मृत्यु संस्कार कसरी गर्छन् हात्तीले ? डा. अशोककुमार रामको अनुभव

काठमाडौँ । आज विश्व हात्ती दिवस । सबै संरक्षणकर्मीहरुमा हात्ती दिवसको शुभकामना ।
हालै मात्र हात्तीको विषयमा विद्यावारिधि प्राप्त गरेका डा. अशोककुमार रामसँग यस अंकमा हात्तीका विषयमा बहस गरेका छौँ ।
हात्ती बारे डा. अशोककुमार रामकै शब्दमा :

पछिल्ला दिनमा नेपालमा हात्तीको संरक्षण भन्दा हात्तीलाई तर्साउने, लखेट्ने, धपाउने, जिस्काउने संस्कारको विकास भइरहेको छ । यसको ज्वलन्त उदाहरण केही समय अघि कोशी टप्पुमा बस्दै आएको मकुना हात्तीलाई करेन्ट लगाएर मारियो ।

अनुसन्धानका क्रममा डा. अशोककुमार

पूर्वी नेपालको झापा भएर प्रवेश गरेका मकुनाका अरु सबै साथीहरु मरिसकेका थिए । त्यो झुण्डबाट लामो समयसम्म बाँच्न सफल मकुनाको पनि करेन्ट लागेर मृत्यु भयो । यो दुर्भाग्य हो ।
हात्तीको संख्यालाई हेर्ने हो भने नेपालमा पछिल्ला दिनमा संख्यामा वृद्धि भएको छ ।

२०३० सालतिर नेपालमा हात्तीको संख्या मुश्किलले ५० वटा थियो भने अहिले आएर २२७ सम्म रहेको अनुमान गरिएको छ । यो सुखद पक्ष हो तर पनि हात्तीलाई अरु जनावरभन्दा निकै थ्रेट रहेको छ ।

हात्तीको ज्यान ठूलो छ । खाना निकै धेरै चाहिन्छ । हिडि रहनु पर्छ । तर हिड्ने बाटोघाटोहरु सबै मानिसले बन्द गरिदिएका छन् । उसले हिडडुल गर्ने बाटोमा ठूलठूला सहर बसेका छन् अनि मानिसँग द्वन्द्व हुनु स्वभाविक हो । यसले मानिसलाई भन्दा हात्तीलाई नोक्सानी भइरहेको छ । नेपालमा हात्तीको चोरी शिकारीबाट खासै डर देखिदैन ।

अनुसन्धानका क्रममा डा. अशोककुमार

तर पछिल्ला वर्षमा झापामा ३, उदयपुर, कैलाली, र चिवतनमा एक ÷एक हात्ती मारिएका थिए । ती मध्य तीन वटाको दाह्रा चोरिएका हुँदा चोरीशिकारीको निशानामा पनि हात्ती पर्दै आइरहेका छन् । चोरी शिकारी गरेको यो संख्या बाघ, गैँडाको जस्तो ठूलो स्केलमा भने देखिदैन ।

नेपालमा पर्सा राष्ट्रिय निकुञ्जमा रैथाने हात्तीको झुण्ड रहेको छ । चितवन, बर्दिया, शुक्लाफाँटामा र पूर्वी नेपालको झापामा मौसमी बसाई सराई गरेर आउने हात्तीको संख्या बढी रहेको छ ।

हात्तीसँगका घटना विशेष गरेर जंगलको छेउछाउमा साँझको समयमा बढी हुने गरेका छन् । गोठाला जाने, घाँस दाउरा गर्न जानेसँग बढी हात्तीको भेट हुने गरेको छ । कहिलेकाँही हात्तीमा गाउँमा पस्दा समेत नराम्रो दुर्घटना हुने गरेका छन् ।

