नवलपरासी । नवलपरासीमा रहेको नेपाली नहर अन्तर्गत संरचनाको बृहत् मर्मतसम्भार हुने भएको छ । निकै पुरानो अवस्थामा रहेको संरचनाको बृहत् मर्मतसम्भारका लागि करीब रु एक अर्ब २५ करोड खर्च गरिने लक्ष्य लिइएको छ ।
बृहत् सिँचाइ पुनःस्थापना तथा व्यवस्थापनअन्तर्गत रकम खर्च गरी नेपाली नहरअन्तर्गतका विविध संरचनाको मर्ममसम्भारको काम गरिने योजना रहेको गण्डक सिँचाई व्यवस्थापन डिभिजन कार्यालय नवलपरासीले जनाएको छ । नहरको मूल प्रवेशद्वार (हेड रेगुलेटर) सहित नहरमा आवश्यकताअनुसार पक्की पुल निर्माण र सडकमा ग्राबेल गर्ने लक्ष्य लिइएको कार्यालय प्रमुख टीकाराम बरालले जानकारी दिनुभयो ।
पञ्चवर्षीय योजनाअन्तर्गत ती सबै नेपाली नहरअन्तर्गत संरचनाको बृहत् मर्मतसम्भारको काम हुनेछ । चालू आर्थिक वर्ष २०७५÷७६ मा संरचनाअन्तर्गत मर्मतसम्भारका सात साना आयोजना सञ्चालनमा रहेका छन् । संरचना निर्माण भएको लामो समय बितिसक्दा पनि बृहत्रूपमा संरचनाको मर्मतसम्भार भएको छैन । मर्मतसम्भारकै अभावमा नेपाली नहरमा पर्याप्त मात्रामा पानी नआउँदा हजाराँै किसान मर्कामा परेका छन् ।
सबै संरचना करीब ४० वर्ष पुग्न लागेका छन् । नारायणी नदीको पानी नेपालतर्फ लैजाने र सोही नदीको पानी भारतीय नहरमार्फत भारततर्फ लैजाने गरी यी दुवै संरचना गण्डक सम्झौताअनुसार भारतले निर्माण गरेको थियो । भारतीय गण्डक नहर हरेक वर्ष भारतीय पक्षद्वारा ठूलो रकम खर्च गरेर मर्मतसम्भार हुने गर्दछ तर, नेपाली नहरका संरचनाको बृहत् मर्मतसम्भार हुनसकेको छैन ।
बत्तीस किलोमिटर लामो नेपाली नहरको संरचना गण्डक सम्झौताअनुसार नेपाली किसानलाई सिँचाइ सुविधा पु¥याउने उद्देश्यले निर्माण गरिएको थियो । वर्तमान संरचनाअनुसार पूर्वी नवलपरासीको त्रिवेणीदेखि पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकासम्म नहरको संरचना रहेको पाइन्छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाहेक सात स्थानीय तहमा नहरको संरचना पुगेको पाइन्छ । सो नहरमा आउने पानीमार्फत यस क्षेत्रका किसानलाई सिँचाइ सुविधामा थप सहज बनाउन नेपाली नहर निर्माण गरिएको हो । गण्डक सम्झौताअनुसार नेपाली नहरमा ३०० क्युसेक पानी सञ्चालनमा हुनुपर्ने भए पनि संरचना पुरानो भएकै कारण २०० क्युसेक मात्र सञ्चालन हुने अवस्था रहेको नेपाल गण्डक पश्चिमी नहर सिँचाइ प्रणाली जलउपभोक्ता संस्था मूल समितिका अध्यक्ष हैदर अली मोमीन बताउनुहुन्छ ।
नहरमा पानी नपुगेका कारण सिँचाइ सुविधामा समेत किसानलाई समस्या हुँदै आएको छ । कुलो, नहरको विविध संरचना कमजोर बन्दै गएकाले पर्याप्त सिँचाइ नपुगेको बताइन्छ । नहरमा आउने पानीबाट साविक नवलपरासी जिल्लाका १९ गाविसका किसानलाई सिँचाइ सुविधामा सहयोग पुग्दै आएको छ ।
नेपाली नहरअन्तर्गतका संरचनामध्ये तीन शाखा नहर, सात ‘माइनर’ नहर, २५ मुख्य कुला र १६२ साना कुला रहेका छन् । गण्डक सम्झौताअनुसार भारतले विसं २०३६ मा नेपाली नहरका सबै संरचना नेपाललाई हस्तान्तरण थियो ।






































