साँच्चिकै मान्छे बनायो सामुदायिक वनले

काठमाडौँ । चितवनको उत्तरी क्षेत्र । घरमाथिको भिरालो जमिनमा बाक्लो वनजंगल । के छोरा होस् वा छोरी । कि बंगुरको गोठमा काम गर्नुपर्ने कि बाख्राको पछाडी जंगलतिर दुर्गनुपर्ने । अझै छोरा मान्छेले अलि अलि आराम गर्न पाएपनि छोरी, बुहारीले रातको दुई÷चार घण्टा सुत्ने बेला बाहेक आराम भन्ने कुरा हुँदैनथ्यो ।

खेती किसानी नगरेर, उकाली, ओराली नखेपेर, भारी नबोकेर खान लगाउन पाउने भन्ने कल्पना पनि गर्न नसकिने अवस्था । घाँस दाउराको भारी बोक्नु पर्ने भएकाले वनजंगलको माया पुरुषलाई भन्दा बढी महिलालाई लाग्नु स्वभाविक थियो ।

२०६७ सालतिरको कुरा हो । जिल्ला वन कार्यालयमा डिएफो थिए, यमबहादुर थापा । गाउँघर माथिको चुरे महाभारतको वनजंगल विगत दुई दशक देखि संरक्षित वनको रुपमा संरक्षण गर्ने काम भइरहेको थियो । सो वनलाई समुदायमा हस्तान्तरण गरेर संरक्षणको जिम्मा दिने कुरो चल्यो ।

वन ऐनको तत्कालिन व्यवस्था अनुसार सो संरक्षित वनलाई एउटै सामुदायिक वनको रुपमा दिन नमिल्ने स्थिति भयो । ठूलो क्षेत्रफल भएकाले देबी ढुंगा सामुदायिक वनलाई दिन मिल्ने १९९ हेक्टर वन क्षेत्र सोही समुहलाई दिइयो भने बढी भएको वनक्षेत्र डिएफओ थापाले करिब ५७ हेक्टर वन क्षेत्र महिलाको मात्र समुह बनाई हस्तान्तरण गर्ने निर्णय गरे ।

सामुदायिक वनको नाम पनि चेलीबेटी महिला सामुदायिक वन जुराइयो । चेलीबेटी महिला सामुदायिक वन र देबी ढुंगा सामुदायिक वनलाई एकैदिन हस्तान्तरण गरिएको हो ।

कुरो २०६७ साल कात्तिक १५ गतेको हो । गाउँको विद्यालयको आँगनमा सामुदायिक वन हस्तारण गर्ने कार्यक्रममा लागि मानिसहरु भेला भए र माइक बज्न थाल्यो । चेलिबेटी महिला सामुदायिक वनका संस्थापक अध्यक्ष छमिमाया मगरले त्यो दिनलाई सम्झदै भनिन्, माइक बज्न सुरु के भएको थियो, मेरो त शरिरमा छिटछिट पसिना बग्न थाल्यो । गाउँमा कोही नयाँ मान्छे आउँदा त घर भित्र लुक्ने मान्छे । अब जिल्लाबाट ठूल्ठूला मान्छे आको बेला । अनि कसरी आफ्नो मुख देखाउनु ? हात खुट्टा लगलग काम्न थाल्यो ।

अनि कसरी जानु भयो त ? उनले भनिन्, कि जानै पथ्र्र्याे कि भाग्नु पथ्र्याे । लाग्यो, जे जस्तो पर्ला जान्छु । अनि अरु महिला दिदी बहिनी पनि दोधार थिए । मैले आँटेपछि सबै मेरो पछि लागेर स्कुलको छेऊमा पुग्यौँ ।

देबी ढुंगा सामुदायिक वन महिला, पुरुष सहभागी भएको सामुदायिक वन भएपनि यो भने समितिमा भने सबै ११ जना महिला मात्र रहेका छन् ।

