पश्चिम सेती सहित दुई आयोजना भारतलाई

काठमाडौँ । सरकारले ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी–६ आयोजनालाई संयुक्त जलविद्युत् परियोजनाको विकास गर्न भारतीय सरकारी कम्पनी एनएचपीसीलाई स्वीकृत दिएको छ ।

लगानी बोर्डको सोमबार बसेको ५२ औँ बैठकले यस्तो निर्णय गरेको हो । बोर्डको अध्यक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा छन् ।

पश्चिम सेती जलविद्युत् आयोजनाले डोटी, डडेल्धुरा, बैतडी र बझाङ जिल्लालाई प्रभावित पार्छ भने सेती नदी –६ जलविद्युत् आयोजना डोटी र अछाम जिल्लाको दोभान क्षेत्रमा निर्माण गरिने प्रश्ताव गरिएको छ ।

यी दुबै आयोजनाबाट निर्माण भएको बिजुली भारतीय बजारमा लैजान सहज हुने भएकाले भारतीय कम्पनीलाई दिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले बताए ।

डोटीको बानढुङ्ग्रीसैन बनलेकबाट कैलालीको लम्कीसम्म प्रशारण लाइन निर्माणको प्रक्रिया सरकारले अघि बढाइसकेको छ । बनलेक र न्यू लम्की गरी दुईटा सवस्टेशन निर्माण गर्न आवश्यक जग्गा अधिग्रहण गर्ने काम सम्पन्न भइसकेको छ ।

न्यू लम्की देखि बरेलीसम्म नेपाल भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि दुई देशबीच कुरा अगाडि बढीसकेको हुँदा यी दुई जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीलाई भारतीय बजारमा लैजान सहज हुनेछ । यी दुबै आयोजनाको निर्माण बोर्डले अघि बढाएको सार्वजनिक नीजि साझेदारी मोडलमा अघि बढाइएनेछ ।

त्यसैगरी बोर्डको बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी—२ जलविद्युत् परियोजना अध्ययनका लागि हिमाल हाइड्रोपावर कम्पनीलाई सर्वेक्षण अनुमति दिने निर्णय गरेको छ । बोर्डको बैठकले नेपालमा दिगो पूर्वाधार विकासमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले आगामी सेप्टेम्बर महिनाको दोस्रो हप्ता दिगो पूर्वाधार लगानी मञ्च २०२२ आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाल, वन तथा वातावरण मन्त्री प्रदिप यादव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, नेपाल सरकारका मूख्य सचिव शंकरदास बैरागी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here