पानी जहाज कार्यालय खुल्यो

काठमाडौँ । पानी जहाजको कुरा गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यङ्ग्य गरियो । कतिपय दलका नेताहरुले भाषणमा ठट्टाको पात्र पनि बनाएर उडाए । तर तिनै प्रधानमन्त्री ओलीले बिहीबार नेपाल पानी जहाज कार्यालयको उद्घाटन गरेका छन् । सो कार्यालय उद्घाटन मन्तव्यमा नेपाल अब पानी जहाजको युगमा प्रवेश भएको पनि बताएका छन् । ललितपुरको एकान्तकुनामा कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले रेलभन्दा पहिले नेपालमा पानी जहाज नेपाल छिटो प्रवेश गर्ने बताए ।

ओलीले भने, ‘गंगासम्म पानीजहाज आउन सक्छ भने नेपालमा पनि आउँछ, पानीजहाज भन्नेबित्तिकै धेरै ठूलो पनि होइन । सानो डुंगाजस्तो पनि होइन । ठिक्कको पानी हेर्दै जानुस् जहाज आउँछ।’ नदीको आकार, गहिराइअनुसार पानीजहाज ल्याइने उनले बताए। ओलीले भने ‘कतिपयले नेपालको नदीमा पानीजहाज चलाउन गहिराइ पुग्दैन भनेका छन्। पानीजहाजको आकार हेरेर होइन खोलाको क्षमताअनुसार पानीजहाज बनाउन सकिन्छ, चलाउन सकिन्छ,’ उनले भने, ‘गहिराइ नचाहिने फिजिएको पानीजहाज बनाउन सकिन्छ।’

नेपालमा पानीजहाज ल्याउन भारतले गण्डक क्षेत्रमा विस्तृत अध्ययन प्रतिवेदन डिपिआर थालिसकेको उनले बताए। ‘पानीजहाज ल्याउन पुलले समस्या ल्याउला भन्ने पनि छ। संसारमा पुल उचाल्न मिल्ने प्रविधि आइसक्यो, खोलाको वहाव परिवर्तन गर्न सकिन्छ,’ उनले भने, ‘पानीजहाज ल्याउन पुलले बाधा पुर्याउँदैन।’

रेल र पानीजहाजका इञ्जिनियर उत्पादन गर्न सरकारले विद्यार्थीलाई विदेश पढ्न पठाउने पनि प्रधानमन्त्रीले घोषणा गरे।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here