सामुदायिक वनमा ओइरिए बिदेशी

काठमाडौँ । पाल्पा जिल्ला तुलनात्मक रुपमा रसिलो ठाउँ मानिन्छ । पानीको स्रोत भएकाले नै प्रशस्त हरियाली वनजंगल पाइनु पाल्पा जिल्लाको विशेषता पनि हो ।

पाल्पा जिल्लाको सदरमुकाम तानसेनसँग जोडिएको दमकडामा अँधेरी छरछरे सामुदायिक वन छ । दुई वटा वस्ती बीच रहेका तीन वटा ससना जंगलको भूभागलाई जोडेर यो सामुदायिक वन निर्माण गरिएको हो । बि सं २०५३ सालमा सामुदायिन वनको रुपमा स्थानीयलाई संरक्षणको जिम्मा लगाइएको हो ।

उपाध्यक्ष, दिनेश बस्याल

जिल्ला सदरमुकामदेखि नजिकै रहेको यो सामुदायिक वनका उपभोक्ता २०० घरधुरी रहेका छन् । दलित, जनजातिको बाहुल्यता रहेको यहाँका वस्तीमा थोरै संख्यामा बाहुन, क्षेत्रीको बसोबास छ । यहाँका अधिकांश घरपरिवारको पेशा कृषि तथा पशुपालन हो । त्यसैले वन स्रोतमा आधारित भएर पेशा व्यवसाय चल्ने भएकाले यहाँका बासिन्दा वन संरक्षणका लागि मरिहत्ते गर्छन् ।

संरक्षणका लागि यहाँका उपभोक्तालाई खासै भनिरहनु पर्दैन । वन रहे हामी पनि रहन्छौँ भन्ने चेतना जागिसकेको कुरा समितिका उपाध्यक्ष दिनेश बस्यालले बताए ।
यहाँको दुई गाउँका बीचमा खिर्रेधारा, अँधेरी र छरछरे तीन टुक्रा जंगल मिलेर यो सामुदायिक वन निर्माण गरिएको छ । परापूर्व कालदेखि पाल्पामा देखिने कटुसको वनजंगल यहाँको पनि रैथाने वन हो ।

जब सामुदायिक वन बन्यो अनि समुहका सदस्यहरुको भेलाले तत्कालिन जिल्ला वन कार्यालयका प्रतिनिधिसँगको प्राविधिक सल्लाहमा कटुसको वनलाई बिस्थापित गरी दालचिनी रोपण गर्ने योजना अनुरुप काम भयो ।

वन भित्र अहिले ४००० भन्दा बढी दालचिनी हुर्किसकेका छन् । समितिले दालचिनीबाट फाइदा लिन थालिसकेको छ । कटुसको जंगल दालचिनीको जंगलको रुपमा रुपान्तरण भइसकेको छ ।

दालचिनीमा कोरोना लाग्यो

डिभिजनल वन कार्यालयबाट कार्ययोजना स्वीकृत गराई ४०० बोटको दालचिनीको पात र बोक्रा निकाल्ने योजना थियो समितिको ।

कोरोनाका कारण ४०० बोटको पात टिप्न सकेपनि बोक्रा निकाल्न भने नसकिएको उपाध्यक्ष बस्यालको भनाई छ । चैत देखि जेठ महिनाभित्र पात र बोक्रा टिपिसक्नु पर्ने बेला कोरोनाको सन्त्रासले काम गर्न नपाउँदा समितिलाई यो वर्ष निकै नोक्सान भयो ।

यो वर्ष कोरोनाको डरैडरले तीन हजार ७२५ किलो तेजपात र एक हजार किलो बोक्रा मात्र निकाल्न पाइएको उपाध्यक्ष बस्यालले जानकारी दिए ।

