सावेनको विधान माल्दिभ्सले चाँडै पारित गर्ने

काठमाडौँ । सार्क राष्ट्र माल्दिभ्सले दक्षिण एसिया वन्यजन्तु कानून कार्यान्वयन सञ्जाल (सावेन) को विधानलाई चाँडै अनुमोदन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

सावेनका प्रमुख कार्यान्वयन अधिकृत डा. महेश्वर ढकालको एक उच्चस्तरीय प्रतिनिधि मण्डलसँगको भेटमा माल्दिभ्सका वातावरण, जलवायु परिवर्तन तथा प्रविधि मन्त्री अमिनाथ शाउनाले यस्तो प्रतिवद्धता व्यक्त गरेको हो । राट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.महेश्वर ढकालले सावेनका प्रमुख कार्यान्वयन अधिकृतको जिम्मेवारी पनि निर्वाह गरिरहनु भएको छ ।

हाल माल्दिभ्समा रहेको डा. ढकालको नेतृत्वको टोलीले मन्त्री शाउनासँग भेट गर्दै सावेनको विधान अनुमोदन गरी वन्यजन्तुको अवैध व्यापार कारोवार नियन्त्रण गर्न माल्दिभ्स सरकारको प्रभावकारी भूमिकाको खाँचो रहेको धारणा राखेका थिए ।

सावेनको कार्यकारी समितिको दुई दिने बैठक यही बुधबारबाट सुरु माल्दिभ्सको राजधानी मालेमा सुरु भएको छ । माल्दिभ्स सरकारको आतिथ्यमा र इन्टरपोलको सहकार्यमा सुरू भएको बैठकलाई माल्दिभ्स सरकारका वातावरण, जलवायु परिवर्तन तथा प्रविधि उपमन्त्री अलि माजिद उद्घाटन गरेका छन् ।

सो बैठकको अध्यक्षता सावेनका प्रमुख कार्यान्वयन अधिकृत एवम् राट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.ढकालले गरेका थिए ।

मन्त्री अली माजिदले दक्षिण एसियामा हुने वन्यजन्तुको अवैध व्यापारलाई नियन्त्रण र न्यूनिकरण गर्न क्षेत्रीयस्तरमा समन्वय, सहकार्य, नीतिगत स्तरोन्नती र एकरूपता हुन आवश्यक रहेको बताए ।

उनले दक्षिण एसियामा सूचनाको आदान प्रदान तथा समन्वयको लागि सावेन प्रभावकारी संयन्त्रको रूपमा रहेको समेत उल्लेख गरेको सावेनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अमेरिकी क्षेत्रीय वातावरण तथा विज्ञान प्रविधि कार्यालय दक्षिण एसियाका प्रमुख प्याट्रिक गानले दक्षिण एसियामा वन्यजन्तु अपराध नियन्त्रण गर्नका लागि संयुक्तराज्य अमेरिकाले आर्थिक र प्राविधिक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । ।

दुई दिनसम्म चल्ने बैठकमा सदस्य राष्ट्रका प्रतिनिधिहरू तथा वन्यजन्तु संरक्षण तथा अपराध नियन्त्रणमा संलग्न संस्थाका ३० जना प्रतिनिधिको सहभागिता रहेको छ ।

बैठकमा सदस्य राष्ट्रका तर्फबाट वन्यजन्तु संरक्षण तथा अपराध नियन्त्रणमा भएका प्रगतिका सम्बन्धमा प्रस्तुतिकरण गरिने कार्यक्रम रहेको छ । बैठकले क्षेत्रियस्तरमा देखिएका चुनौतिहरूको आधारमा समन्वय तथा सहकार्य गर्ने गरी सावेनको आगामी कार्य योजना तय गर्ने कार्यक्रम रहेको डा. ढकालले बताए ।

दक्षिण एसिया लगायत विश्वभर नै बढिरहेको दुर्लभ एवं लोपोन्मुख वन्यजन्तुहरुको चोरी शिकार र अवैध व्यापार, जैविक विविधता संरक्षणका लागि एक साझा र गम्भिर चुनौतिको रुपमा देखिएको छ ।

दुई वा सो भन्दा बढी देशमा संगठित रुपमा जटिल संजाल मार्फत फैलिरहेको वन्यजन्तु अपराधलाई आपसी सहयोग र समन्वयका माध्यमबाट प्रभावकारी रुपमा नियन्त्रण र नियमन गर्न साथै राष्ट्रिय, अन्तराष्ट्रिय कानून कार्यान्वयनलाई अझ सशक्त बनाउन सावेनको घोषणा भएको हो ।

सावेनमा नेपाल लगायत अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी आठ वटा सदस्य राष्ट्र छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here