हात्तीले भत्काएको घर

गाउँमा हात्ती पस्दा जाँड रक्सी राखेको ठाउँलाई बढी खोज्ने गरेको देखिन्छ । जाँड रक्सी खाएको मानिसहरु बढी आक्रमणमा पर्ने गरेका छन् । समय, स्थान र खापपानको व्यवहारलाई हेर्दा हात्तीबाट बच्न सक्ने थुप्रै सम्भावना रहँदा रहँदै पनि बेला बेला हात्तीसँग दुर्घटना हुने गरेकोले स्थानीय समुदायलाई सचेतना जगाउनु जरुरी छ ।

हात्ती शान्त प्रिय जनावर हो । यसलाई डिस्ट्रर्ब गरेन भने हात्तीले कसैलाई केही गर्दैन तर यसलाई जिस्काउने, धपाउने लगायतका काम गर्दा हानी नोक्सानी गर्न हात्ती तयार हुन्छ । हात्ती प्राय झण्डमा हिड्न मन पराउन्छ तर पनि कहिलेकाँही समुहबाट अलग्गिएर एक्लो भएको युवा हात्तीको आनीबानी अलि बदमासी गर्ने खालको हुन्छ । त्यस्ता मत्ता हात्तीले समाजमा बढी क्षति गरिरहेका छन् ।

रोनाल्डो, गोबिन्दे, ध्रुबे, मकुना, गणेश लगायतका केही मत्ता हात्तीले जनधनमा क्षति पुरयाएका छन् । यसको मतलब सबै हात्ती नराम्रो छन् भनेर विश्लेषण गर्नु उपयुक्त हुदैन । यदि हात्ती बदमास वन्यजन्तु भएको भए निकुञ्जभित्र घुम्न गएका पर्यटकलाई कति क्षति पुग्थ्यो होला नि त ? हात्तीले त थ्रेट फिल नगरुन्जेल आक्रमण गर्ने बानी खासै हुदैन ।

बर्दियाामा देखिएको भारतीय हात्तीको झुण्ड

हात्ती बस्ने जंगल वरीपरीका बासिन्दा बढी सजग हुनु जरुरी छ । हात्ती नजिकै गएर सेल्फि खिच्ने, लखेट्ने, ढुंगामुडा गर्ने, जिस्काउने जस्ता काम गर्दा हात्ती झन उत्तेजित भई नराम्रा घटना हुने गरेका छन् । हात्तीलाई साथी बनाउन सक्यो भने हात्तीले क्षति कम गर्न सक्छ भन्ने उदाहरण विश्वका अरु मुलुकबाट पनि हामी हेर्न सक्छौँ ।

हात्तीले अन्नबाली खान्छ यो स्वभाविक कुरा हो । अन्नबाली खान्छ भने सरकारले किसानको अन्नबालीको बीमा गर्ने व्यवस्था गर्नुपर्छ । क्षति गरेको बराबरको किसानलाई राहत दिनुपर्छ । त्यसो हुँदा किसानले हात्तीलाई अनावश्यक रुपमा तर्साउने, धपाउने काम गर्ने हुँदैन । फलस्वरुप जनधनको क्षति कम हुने हुन्छ ।

राँको बालेर हात्ती धपाउने कुरा परम्परागत प्रविधि हो । राँको देख्दा हात्ती डराएर भाग्ने गर्छ नै । तर यहाँ त जाँड रक्सी खाएको मान्छे पनि हात्तीको पछाडी दगुर्न थालेपछि इनकाउन्टरमा मानिसहरु पर्न थालेका छन् ।

हात्तीको बाटो चुरेको फेदै फेद हो । चुरेको फेद मानिसले बस्न बाँकी कही छैन । अनि उसले आफ्नो बाटोमा हिड्दा त द्वन्द्व स्वभाविक छ । यसरी मानिसको बस्तीमा हुलका हुल बाँधेर हिड्दा त हात्तीलाई खासै डर हुँदैन तर एक्लो हात्ती हिड्दा त हाई रिस्क हुन्छ । हात्ती पनि मर्न सक्छ र हात्तीले पनि मार्न सक्छ । यस्तो अवस्था आउन दिनु हुँदैन ।