संकलन गरेको पात र बोक्रा पनि समयमै बिक्री गर्न नपाइने चिन्तामा उपभोक्ता छन् । कोरोनाको सन्त्रास अझै लामो समय गयो भने पातमा ढुसी लाग्न सक्ने स्थिति पनि पैदा हुन सक्ने तर्फ समितिले चिन्तित छ ।

न कफी बढ्यो न अम्रिसो फैलियो

कटुसको सट्टामा सुरु सुरुका वर्षमा कफीका बोट लगाइएको थियो वनमा । सुरुका वर्षमा कफि खेतीबाट मनग्यै आम्दानी कमाएको समितिले पछिल्ला वर्षमा कफीको बजार मूल्य घटेसँगै कफी खेतीको उन्नती प्रगतिमा बे्रक लागेको छ ।

उपाध्यक्ष बस्यालका अनुसार मिहिनेत गरे अनुसारको बजारमा कफीको मूल्य नपाएपछि थप खेती बिस्तार गर्ने योजना रोकिएको हो । पछि त गबारो लागेर कफी खेती बिस्तारै घट्दै गयो । कफी खेतीको सट्टा अम्रिसो खेती बिस्तार गरिएको छ ।

अहिले कफीको सानो प्लट मात्र राखिएको छ । बरु अम्रिसोबाट आम्दानी हुने देखिए पनि दुई गाउँको बीचमा अम्रिसो खेती गर्दा हरेक वर्ष अम्रिसोको बोटमा आगो लगाउनु पर्ने भएकाले अम्रिसो खेतीलाई समेत बढाउन नसकिएको पीडा यहाँका उपभोक्तासँग छ ।

अमलामा भरोसा

जंगलसँगै टासिएका मानव वस्ती । अम्रिसो प्रशस्त हुने माटो र पानीको पर्याप्तता हुँदा हुँदै पनि अम्रिसोको प्लटमा आगो लगाउँदा घरमा क्षति हुन सक्ने भएपछि सुन फले झै फल्ने अम्रिसोको रखबाली गर्न नसकिएको पीडा बोकेको यहाँका उपभोक्ताले अमला रोपण गरेर फाइदा लिने प्रयास गरेका छन् ।

उपाध्यक्ष बस्यालले भने, हामीले ७०० वटा अमलाका बोट रोपण गरेका छौँ । त्यसबाट अलि अलि फाइदा लिने बेला भइरहेको छ । त्यसका साथै बिकासे घाँस पनि लगाएका छौँ ।

वरीपरीका बस्तीमा पशुपालनबाट निकै फाइदा लिने बानी बसेको छ । बरु डाले घाँस र भूई घाँसबाबाट पशुपालन गर्दा मनग्यै आम्दानी लिन यहाँका उपभोक्ता पल्कि सकेका छन् ।

जिल्लादेखि राष्ट्रिय पुरस्कार

आत्म अनुशासन भएका उपभोक्ता, संरक्षण सम्बन्धी उच्च चेतना भएकाले यहाँका वनजंगलमा हुने कुनै पनि वन्यजन्तु घर आँगनमा आउँदा समेत शिकार भएको छैन । मृग, तित्रा, कालिजले कहिलेकाँही आँगनमै दोहोरी खेल्छन् तर यहाँका समझदार उपभोक्ताले अहिलेसम्म तिनको शिकार गरेको घटना छैन, उपाध्यक्ष बस्यालले दाबी गर्दै भने ।

पानीको मूल प्रशस्त छन् बनभरी । अनि यही वनको पानी हरेक घर घरमा पुगेको छ । हरेक वर्षका तीन दिन दाउरा खुलाउने प्रचलन छ सामुदायिक वनको । वर्षभरीलाई उपभोक्ताले दाउराको जोहो यही वनबाट गर्ने गरेका छन् । घाँसको ठेक्का लगाउने यहाँको समितिले आफूले पनि कमाउँछ र किसानलाई समेत कमाउने आधार खडा गरिदिएको छ ।

