बाघ संरक्षण: कभी खुसी कभी गम

काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले संरक्षित क्षेत्रलाई असर नपर्ने गरी संरक्षित क्षेत्रमा होटल, रेष्टुरेन्ट राख्ने तयारी भइरहेको बताएका छन् ।

गुणस्तरीय पर्यापर्यटनको थप विकास गर्ने उद्धेश्यले संरक्षित क्षेत्रमा होटल, रेष्टुरेन्ट राखिने प्रश्ताव विभागले मन्त्रालयमा पठाएको बताए । उनले भने, बाहिर हल्ला भएजस्तो गरेर वन्यजन्तुको नोक्सानी हुने किसिमले होटल, रेष्टुरेन्ट राखिने होइन, त्यसमा सरकारले बिचार गर्छ । सरकार यो विषयमा सचेत छ ।

विश्व बाघ दिवस मनाउने क्रममा बाँके राष्ट्रिय निकुञ्जमा आयोजित कार्यक्रममा महानिर्देशक खड्काले पर्यापर्यटनको थप विकासका लागि सरकारले यो विषयमा छलफल चलाएको बताए । सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने कुरामा नेपालले विशेष रणनीति निर्माण गरेर अघि बढी रहेको बताए ।

राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन आगामी हिउँदे अधिबेशनबाट मात्र पास हुने छाँटकाँट देखिएको उनले बताए । यो ऐन बढी छलफल र अन्तक्र्रिया गरेर ल्याउनु पर्ने भएकाले आगामी अधिबेशनसम्म कुर्नु पर्ने हुन सक्छ । अनि हाल देखिएका मध्यवर्ति क्षेत्रका समस्या समाधान हुने उनको तर्क थियो ।

बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, बाघ पाइने तराई तथा चुरे जोडिएका पहाडी जिल्लाका डिभिजनल वन अधिकृत, मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिका पदाधिकारी, निकुञ्ज जोडिएका नगरपालिकाका प्रमुख, गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, जिल्ला समन्वय समितिका पदाधिकारी तथा स्थानीय समुदाय, संरक्षण साझेदार संस्थाका प्रतिनिधिहरुको सहभागितामा बाँकेमा विश्व बाघ दिवस मनाइएको हो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. केपी ओलीले वन्यजन्तुको पालन गर्ने र संरक्षित क्षेत्रमा पर्यटकको थप संख्या बढाउन होटल, रेष्टुरेन्ट सञ्चालन गर्ने नीतिका साथ सरकारले आफ्ना कार्यक्रम अगाडि बढाइरहेको धारणा व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि रहेका उनले भने, कस्तुरी पालन गरेर एउटा कस्तुरीको १५ पटक सम्म कस्तुरीको बिना बेच्न सकिन्छ ।

उनले भने, चितवनमा टाइगर टप्स जस्तै हरेक संरक्षित क्षेत्रमा होटल तथा रेष्टुरेन्ट सञ्चालन गरेर देशको आर्थिक विकासमा थप टेवा पुर्याउने सकिने थुप्रै सम्भावना छन्, अब ती सम्भावनाहरुको प्रयोग गर्नुपर्छ ।

कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक डा. रामचन्द्र कँडेलले नेपालमा बाघको अवस्था र संरक्षणका लागि भएका प्रयास बारे कार्यपत्र प्रस्तुत गर्दै चुरे क्षेत्रको संरक्षण विना तराईमा बाघको संरक्षण हुन नसक्ने धारणा राखे । उनले बाघको संख्या अभिवृद्धि गर्नका लागि तराईसँग जोडिएको चुरे क्षेत्र निकै सम्भावनायुक्त क्षेत्र भएकाले चुरेको संरक्षणका लागि विशेष योजना सञ्चालन गर्नुपर्ने धारणा राखे ।

