वार्डेन सम्मेलन सुरू, चुनौती चिर्न गम्भीर छलफल हुने

काठमाडौँ । ३८ औँ वार्डेन सम्मेलन तथा २० औँ मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको बैठक शुक्रबारबाट पार्क भिजेज रिजोर्ट काठमाडाँैँमा सुरू भएको छ ।

सम्मेलनमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गतका १२ वटा राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष, छ वटा संरक्षित क्षेत्रका संरक्षण अधिकारीहरु, १३ वटा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधि, नेपाली सेनाको सहभागिता रहेको छ । सम्मेलन तीन दिनसम्म चल्ने छ ।

सम्मेलनको वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले उद्घाटन गरे । उद्घाटन मन्तब्यमा मन्त्री यादवले आफ्नो पालामा संरक्षणमा केही गतिला काम हुने प्रतिवद्धता व्यक्त गरे । उनले वन्यजन्तुमैत्री भौतिक पूर्वाधार निर्माण कार्यविधि मन्त्रिपरिषदबाट पारित गर्दा पनि निकै चलखेल भएको बताए ।

उनले भने, चितवनको सडकमा खनेको खाडलमा गैँडा पुरिइ सक्यो तर कार्यविधि पास गरौँ भन्दा कसैले मान्दैन । मन्त्रीपरिषदमा पनि निकै रस्साकस्सी भयो, चलखेल भयो तर पनि लामो संघर्ष गरेर पास गर्न सफल भयौँ ।

उनले भने, यो कार्यविधि पास भएपछि भौतिक पूर्वाधार निर्माण गर्ने निकायहरु एक पटक वन्यजन्तुको बारेमा सोच्न बाध्य हुनेछन् । यसले भविष्यमा क्षति कम हुने आशाा राख्न सकिन्छ ।

शुन्य शिकार वर्ष मनाउन नपाएकोमा उनले गुनाशो व्यक्त गरे । उनले भने, सधै वन्यजन्तुमा हानी नोक्सानी भएको मात्र सुनिन्छ । शुन्य शिकार वर्ष मनाउन नपाउनु गम्भीर कुरो भएको छ ।

लिखित भाषण गरेका मन्त्री यादवले संरक्षणमा भएका प्रगतिको खासै ब्याखा नगरेपनि अधिकांश समय समस्याको बारेमा बोले । वन्यजन्तुलाई जलवायु परिवर्तन देखि लिएर संघीयताको विकासले समस्या पारेको बताए । मन्त्रालय, विभाग र फिल्डका कर्मचारी, नेपाली सेना, संरक्षण साझेदार संस्थालाई सम्झेका मन्त्री यादवले मध्यवर्ती क्षेत्रका समुदायको योगदान बारे खुलेर बोलेनन् ।

दुबै कँडेलका दमदार कुरा

उद्घाटन कार्यक्रमका विशेष अतिथि वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले मातहतका निकायको अथक मिहिनेत र इमान्दारिता, नेपाली सेनाको महत्वपूर्ण योगदान, संरक्षण साझेदार संस्थाको उल्लेख्य सहयोग र स्थानीय समुदायको निस्वार्थ लगानीको प्रतिफल नेपालले संरक्षण क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल भएको बताए ।

संरक्षणको सवाल दीर्घकालिन रणनीति भएकाले यसमा सबै सरोकारवाला निकायको उत्तिकै तथा निरन्तर सहयोग, सद्भाव र समन्वयको खाँचो रहने धारणा उनले राखे ।

सचिव डा. कँडेलले भने, ‘‘जनताको सहभागिता बिना आजको उपलब्धी हासिल गर्न सकिदैनथ्यो । यो कुरालाई सरकारले ध्यान दिएर हेरिरहेको छ । पछिल्ला दिनमा मध्यवर्ती क्षेत्रभित्र केही समस्या देखिएका छन् । तिनलाई नयाँ ढंगले सम्बोधन गर्न मन्त्रालयले केही होमवर्क गरिरहेको छ ।’’

सचिव डा. कँडेलले सबै कर्मचारीले उत्तिकै मिहिनेत र लगनशिलता नदेखाएको बताए । उनले भने, हामी आआफ्नो ठाउँबाट इमान्दार भएर हेरौँ । कहि कतै हाम्रा पनि कमजोरी त भएका छैनन ? अरुलाई मात्र औलो ठड्याउने प्रवृतिले ठिक ठाउँमा पुगिदैन ।

केही जिम्मेवारी पदाधिकारीले सामाजिक सञ्जालमा आफ्ना मनका कुण्ठा पोख्ने गरेको प्रति सङ्केत गर्दै सचिव डा. कँडेलले भने, ‘‘तपाईहरुका सामाजिक सञ्जालका लेखाई, टिप्पणीहरुले के भनिरहेको छ ? पहिले आफूलाई हरेर अनि मात्र अरुको बारेमा सामाजिक सञ्जालमा टिप्पणी गर्नुहोस् । यस्तो प्रवृति राम्रो होइन । यसको मूल्याङ्कन पनि हुन्छ ।’’

