दुई दशकपछि ठूलो हिमपात

झण्डै दुई दशकपछि ठूलो हिमपात हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशमा अत्याधिक चिसो बढेका कारण विद्यालय बन्द भएका छन् भने जिल्लाका सबै ठाउँमा बिजुली तथा टेलिफोन सेवा अवरुद्ध भएको छ । चिसोले आगो बालेर मानिस र पशुवस्तु घरभित्रै बस्न बाध्य भएका छन् । सुदूरपश्चिममा दुई दशक पछि पहिलो पटक ठूलो हिमपात भएको बुढापाकाले बताएका छन् । हिउँ नपर्ने होचो ठाउँमा पनि यस पटक हिउँ परेको छ ।


सुदूरपश्चिम प्रदेशका बिशेष गरी उच्च हिमाली क्षेत्र दार्चुला, बझाङ, बाजुरा तथा बैतडी, डडेल्धुरा र डोटीका उच्च पहाडमा हिमपात भएको छ । डडेल्धुरा सदरमुकामको अमरगढी क्षेत्रमा झण्डै दुई दशकपछिको ठूलो हिमपात भएको छ । त्यस्तै बझाङ जिल्लाको चैनपुर आसपास क्षेत्रमा बाक्लो हिउँ परेको छ । उता बैतडी र दार्चुला जिल्लामा हिजो कहिल्यै हिउँ नपर्ने तल्लो क्षेत्रमा पनि यस पटक हिउँ परेको छ ।
बाक्लो हिमपातले गर्दा सुदूरपश्चिमका पहाडी जिल्लामा चल्ने सवारी साधन चल्न नसकेका छैनन् । तराईका जिल्ला कैलाली तथा कञ्चनपुरबाट पहाडी जिल्लाका लागि हिडेका सवारी साधन डडेल्धुरा तथा बैतडीमा रोकिएका छन् । हिमपातको कारणले स्थानीय तहमा बिजुली आपूर्ति बन्द भएका छन् भने टेलिफोन तथा इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ ।
दार्चुला जिल्लामा पनि हिमपात हुँदा उच्च हिमाली भेगका बासिन्दा घरभित्र थुनिएका छन् । पशुवस्तु समेत घरबाहिर निकाल्न गाह्रो भइरहेको स्थानीयले बताएका छन् ।
जिल्लाको अपी हिमाल गाउँपालिका, व्यास गाउँपालिकाको अधिकासं भुभागका साथै दुहुँ, मार्मा, नौगाढ, लेकम र मालिकार्जुन गाउँपालिका, शैल्यसिखर र महाकाली नगरपालिकाका उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ ।


हिमपात र बर्षाका कारण दार्चुलाको हिमाली क्षेत्रका बिद्यालयहरुमा एक महिनाका लागि हिउँदे बिदा दिइएको छ । अपिहिमाल, ब्यास गाउँपालिका लगायत हिमाली र उच्च पहाडी क्षेत्रका दर्जनौ बिद्यालयहरुले एक महिनाको लामो बिदा दिएका छन् ।


बझाङ जिल्लामा पनि लगातार हिमपात भइरहेको छ । जिल्ला सदरमुकाम चैनपुर आसपासका क्षेत्रमा बाक्लो हिमपात हुँदा सदरमुकाम आउने तरकारी, दूध लगायतका अत्यावश्यक सामानहरु पनि आउन रोकिएका छन् । जिल्लाको धुली, तल्कोट, मेलबिसौना, धमेना, बिथ्थड, सूर्मा, दौलिचौर, भामचौर, चिर, बुङल लगायतका क्षेत्रमा बाक्लो हिमपात हुँदा विद्यालय बन्द भएका छन् । जिल्लासँग जोड्ने एकमात्र जयपृथ्वी बहादुर सिँह राजमार्गमा हिमपातका कारणले अवरुद्ध भएको छ । जसले गर्दा जिल्ला सदरमुकामसँग बाह्य जिल्लाको सम्बन्ध बिच्छेद भएको छ ।
बैतडी जिल्लास्थित प्रमुख बजार खोड्पे आसपास क्षेत्रमा पनि बाक्लो हिमपात भएको छ । लगायतको हिमपातले बझाङ, बैतडी तथा दार्चुला जिल्लाको यातायात प्रभावित भएको छ । अलपत्र अबस्थामा परको यात्रु स्थानीय बजारको होटल होटलमा बस्न बाध्य भएका छन् ।
त्यसैगरी बाजुरा जिल्लामा पनि लगातार हिमपात हुँदा जनजीवन निकै कष्टकर भएको छ । जिल्लाको उत्तरी भेगमा बाक्लो हिमपातले गर्दा मानिसहरु घर बाहिर निस्कन नसक्ने अवस्था सिर्जना भएको छ भने पशु वस्तु पनि गोठ बाहिर ल्याउन सक्ने स्थिति नभएको स्थानीयले बताएका छन् ।
पाण्डुसैन, रुगिन , बिछ्या बाँधु, जगनाथ, वाइ, कोल्टी, कोटीला लगायतका गाउँमा बाक्लो हिमपात भएपछि सदमुकाम मार्तडीसँगको सम्बन्ध बिच्छेद भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here