चोरी शिकार नियन्त्रणका लागि स्थानीय समुदाय सक्रिय भइरहेको वर्तमान अवस्थामा अझै सुधार आवश्यक भएको उनले बताए । उनले भने, डडेल्धुराको जोगबुडा क्षेत्रमा बाघ देखिएको छ तर त्यो क्षेत्रमा संरक्षणका लागि समुदाय र स्थानीय सरकार सक्रिय हुनुपर्नेमा त्यस्तो भएको देखिदैन । उनले प्रकृतिमा आधारित पर्यापयर्टनको विकासका लागि बाघ अत्यन्तै राम्रो वन्यजन्तु भएको धारणा राखे ।

कार्यक्रममा वन विभागका उपमहानिर्देशक डा. राजेन्द्र केशीले नेपाल भूपरिधि अवधारणा र महत्वको विषयमा कार्यपत्र प्रस्तुत गरे । उनले आफ्नो कार्यपत्रमा चितवनदेखि शुक्लाफाँटासम्म बाघको करिडोर विकास गर्न सक्नुपर्नेमा जोड दिए । उनले भने, वन्यजन्तुको संख्या बढाउन वन्यजन्तुको बसाई सराई आवश्यक हो तर करिडोर निर्माण हुन नसक्दा वन्यजन्तुको संरक्षणमा योगदान पुग्न सकेको छैन । एक ठाउँका वन्यजन्तु अर्काे ठाउँमा ओहोरदोहोर गर्दा आहार तथा संख्या वृद्धिका लागि निकै सहयोग पुग्ने गर्छ ।

कार्यक्रममा जनप्रतिनिधिहरुले बाघ लगायतका संरक्षण कार्यलाई कभी खुसी कभी गम भनेर आफ्ना धारणा राखे । जनप्रतिनिधिले भने, बाघले स्थानीय बासिन्दालाई खाएको छ, झम्टेको छ, घाइते बनाएको छ । तर पनि तिनका आश्रित परिवार बाघ संरक्षणमा लागेका छन् । बाघ हाम्रो सम्पत्ती हो भन्ने कुरामा सचेतना जागेको छ । बाघ संरक्षण गर्दा खुसी त लाग्छ तर बाघले क्षति पुर्याउँदा दुख्ख लाग्छ, कार्यक्रममा जनप्रतिनिधिले भने ।

कसले के भने ?

लाहुराम चौधरी, राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष बाँके

बाँके राष्ट्रिय निकुञ्जले बाघको संख्या बढाउनमा उल्लेख्य भूमिका खेलेको छ । यसमा हामी निकै खुसी छौँ, संरक्षणमा स्थानीय समुदायको योगदान रहेको छ । अब आउँदा दिनमा संरक्षण गरेर मात्र भएन पर्यापर्यटनको विकासका लागि थप कार्यक्रम बारे सोच्न जरुरी छ । बाघ पालेर दुख्ख पनि लागेको छ । खेतीबाली काट्न नपाउँदै वन्यजन्तुले नोक्सानी पुर्याउने हुँदा स्थानीय समुदायमा निराशा आउने गरेको छ ।

अहिले बन्यजन्तुले नोक्सानी गर्न नसक्ने कागती खेती, क्यामामाइल खेतीमा किसानलाई गाउँपालिकाबाट सहयोग गरेको छौँ । युवालाई गस्तीमा सहभागिता गराउने कार्य घटेको छ । त्यतातिर ध्यान दिनुपर्छ । मध्यवर्ति क्षेत्र भित्र रहेको बालुवा, ढुंगा तथा ढलेको काठको सदुपयोग गर्न जरुरी छ । हामीले प्रयोग गर्न नसक्दा बगेर भारत जाने गरेकोले यस तर्फ सोच्नु पर्ने हुन्छ ।