पशुपालन, तरकारी खेती पानी भएकै कारणले यहाँ लटरम्म फल्छ । हरेक बिहाना दूधका भाडा बजारतिर दौडिन्छन् यहाँबाट । बाख्रा पालन, बंगुरपालन पनि कम छैन यहाँको ।

यी सबै व्यवस्थित कुरा देखेर जिल्लास्थित पाउने वनदेवी पुरस्कार देखि लिएर वन विभागले प्रदान गर्ने गणेशमान सिँह सामुदायिक राष्ट्रिय पुरस्कार समेत यो समितिले पाएको छ ।

उपाध्यक्ष बस्यालले भने, यो नै हामीलाई गर्वका विषय हो । उपभोक्ता त खुसी छन्् नै । जिल्ला देखि राष्ट्रिय स्तरसम्म हाम्रो गरेको कामको कदर भएको छ ।

गिद्धले डाके बिदेशी

सामुदायिक वनको बीचमा करिब सय वर्ष पुरानो अनुमान गरिएको ठूलो सिमलको रुख छ । विगत धेरै वर्षसम्म यो रुखले दर्जनौँ गिद्धलाई आश्रय दियो । यही देखेर बिसिएनले सामुदायिक वनसँग सहकार्य गरेर गिद्ध संरक्षणको काम पनि गर्यो ।

गिद्धको संख्या बढ्दै गएपछि सामुदायिक वनको यति बिघ्न प्रचार भयो कि बेलायत, जापान, फिलिपिन्स, पोल्याण्ड लगायतका देशबाट गिद्धका बारेमा अध्ययन गर्न आउने बिदेशीको ओइरो लाग्न थाल्यो ।

त्यो बेलाको चमक धमक सम्झदै उपाध्यक्ष बस्याल भन्छन्, त्यति बेला धेरै बिदेशी आए । समुदायको आम्दानी पनि बढ्यो । हाम्रो सामुदायिक वनको प्रचार नेपालमा मात्र होइन, बिदेशमा भएको देख्दा निकै गर्व लाग्थ्यो ।

त्यो गर्व धेरै वर्ष टिक्न सकेन । जब बेलायतको एक अध्ययन टोली आएर हप्तादिन सम्म ठूल्ठूला क्यामरा रुखमै जडान गरेर बसेको घटना पछि गिद्धले त्यो रुखलाई बिस्तारै छाड्न थाले । त्यो क्रम बढेपछि अहिले गिद्धले त्यो बुढो सिमलको रुखलाई बिर्सेर गए ।

उपाध्यक्ष बस्यालका अनुसार अहिले सिनो फाल्दा मात्र गिद्ध आएर त्यो सिमलका रुखमा बस्छन् तर गुड लगाउने काम गरेको छैन । सिनो छन्जेल दुई ÷तीन दिनसम्म गिद्ध बस्ने गरेपनि पहिले जस्तो बाह्रैमास बस्ने गरेका छैनन् ।

आगामी योजना

कोरोनाले सबै सपना चौपट पार्यो । बस्यालले भने, अब प्रदेश सरकारसँग मिलेर समितिले सितागी च्याउको खेती गर्ने योजना बनाएको छ । प्रशस्त पानी छ । च्याउको सम्भावना प्रशस्त छ । केही न केही त गर्नै पर्यो । समुदायको हितका लागि लाग्ने बानीले होला, अहिले के गरौँ के गरौँ भइरहेको छ ।

नजिकै रहेको पाल्पा सदरमुकाम पानीको अभाव खेप्नु परेको छ । तर यहाँको वनजंगलले नजिकका उपभोक्तालाई बाह्रैमास पानीको सेवा प्रदान गरिरहेको छ । पानी सम्पूर्ण चराचरको जीवन र जगतसँग जोडिएकोले पानीको संरक्षणका लागि भएपनि समिति वनजंगल जोगाउन अग्रसर भइरहने बस्यालको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here