भारतीय सीमा अनिश्चितकालका लागि बन्द

काठमाडौँ । भारतको नाका भएर नेपाल भित्रिने व्यक्तिबाट नेपालमा कोरोना संक्रमण बढेको ठहर गर्दै सरकारले भारतसँगको पूरा नाका अनिश्चित कालका लागि बन्द गरेको छ ।

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता केदारनाथ शर्माका अनुसार मन्त्रीपरिषदको निर्णय अनुसार गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको बाक्लो उपस्थिति गराइसकेको छ । अर्काे निर्णय नभएसम्म भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने शर्माले बताए ।

सीमा क्षेत्रमा प्रत्येक तीन किलोमिटरको दुरीमा अस्थायी रुपमा भएपनि प्रहरीको उपस्थिति गरिने भएको छ । रातभर गस्ती गरिने र दिउँसो सीमा क्षेत्रमा आवत जावत गर्ने व्यक्तिका गतिविधिलाई अवलोकन गर्न/देख्न सकिने हुँदा टाडैबाट सतर्कता अपनाइने भएको छ ।

जिल्लाको वस्तुस्थिति अनुसार प्रमुख जिल्ला अधिकारीले थप बलको माग गरे गृह मन्त्रालयले तराईका जिल्लामा थप बल पठाउने पनि तयारी गरिरहेको छ ।

यसैगरी गृह मन्त्रालयले ७७ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गरी एक जिल्लाबाट अर्काे जिल्लामा अनुमति नलिएर आवतजावत गर्न रोक लगाएको छ । यद्धपी यस अघि एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा जान रोक लगाउने निर्णय सरकारले गरिसकेको थियो ।

यो परिपत्रसँगै हिडेरै घर पुग्न हिडेका दैनिक ज्यालादारी मजदुर तथा आम व्यक्तिहरुलाई थप गाह्रो हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here