काठमाडौँ । वन तथा वातावरण मन्त्री डा. विरेन्द्रप्रसाद महतोले वन मन्त्रालय र वन मन्त्रालयका कर्मचारी विकास विरोधी नभएको बताएका छन् । उनले भनेका छन्, यो भनाई नै गलत छ, वन मन्त्रालय र मन्त्रालयका कर्मचारी विकास बिरोधी होइनन्, कानून पालना गराउने निकाय मात्र हुन भनेर बुझ्न जरुरी छ ।
विश्व सिमसार दिवसका अवसरमा वन तथा भूसंरक्षण विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्वारा राजधानीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री महतोले वन मन्त्रालय विकास बिरोधी हो भन्ने भनाईलाई र बुझाईप्रति सबैले सुधार गर्न पनि सरोकारवालासँग अनुरोध गरे ।
२०७९ साल जेठ १० गते मन्त्री पदको शपथ गरेका महतोले पहिलो पटक यसरी कर्मचारीको पक्षमा खुलेर कुरा गरेको हो । उनले भने, अरु मन्त्रालयमा भएका कमी कमजोरी र आफ्नो कमजोरी ढाक छोप्न वन मन्त्रालयलाई दोष दिने चलन छ । यसले हामीलाई बदनाम मात्र गराएको छ ।
उनले भने, मैले नौ वर्ष देखि थन्किएको फायल सदर गरेको छु । त्यो कसैले हेर्दैन । नियम कानूनले भने बमोजिम भएको फायल एक दिन पनि रोकेको छैनौँ भने हामीलाई विकास विरोधी भन्नु सरासर गलत छ । यो वन मन्त्रालयलाई बदनाम गराउने काम भएको छ ।
उनले कर्मचारीको पक्षमा बोल्दै भने, वन मन्त्रालयको कर्मचारी सहजीकरण गर्न तयार छन् तर अरु नियमले भने बमोजिमको कुरा पुगेको हुँदैन अनि कसरी काम गर्न सकिन्छ ?
उनले भने, वन मन्त्रालय भनेको जनताको मन्त्रालय हो, जंगल, जमिन, पानी, हावा सबै वन मन्त्रालयसँग छ । अनि यो जनताको मन्त्रालय नभएर के हुन्छ ? हामीले दुनियाँलाई पानी, हावा दिने अनि हामीलाई नै गाली गर्ने ? यो कुन दुनियाँको कुरो हो, वन मन्त्रालयमा बस्ने सबै बदमास छन् भन्ने फेरी ? मन्त्री महतोले आफू आएपछि वन मन्त्रालयको धेरै राम्रा काम गर्न खोजेको समेत दावी गरे ।