कोशीटप्पुमा देखिएको मत्ता हात्तीको झुण्ड

हात्ती शान्तिप्रेमी जनावर मात्र होइन, संस्कारी प्राणी पनि हो । हात्तीको मृत्यु संस्कार बडो गज्जबको छ । हात्तीको मृत्यु भएमा अरु हात्ती रुने गर्छन् । मृत शरिर वरीपरी माटो खन्छन् । माटो मृत शरिरमा छर्किन्छन् । भेला भएका सबै हात्ती जोरसँग कराउँछन् । रुखका पात भाँचेर शरिरलाई ढाकिदिन्छन् । कराउँदै मृत शरिर वरीपरी घुम्छन् ।

यसले के देखाउन्छ भने मरेको घटनामा बाँचेका हात्तीहरु निकै दुखित हुन्छन् । रुन्छन् । नजिक भएका अरु हात्तीलाई बोलाउन दुखमा सहभागी हुन कराउन्छन् । आफ्नो वरीपरीको २५ किलोमिटरसम्मको अवस्था सुघेर र आवाजको चाल पाउने क्षमता हात्तीमा हुन्छ । त्यस्तो दुखद अवस्थामा २५ किलोमिटर वरीपरी भएका हात्तीहरु जम्मा हुने सक्ने सम्भावना हुन्छ ।

अर्काे कुरा हात्तीले आफ्नो सुरक्षाका लागि आवाजको चाल तथा खतराको अवस्था सुघेर मात्र हिड्ने गरेको हुन्छ । जंगलमा रहेका अरु हात्तीको अवस्था, खाने कुरा तथा थ्रेट लगायतका कुराको ख्याल गरेर मात्र हात्ती अघि बढ्ने गर्छ ।

अध्ययनको क्रममा बर्दियामा डा. अशोककुमार

प्रायजसो मान्छेको डर हात्तीलाई हुन्न । हात्तीलाई उ जस्तै ठूला जनावर बाघ, गैँडा लगायतका वन्यजन्तुको डर हुन्छ । हात्तीलाई नजिस्काउने हो भने हात्तीले लखेटेको घटना कमै भेटिन्छन् । जब हात्तीलाई मानिसले चलाउँछ अनि लखेट्ने गरेका घटना हुने गर्छन ।

नेपालमा हात्ती ज्यादै जोखिममा रहेका छन् । दिनप्रतिदिन बासस्थान साँघुरिदै गएको छ । करिडोरहरु भत्किदै छन् । यस्तो प्रवृति बढीरहने हो भने कालान्तरमा हात्तीसँग मानिसको द्वन्द्व बढ्ने देखिन्छ । त्यसैले करिडोर व्यवस्थापन गर्नु जरुरी छ ।

हात्तीलाई रेडियो कलर गरिँदै

जंगलमा समस्याग्रस्त हात्ती नहुने भन्ने होइन, मानिस आफैमा पनि समस्याग्रस्त हुन्छन् भने हात्ती नहुने भन्ने होइन । तर समस्याग्रस्त हात्तीको पहिचान गरी तिनको रेगुलर मोनिटरिङ गरिनुपर्छ । अनि त्यस्ता हात्तीले पुरयाउने क्षति कम हुन सक्छ ।

मत्ता हात्ती अलि उदण्ड स्वभाव हुन्छन् । चितवन क्षेत्रमा ‘रोनाल्डो’ले हालसम्म २२ जनाको ज्यान लिएको छ भने मकुनाले कोशी क्षेत्रमा २८ जनाको ज्यान लिएको छ । ‘ध्रुुबे’ हात्तीले १८ जनाको ज्यान लिइसकेको छ । यी दुुई हात्तीले अझै चितवन, पर्सा, नवलपरासी क्षेत्रमा बेला बेला उदण्ड मच्चाउने गरेका छन् । त्यस्तै गोबिन्दे, गणेश लगायतका मत्ता हात्तीले ज्यान लिएका छन् । बर्दियामा बेला बेला हात्ती मात्तिएर ज्यान लिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here