बीरबहादुर सुनार, महाकाली नगरपालिकाका नगरप्रमुख कञ्चनपुर

वन जंगल मासिँदै जाँदा बस्तीमा वन्यजन्तु प्रवेश गर्न थालेका छन् । बाघ संरक्षण सँगै मानवको सुरक्षा पनि आवश्यक छ । बाघ संरक्षण त गर्ने हो तर मान्छेलाई खान्छ अनि निकै दुख्ख लाग्छ । हामी संरक्षणका लागि लाग्न तयार छौँ तर क्षति कसरी कम गर्ने भन्ने योजना आउनु पर्यो ।

वन्यजन्तुले गर्दा खेतीबाली नोक्सानी व्यहार्नु परिरहेको छ । पाकेको खेतीबाली खान पाउन सकेको छैन । गत वर्ष शुक्लाफाँटाबाट निस्केको बाघले एउटा महिलालाई हान्यो, परिवारले उपचार गर्यो तर सरकारले केही हेरेन । अन्ततः घाइतेको मृत्यु भयो । सरकारी अधिकारी आए, फोटो खिचे तर उपचार खर्च दिएनन् । निकुञ्जभित्र र मध्यवर्तिभित्र ढुंगा गिट्टी बालुवा त्यसै नोक्सान भइरहेको छ । त्यसको सदुपयोग गर्नु पर्यो । त्यसको सदुपयोगका लागि हामी प्रदेश मन्त्री र मूख्य मन्त्रीलाई डेलिगेशन गयौँ तर आश्वासन मात्र पाइयो, ठोस व्यवस्था भएन ।

शालिकराम अधिकारी, बाँसगढी नगरपालिकाका प्रमुख बर्दिया

स्थानीय समुदायले अपनत्व ग्रहण गर्न नसक्दा संरक्षणले मूर्त रुप लिन सक्दैन । सेनाको बन्दुक र निकुञ्जका कर्मचारीको बर्दिले मात्र संरक्षण हुन सक्दैन भन्ने प्रमाणित भएको छ । जब स्थानीय समुदाय जाग्यो अनि बाघ पनि बढे । यो कुरा सरकारमा बस्नेले बुझ्नु पर्छ । बाघको संख्या किन बढ्यो ?उत्तर सजिलो छ, समुदायको प्रत्यक्ष सहभागिता छ । संरक्षणका निम्ति लागि रहेको समुदायलाई हेर्ने दृष्टिकोण नेपाल सरकारको के हो ?मध्यवर्ति क्षेत्र भित्रको ढुंगा, गिट्टी बालुवाको सदुपयोग गर्नुपर्छ । त्यसका लागि समन्वय आवश्यक छ । विभागले खुला हुनु पर्यो ।

संरक्षणका लागि समुदायलाई अझ सचेत पार्नुपर्ने, समुदायलाई सक्रिय बनाउने अभियानका लागि समुदायलाई लक्षित कार्यक्रम ल्याउनु पर्छ । पीडित जनताले भित्रको स्रोत उपभोग गर्न पाउँदैन र सरकारले पनि हेर्दैन भने अबको दिनमा कसरी संरक्षण अभियान प्रभावकारी रुपमा सञ्चालन हुन सक्छ ? जनता खुसी हुँदा त ठिक छ तर पीडामा बसेको स्थानीय समुदाय संरक्षणका बिरुद्ध उर्लियो भने अवस्था के होला ?

बाघ अभिशाप नहोस् बाघ बरदान साबित होस् भनेर हाम्रा कार्यक्रम परिवर्तन हुनुपर्छ । निकुञ्जमा व्यापारीलाई भित्रयाएर होटल व्यवसाय सञ्चालन गर्न दिएर जनतालाई खुम्च्याउँने योजना बन्दछन् । यो कदापी स्वीकार्य हुँदैन । केही व्यापारीलाई निकुञ्जभित्र भित्र्याउँदैमा पर्यटक बढ्ने होइन । यो के हो ?आज वन्यजन्तुसँग हाम्रो द्धन्द्ध छ भोली त ती व्यापारीसँग पनि स्थानीय समुदायको द्धन्द्ध हुने त होइन ?

फोटो फिचर

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here