त्यतिबेला चितवनको शक्तिखोर देबीटार क्षेत्रका महिलालाई सामुदायिक वन सरकारले दिएको हल्ला जिल्ला भरी चल्दा धेरै मान्छेले जिब्रो टोकेको कुरा गाउँभरी सुन्नमा आयो । अध्यक्ष मगरले भनिन्, एकातिर लाज लाग्यो अर्काेतिर हिम्मत बढेर आयो । लु जे परे पर्ला अब त यत्रो हल्ला भएपछि नराम्रो काम गर्ने होइन, वनजंगल जोगाउने कुराका लागि अगाडी बढ्नु पर्छ भन्ने लाग्यो ।

यो वस्तीमा चेपाङ, प्रजा,मगर, गुरुङ, दलित बस्ती मात्र छ । सबैभन्दा बढी पढेलेखेको महिला भनेको पाँच कक्षा पास मात्र थियो त्यति बेला । उनले भनिन्, अहिले भुराहरु पढ्न थाले । त्यति बेला त पाँच कक्षा पढेको छोरी मान्छे नै थिएन ।

जिल्लाबाट आएका ठूल्ठूला मान्छेलाई हामीले बोलेको मन पर्यो रे, त्यो सभामा । बोल्ने त बोलियो नि । गाली गरेको होइन । वनजंगल काट्नेलाई हामी छोरी मान्छे मिलेर कालोमोसो दल्न सक्छौँ भनेको हो मैले त । सायद त्यही कुरो मन परेको होला ? त्यो दिन सम्झँदै अध्यक्ष मगरले भनिन् ।

संस्थापक अध्यक्ष मगर हाल पनि अध्यक्ष पदमा छन् । बंगुर गोठबाट बाहिर ननिस्केको मान्छेलाई रेञ्ज पोष्टमा बोलाउँदा कसरी जाने भन्ने समस्या पर्यो सुरुका दिनमा । मगरले भनिन्, छपान, कटान, आदेश के के भन्छ है । यो बोलेको के हो के हो ? अनि मर्ता नहि क्या कर्ता भने झै भयो । त्यो रेञ्जर सरलाई मैले ओ भाई यो कुरा सिकाइदिन्छौँ कि हामी घर फर्कियौँ भनेको त रेञ्जर सर त भाई भनेको सुनेर मजाले हाँस्यो । पछि हामीलाई सबै कुरा सिकायो त्यसले ।

एकै दिन हस्तान्तरण भएको देबी ढुंगाले अर्काे वर्षदेखि काठ बेच्न सुरु गर्यो । यो समुहले भने काठ बेच्ने भन्दा पनि संरक्षणलाई बढी ध्यान दियो । केही वर्ष पछि जिल्ला वनबाट कार्ययोजना स्वीकृत गराएर काठ निकाल्न सुरु गरेको यो वनले आफ्ना सदस्यलाई पहिलो प्राथमिकता दिएर काठ बितरण गर्यो ।


विपन्नलाई हेर्न मन

हुन त देबी ढुंगा र चेलिबेटी महिला सामुदायिक वन क्षेत्र एउटै हो । कागजी रुपमा मात्र फरक फरक हुन् । वन क्षेत्र सर्लक्क एउटै छ । तर देबी ढुंगाले आफ्ना उपभोक्ता चिन्दैन । काठ, दाउरा बिक्री गर्छ तर चेलिबेटी महिला सामुदायिक वनले आफ्ना उपभोक्ताको घर निर्माण, फर्निचर, गोठ निर्माणका लागि धेरै जसो काठ दिन्छ । बचे खुचेको बिक्री गर्ने गरेको छ । अनि गाउँघरका निमूखा जनताले भन्ने गरेका छन्, देबी ढुंगा ठूलाबडाको वन हो । चेलिबेटी महिल सामुदायिक वन गरिब, विपन्नको हो ।


आर्थिक उन्नतीको आधार

यो वनले भएको आम्दानीलाई विपन्न परिवारको आर्थिक अवस्था सुधारमा खर्च गर्ने गरेको छ । एकल महिलालाई बाख्रापालन, बंगुर पालन, तरकारी खेतीका लागि सहयोग गर्ने गरेको छ । जसका लागि एउटा कोष खडा गरेको छ ।

सानो बारी समेत नहुने व्यक्तिले बाख्रा तथा बंगुर पालनबाट जीवन गुजरा मात्र चलाएका छैनन् । छोरा छोरीलाई चितवनमा पढाएर घर घरेडी समेत किन्न भ्याएका छन् ।

