बझाङ जिल्लाका गाउँमा राखिएका मेडिकल, स्टेशनरी पसलमा पनि मदिरा बेचबिखन हुन्छ भनेको सुन्दा अचम्म मान्नु नपर्ने भएको छ । मदिरा पसल सञ्चालनका लागि ईजाजत पत्र लिएर मदिराको ब्यबसाय गर्नु पर्ने कानुनी प्राबधानको भएपनि ईजाजतपत्र बिना बझाङ जिल्लाका अधिकाशं गाउँ गाउँमा मदिरा पसलहरु सञ्चालनमा आएका छन् ।
ईजाजतपत्र बिना गैरकानुनी तरिकाले यसरी मदिराको बिक्री बितरण भई रहँदा समेत नियन्त्रण तथा नियमनकारी निकाय मौन देखिएका छन् । त्यस्ता पसल न त करको दायरामा आउन सकेका छन् न त समाजमा शान्ति सुरक्षाको स्थिति कायम हुन सकेको छ । गाउँमा प्रहरी चौकी स्थापना त गरिएका छन् तर ती चौकीले पनि मेडिकल तथा पुस्तक पसलमा समेत मदिरा बेचबिखन हुँदा केही गर्न नसक्दा स्थानीय बासिन्दा अचम्मित भएका छन् ।
जिल्लाका सबै स्थानीय तहमा झण्डै एक हजार भन्दा बढी यस्ता गैरककानुनी रुपमा संञ्चालन भएका मदिरा पसल रहेको अनुमान गरिएको छ । सामान्यतया गाउँमा भएका पसलहरुलाई दर्ता नगरि ब्यबसाय गर्ने गरेका स्थानीय ब्यापारीहरुले पछिल्लो समयमा स्थानीय सरकारले एकिकृत सम्पतीकर लगाएर अनिबार्य रुपमा करको दायरामा ल्याउने रणनिती लिएको भएपनि ति पसलहरुमा भने सिलबन्दी मदिरा समेत राखेर बिक्री बितरण गरिएको भेटिने गरेको छ ।
मदिराका लागी कोष तथा लेखा नियन्त्रण कार्यालयमा नियम अनुसार ईजाजतपत्र लिने ब्यबस्था गरिएको भएपनि जिल्लामा ईजाजत पत्र लिएका ब्यापारीहरुको तुलनामा दोब्बर भन्दा बढीले गैरकानुनी रुपमा अबैध तरिकाले मदिराको बिक्रि बितरण गरि स्थानीयहरुको अनुमान छ ।
मदिरा सेवनका कारण जिल्लामा घरेलु हिंसाका घटना लगायत अन्य घटना समेत बढ्दै गएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।