले सही बोल्ने गरेको भएपनि सुन्ने र बुझ्नेले बङ्गयाएर बुझ्ने प्रवृति अलि ठिक नभएको उनले बताए । उनले भने, मैले बोल्न त कहिले पनि गलत बोलेको जस्तो लाग्दैन तर बोलिसकेपछि सुनिन्छ, यो बोलेको ठिक भएन, त्यो बोलेको ठिक भएन ।
वन मन्त्रालय अन्तर्गतको ताल संरक्षण विकास समिति बजेट बक्तब्यमा नै वर्तमान सरकारले खारेजको घोषणा गरेको थियो । सिमसार दिवसका अवसरमा आफ्नो मन्त्रालयमा रहेको ताल संरक्षण विकास समिति जस्तो सिमसारको संरक्षण गर्ने निकाय खारेज भएको सन्दर्भ कोट्याउँदै मन्त्री महतोले कर्मचारी प्रति असन्तुष्टि व्यक्त गरे ।
बोल्दै गर्दा उनले भने, मन्त्रालयका बस्दा कहिलेकाँही कर्मचारीले खुब क्रान्तिकारी कुरा गर्छन्, जब फायल टेबुलमा आयो अनि भाग्न थाल्छन् । ताल संरक्षण विकास समिति मैले भंग गरेको हो र ? अहिले ताल संरक्षण विकास समिति चाहियो भन्ने धेरै छन् । तर त्यति बेला यो ताल विकास समिति चाहिदैन भनेर पनि लेख्ने यही मन्त्रालयमा होलान् नि ? ति कर्मचारी अहिले कहाँ गए, त्यति बेला चाहिँदैन भनेर सिफारिस गर्ने, अहिले विघटन गर्नु गलत छ पनि भन्ने ? यो दुई जिब्रे प्रवृतिले काम गर्न नसकिने भयो ।
दातृ निकायले दिएको रकम खर्च गर्न नसक्नुमा पनि कर्मचारी नै दोषी भएको उनले बताए । पाँच वर्ष बित्न लाग्दा समेत तलब,भत्ता र गाडी किनेर मात्र चढ्ने कर्मचारीले कसरी काम गर्न सक्छन् ? मन्त्री महतोले भने, यस्तो कुरा गर्दा सबैले नराम्रो भन्छन् । तर हाम्रोमा कर्मचारी नै धेरै बदमास छन् ।

उनले भने, हाम्रा कर्मचारीले ऋणको पैसा सबै खर्च गर्छन् अनुदानको पैसा चलाउदैनन् । यो के हो ? मैले त कुरै बुझ्न सकेको छैन । अनि यो देश कसरी बन्छ जस्तो लाग्न थालेको छ, मलाई आजभोली त ।
चुरे संरक्षणको कुरा गर्छन् तर चुरे छेउछाउमा एक रुपियाँ खर्च भएको छैन । नेताको आराबारीमा राम्रा राम्रा तलाउ, पोखरी बनेका छन् । यसरी पनि चुरे संरक्षण हुन्छ होला त ? उनले प्रश्न गर्दै भने, अलि अलि राजनीति गर्ने मानिसको पनि बदमासी छ । नेताको घरआँगनमा बनेको पोखरीले चुरेमा पानी आउँछ ? यो कर्मचारीले बिचार गर्नुपर्दैन । मन्त्री महतोले राजनीति गर्नेहरु तराईमा गएर डाको छोडेर चुरे संरक्षण गर्नुपर्छ भन्ने गरेको समेत कथा सुनाए ।
उनले शुक्रबारको कार्यक्रममा विदेशी दातृ निकाय र संरक्षण साझेदार संस्थालाई फेरी गाली गर्दै भने, दुई लाख, पाँच लाख अनि दश लाख रुपियाँ दिएर सहयोग गरेको छु भन्ने ? त्यो सहयोगले के ऐतिहासिक काम भएको छ ? मलाई देखाउनुहोस् त । त्यो दुई पैसाले आज काम भएको देखिन्छ, छ महिना पछि गएपछि केही देखिदैन ।

यो तरिकाले त टाउको फुटाएपनि मुलुकको विकास हुँदैन । यसले देश बन्दैन । सहयोग गर्नुछ भने मज्जाले गर्नुहोस् । उनले भने, सहयोग दिनेले दिए भन्छ, हामीले सहयोग लिइसक्यौँ तर खै त के देखियो फिल्डमा ? त्यो पैसा कहाँ गयो ? कुन सिमसार छ, ऐतिहासिक रुपमा राम्रो भएको ? कुन सिमसार हामी विदेशीलाई देखाउन सक्छौँ कि यो राम्रो भएको छ भनेर ?
मन्तब्य दिँदै मन्त्री महतोले भने, २० वर्ष पुरानो कानून छ, सोच २० वर्ष पछिको छ अनि तारतम्य मिल्छ ? सपना जे देख्यो त्यही अनुसारको काम गर्ने वातावरण पनि हुनुपर्छ अनि पो मुलुक समृद्धितर्फ जान सक्छ । भाषणको क्रममा मन्त्री महतोले वन कर्मचारी कानून भन्दा माथि हुन खोजेको आरोप पनि लगाए । उनले भने, कानून एकातिर छ, वन मन्त्रालय र मातहतका कर्मचारीले जहिले पनि फायल पल्टाएर आफ्नो व्यक्तिगत धारणा राख्ने गर्छन् । व्यक्तिगत धारणा, आग्रह राखेर काम गर्न सकिन्छ ? कि कानूनमा टेकेर काम गर्न सक्नुपर्छ ? कतिपय कर्मचारीेले कानूनमा यस्तो भएपनि मेरो बिचार यस्तो छ है भन्ने गरेको अनुभव पनि उनले भाषणमै सुनाउन भ्याए ।
भाषण राख्ने क्रममा सुरुमा वन मन्त्रालयका कर्मचारी, संरक्षण साझेदार संस्थाप्रति आक्रमक देखिएका मन्त्री महतोले मन्तव्यको अन्त अन्ततिर भने वन मन्त्रालय विकास विरोधी नभएको र मन्त्रालयका कर्मचारीलाई विकास विरोधी भनेर आरोप लाग्ने गरेको प्रति पनि खरो प्रतिबाद गरे ।

सो कार्यक्रममा सिमसार नीति, संस्थागत तथा संरचनागत व्यवस्था र नेपालमा भइरहेको अभ्यास बारे निकुञ्ज विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगानाले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी डा.शैलेन्द्रकुमार पोखरेलले रामसारको विश्वव्यापी र नेपालमा कार्यान्वयनको अवस्था, डा. राजेशकुमार राईले सिमसारका सामाजिक आर्थिक पक्ष, वन तथा वातावरण मन्त्रालयका सहसचिव बद्रीराज ढुंगाना र वन विभागका उपमहानिर्देशक दिपक ज्ञवालीले सिमसारमा जैविक विविधता संरक्षण र जलाधार व्यवस्थापन सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रहरुमाथि सहभागीहरुले लामो छलफल र अन्तक्र्रिया गरेका थिए ।
वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिव वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाल, वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक गणेश पौडेल, डब्लुडब्लुएफका राष्ट्रिय निर्देशक डा. घनश्याम गुरुङ, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओली लगायतले नेपालका सिमसारको अवस्था, अवसर र चुनौती बारे बोलेको थिए ।