बेरोजगारका युवा कामको खोजीमा चितवन, लमजुङ, पोखरा, काठमाडौँ, नवलपरासीतिर जाने गरेका छन् । घरमा हुने महिलाले तरकारी खेती, भैँसी पालन, बंगुर तथा बाख्रा पालनबाट पुरुष भन्दा बढी कमाउने गरेका छन् । अध्यक्ष मगरले भनिन्, पहिलेको जस्तो छैन । केही गरौँ भन्ने महिला दिदीबहिनीलाई सामुदायिक वनको कोषले सहयोग गर्ने गरेको छ ।

समितिले विद्यालयको शिक्षकको तलब व्यहोरिदिएको छ । महिला साक्षरता वृद्धि गर्न छात्रावृत्ति दिएका छौँ । जसले गर्दा आज घरघरमा छोरीहरु पढेलेखेका भएका छन्, अध्यक्ष मगरले भनिन् ।


चेतनाको स्तर चुलियो

हुन त देबी ढुंगा सामुदायिक वनमा पनि महिलालाई अनिवार्य सहभागि गराउनु पर्ने कुरालाई आत्मसात गरिएको छ । तर त्यहाँ निर्णय भने पुरुषले नै गर्ने गरेका छन् । तर यो सामुदायिक वनमा भने महिलाले नेतृत्व गरेको हुँदा सबै निर्णय गर्ने महिला नै छन् । जसले गर्दा नेतृत्वको उच्चतम विकास भएको छ ।

अध्यक्ष मगरले भनिन्, पहिले बंगुरको गोठमा मात्र देखिने महिला कसैसँग बोल्नु परे पाँच कोश टाढा भाग्थे अहिले भने भन्न, बोल्न डर मान्दैनन् ।

अहिले गाउँघरमा महिला हिंसाको घटनामा कमी आएको छ । समितिले महिला र पुरुषलाई राखेर जोडी कानूनी शिक्षा सञ्चालन पनि गर्यो । फलस्वरुप घरमा जाँड रक्सी खाएर हुने झैँझकडामा कमी आएको छ ।

समितिले महिला स्वास्थ्य शिविर राखेपछि अहिले महिलाहरु आफ्ना रोग लगायतका स्वास्थ्य समस्याका बारेमा समितिमा कुरा राख्ने गरेका छन् । जटिल खालका रोगको पनि उपचार गर्न सहज भएको छ ।

अध्यक्ष मगरले भनिन्, पहिले बच्चा जन्माउँदा खोला,खोल्सी, गैरो ठाउँमा जाने चलन थियो । अहिले भने सके अस्पताल नभए घरमै बच्चा जन्माउने बानी परेको छ । हामीले बेला बेला महिलाका लागि मात्र भनेर स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेका छौँ ।

साँच्चिकै मान्छे बनायो

जब महिलाहरुले सामुदायिक वनको नेतृत्व गर्न थाले अनि गाउँघरमा हुने सबै कार्यक्रममा सामुदायिक वनका तर्फबाट भाषण गर्न बोलाउने चलन बढ्यो । अनि माइक समातेर बोल्ने बानीको विकास भयो । अध्यक्ष मगरले भनिन्, यो सामुदायिक वनले हामीलाई साँच्चिकै मान्छे बनायो । माइक समातेर भाषण ठोक्ने अवसर दियो । अहिले त कसैभन्दा कम हामी भाषण गर्दैनौँ ।

पहिलेको आफ्नो अवस्था र अहिलेको फेरिएको अवस्था सम्झँदै आँखाबाट आशु झार्दै भनिन्, सामुदायिक वनले हामीलाई गोठबाट बाहिर ल्यायो । मान्छेका अगाडि बस्न, खान, हिड्न, डुल्न सिकायो । अहिले पुरानो कुरा सम्झदा लाग्छ, पहिले त हामी उही पशु जस्तै रहेछौँ, खाने र शौच मात्र गर्ने । तर अहिले हामी मान्छे बनेका छौँ । अन्याय सहदैनौँ । अन्याय गर्नेलाई सके माफी मगाउन्छौँ, नमाने कानूनी कारवाहीमा जाने गरेका छौँ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here