सम्बोधनका क्रममा विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले स्थानीय समुदायलाई संरक्षणको ‘तेस्रो खुट्टो’ भनेर सम्मान व्यक्त गरे ।

उनले भने, ‘‘पार्क, नेपाली सेना र स्थानीय समुदायको एकीकृत मिहिनेतको प्रतिफल आज हामीले देखिरहेका छौँ । यी तिनवटा निकायलाई सहयोग गर्ने संरक्षण साझेदार संस्थाको योगदान पनि कम छैन ।’’

मावन वन्यजन्तु द्वन्द्वमा वन्यजन्तुलाई दोष देखाउने प्रवृतिको महानिर्देशक कँडेलले कडा प्रतिबाद गर्दै भने, ‘‘कोर एरियामा गएपछि बाघले न झम्टेर के गर्छ ? बाघले पनि आफ्नो सुरक्षा हेर्छ । निकुञ्जभित्र छिरेर घाँस, दाउरा काट्ने, निउरो टिप्ने, गलत काम गर्न हिड्नेलाई बाघले झम्टेको छ । तर बाघ बाहिर आएर दुर्घटना भएको एकाध घटना बाहेक अरु छैनन् । सबै घटनामा बाघलाई दोषी बनाउनु हुँदैन ।’’

आचार्यले आशा जगाए

विभागका पूर्व महानिर्देशक डा. कृष्णप्रसाद आचार्यले नेपालको संरक्षण क्षेत्रलाई ‘आशा लाग्दो र भविष्य भएको क्षेत्र’ को संज्ञा दिए । सचिवबाट सेवा निवृत भएपछि पनि विभागको राम्रो समाचार पढ्दा, सुन्दा गर्व लागेर आउने र विभागको नराम्रो खबर सुन्दा दुख्ख लाग्ने गरेको उनले अनुभव सुनाए ।

आफ्नो पालामा वन मन्त्रालय भित्र निकै जल्दोबल्दो सहसचिवका रुपमा देखा परेको आचार्य पहिलो पटक २०६७ साल विभागको महानिर्देशक भएका थिए । उनले विभागमा बजेट थप गर्ने र जनशक्ति बढाउने कामको थालनी गरेका थिए ।

हरेक तीन÷तीन महिनामा आफ्ना गतिविधि सार्वजनिक गर्न सञ्चारकर्मीहरुसँग बस्ने गरेका तत्कालिन महानिर्देशक आचार्यले सेवानिवृत भएपछिको पहिलो सार्वजनिक कार्यक्रममा भने, ‘‘संघीयताले संरक्षणमा चुनौती थपेको छ । तर यसलाई अवसरका पनि रुपमा लिनु पर्छ । हामी सेवा निवृत भएपनि पछिल्लो पुस्ताले हाम्रो भन्दा राम्रो काम गरेको छ । क्षमतावान पुस्ता छ । अनि हामी १९ जना पूर्व महानिर्देशक घरमा बसेर तपाईको कामको प्रशंसा गरिरहेका हुन्छौँ ।’’

उद्घाटन समारोहमा गैँडा विज्ञ डा. शान्तराज ज्ञवाली र विभागका इकोलोजिष्ट गणेश पन्तले मूख्य प्रजातिको अबस्थामा सुधार ः स्वस्थ वातावरण र समृद्धिको आधार भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमा वन्यजन्तु संरक्षणको अबस्था, चुनौती, पुर्नस्थापनको विधि र अभ्यास लगायतका विषयहरु समेटिएका थिए ।

मध्यवर्ती व्यवस्थापन समिति समन्वय समितिका अध्यक्ष धावा लामा तामाङले आफ्ना मागहरु पूरा हुन नसकेको गुनाशो व्यक्त गरे । उनले भने, गरिवलाई दिउँला नभन्नु, राणीलाई लिउला नभन्नु भन्ने उखान छ । हामीलाई सरकारले किन दिउला भन्यो, अहिले किन दिन आनाकानी गरिन्छ । मध्यवर्तीको अवधारणा अनुसार नीति, नियम बन्नु प¥यो अनि संरक्षण प्रभावकारी हुन सक्छ ।

अध्यक्ष तामाङले भने, न अदालतले हाम्रो कुरा सुन्यो न विभाग र मन्त्रालयले हाम्रो कुरो सुन्छ । संघीयता पछि मध्यवर्तीको एकोहोरो दोहन हुँदै जान थालेको छ । यसमा सरकार किन मौन बसेको हो ?

उद्घाटन शत्रमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रभित्रका आमा समुहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

२०३७ सालमा विभाग स्थापना भएपछि २०३८ सालबाट हालसम्म हरेक वर्ष यो सम्मेलन हुने गरेको छ । २०६४ सालदेखि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको बैठकलाई पनि यही सम्मेलनसँगै आयोजना गरिने गरिएको छ । हाल निकुञ्ज र मध्यवर्ती क्षेत्रले नेपालको कुल वनक्षेत्रको २३ प्रतिशत वनजंगल ओगटेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here