सात मुहानको पानी : सतखलुवा ताल

बर्दिया । बारबर्दिया नगरपालिका–९ मा रहेको सतखलुवा तालमा सात वटा मुलका पानी मिसिएको छ । सात वटा तालको मुहान मिलेर बनेकाले स्थानीय थारू भाषामा सतखलुवा भनिएको हो । तालको उत्तर, पूर्व र पश्चिम बर्दिया राष्ट्रिय निकुञ्ज छ । पूर्वमा ग्याङ्ग र पश्चिममा भादा खोलाको बीचमा रहेको तालमा बर्खायाम र चुरे पहाडबाट बगेर आएको पानी जम्मा हुन्छ ।

बारबर्दिया नगरपालिकाको मध्यवर्ती सामुदायिक वनमा रहेको तालको पानी साविकको खैरेनी हाल सतखलुवा गाउँका ३०० विघा जमीन सिँचाइ गर्ने मुख्य मुहान हो । तालमा रहेको पानीबाट त्यस क्षेत्रका किसान आफ्नो खेतमा सिँचाइ गर्छन् । किसानलाई पानीको अभाव नहोस् भनेर सौर्य प्यानल जडान गरी डिप बोरिङबाट पानी पटानको कार्य गर्ने गरिएको छ । करीब ३०० घरधुरीका १ हजार ४०० स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिइरहेका छन् ।

तालमा घुम्न आउने पर्यटकका लागि दुईवटा डुङ्गा सयरका लागि राखिएका छन् । प्रतिव्यक्ति एक घण्टाको २० रूपैयाँ र समूहका लागि २०० रूपैयाँ शुल्क लिने गरिएको छ । ताल वरिपरि आठ मिटर चौडा बाँध र बाँधमा ग्राभेल बाटो निर्माण गरिएको छ । ताल प्रवेशद्वारसँगै वनभोज आउनेका लागि पानी, शौचालय, आरामका लागि छाप्रोसमेत निर्माण गरिएको छ ।
यहाँ ४० फिट अग्लो भ्यू टावर बनाइँदैछ । घोडा चढीबाट तालको अवलोकन गर्न सकिन्छ भने कुखुरा, खसीका मासु, कोदो ढिँडो, रक्सी, सेल, थारू परिकारको स्वाद लिन सकिन्छ । ताल अवलोकनसँगै स्थानीय जीवनशैली र संस्कृति बुझ्ने मौका मिल्छ । सिमसार क्षेत्रभित्र पर्ने सतखलुवा सामुदायिक होमस्टेले सतखलुवाको प्रवद्र्धनमा ठूलो टेवा पु¥याएको छ ।

धार्मिक महत्व

सिमसार क्षेत्रमा अवस्थित सतखलुवा ताल यसअघि स्थानीय रूपमा ठेक्कामा माछापालनका लागि दिइन्थ्यो । त्यस क्षेत्रमा एकजना स्थानीय चौकीदार रहन्थे । उनी बिहान बेलुकी ताल वरिपरि चौकीदारी दिन्थे । त्यस क्रममा उनले एकदिन तीनमुखे नाग देखे ।
नियमित रूपमा उक्त नाग पोखरीमा आउन थालेको पाएपछि ती चौकीदारले तालको बीचमा सानो नाग मन्दिर बनाई पूजाअर्चना गर्न थाले । नागका बारेमा थाहा पाएका स्थानीय बासिन्दाले औपचारिक रूपमा हरेक वर्ष नाग पञ्चमीमा त्यहाँ दूध, फलफूल चढाई भव्य रूपमा पूजाअर्चना गर्न थाले । अहिले नाग पञ्चमीमा नागको विशेष पूजा गर्ने परम्परा बसेको हो ।

सिमसार क्षेत्रमा रहेको सतखलुवा गाउँ नजीकै रहेको तालमा जङ्गली जनावर आहारा र पानी पिउन आउँदा गाउँवासी भयभित हुनुपर्ने स्थिति छ । तिनीहरुबाट घरपालुवा जनावर र खेतीबाली नोक्सानी भइरहेको छ । जङ्गली जनावरको सम्भावित आक्रमण र जोखिम रोक्न वरिपरि तारबार गरिए पनि त्यो अपुग छ । यसमा स्थानीय तह, पर्यटन बोर्डलगायत सरोकारवाला निकायको सहयोग आवश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here