कोरोनाका कारण मिट्यान्स ठप्प

काठमाडौं । रेमिट्यान्सको प्रमुख स्रोतका रूपमा रहेका खाडी मुलुक, अमेरिका, युरोप र भारत कोरोनाको चपेटामा परेपछि रेमिट्यान्स आप्रवाह लगभग ठप्प भएको छ ।

नेपाल राष्ट्र बैंकको माघसम्मको तथ्यांकलाई केलाउँदा रेमिट्यान्स आप्रवाह घटेको देखिएको छ । जब कि माघमा चीनबाहेक अन्यत्र कारोनाको प्रभाव कम थियो ।

गत वर्षका सात महिना (वैशाख–कात्तिक)मा २८ दशमलव ५ प्रतिशतले बढेको रेमिट्यान्स चालू आर्थिक वर्षका सात महिनामा शुन्य दशमलव ५ प्रतिशतले घटेको हो ।

यो अवधिमा ५ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स आएको राष्ट्र बैंकको तथ्यांक छ । कोरोनाका कारण नेपाली मुद्रा कमजोर भई अमेरिकी डलर बलियो हुँदै जाँदा अमेरिकी डलरमा रेमिट्यान्सको आप्रवाहमा शून्य दशमलव दुई प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा हिसाब गर्दा आप्रवाह १६ प्रतिशतले बढेको थियो ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार आव २०५७\५८ मा रेमिट्यान्स आप्रवाहको कुल गार्हस्थ उत्पादनसँगको अनुपात १० दशमलव ७ प्रतिशत रहेकामा आर्थिक वर्ष २०७५\७६ मा २५ दशमलव४ प्रतिशत पुगेको छ ।

नेपाललाई अन्तर्राष्ट्रिय दातृ निकाय तथा मित्र राष्ट्रहरूले प्रदान गर्ने विकास अनुदान (ओडिए) तथा नेपाल भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)को तुलनामा रेमिट्यान्स आप्रवाह अधिक भएकाले हालको अवस्थामा नेपालको विदेशी विनिमय सञ्चितिको प्रमुख आधारका रूपमा रेमिट्यान्स रहेको छ ।

रेमिट्यान्सले परिवारको आम्दानी वृद्धि गरी गरिबी न्यूनीकरणमा प्रत्यक्ष प्रभाव पार्दै आएको छ । नेपाल जीवनस्तर सर्वेक्षण २०६७\६८ अनुसार करिब ५६ प्रतिशत नेपाली घरपरिवारले रेमिट्यान्स प्राप्त गर्ने गरेका छन् । आव २०६०\६१ मा गरिबीको रेखामुिन रहेको जनसंख्या ३०.९ प्रतिशत रहेकामा आव २०७४\७५ मा १८.७ प्रतिशत पुग्नुमा रेमिट्यान्सको महŒवपूर्ण योगदान रहेको छ ।

संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म निरपेक्ष गरिबीलाई एकल अंकमा झार्न रेमिट्यान्स आप्रवाहले मद्दत पु¥याउने विश्वास गर्दै आएकामा अनपेक्षित रूपमा आएको कोरोना भाइरसको प्रभावले दिगो विकास लक्ष्यमा नै नकारात्मक प्रभाव पर्ने सम्भावना बढ्दै गएको छ ।

नेपाल जीवनस्तर सर्वेक्षण २०६७\६८ अनुसार रेमिट्यान्स प्राप्त गर्ने घरपरिवारको कुल आम्दानीको ३१ प्रतिशत हिस्सा रेमिट्यान्सले ओगटेको छ । प्राप्त रेमिट्यान्स रकममध्ये ७८.९ प्रतिशत रकम घरायसी उपभोगमा, ७.१ प्रतिशत ऋण तिर्न, ३.५ प्रतिशत शिक्षामा र ४.५ प्रतिशत घरायसी सम्पत्तिमा खर्च भई रेमिट्यान्स रकमको ०.६ प्रतिशत मात्र बचत गर्ने गरेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आव २०७१\७२ मा १६ जिल्लाका जम्मा ३ सय २० घरपरिवारमा गरेको स्थलगत सर्वेक्षण र सोका आधारमा तयार गरिएको अध्ययन ‘रेमिट्यान्स प्राप्त गर्ने घरपरिवारको बचत तथा लगानी प्रवृत्ति’अनुसार रेमिट्यान्स रकमको २५.३ प्रतिशत अंश ऋण तिर्न, २३.९ प्रतिशत खाद्यान्न तथा लत्ताकपडालगायतका दैनिक उपभोग्य वस्तुमा, ९.७ प्रतिशत शिक्षा तथा स्वास्थ्यमा, ३.५ प्रतिशत विवाह, ब्रतबन्धलगायतका सामाजिक कार्यमा र ३.० प्रतिशत घरायसी सम्पत्तिको खरिदमा प्रयोग गर्ने गरेको देखिएको छ ।

रेमिट्यान्स रकमको २८.० प्रतिशत बचत र १.१ प्रतिशत उत्पादनमूलक क्षेत्र (व्यापार\व्यवसाय) मा लगानी भएको देखिएको छ ।रेमिट्यान्सको रुपमा भित्रिने रकमको अधिकांश हिस्सा उपभोग्य वस्तुमा खर्च भइरहेको देखिए तापनि यसले स्वास्थ्य, शिक्षालगायत घरपरिवारको जीवनस्तर उकास्न योगदान गर्दै आएको राष्ट्र बैंकको बुझाइ छ । यसबाट लगानी र पुँजी निर्माणको माध्यमबाट प्रत्यक्ष रुपमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दै आएको छ ।
वैदेशिक रोजगारीमा जाने कामदारहरूको संख्या आव २०७०\७१ मा अधिकतम ५ लाख २७ हजार ८ सय १४ पुगेको थियो भने यो संख्या आव २०७५\७६ मा २ लाख ४३ हजार ८ सय ६८ रहेको छ । आव २०७६\७७ को पहिलो चार महिनाको तथ्यांकअनुसार कुल रोजगारीमा जाने कामदारमध्ये ७५.३ प्रतिशत खाडी मुलुकतर्फ गएका थिए भने सो अवधिमा खाडी मुलुकहरूबाट प्राप्त भएको विप्रेषण कुल विप्रेषण आप्रवाहको करिब ५०.३ प्रतिशत रहेको थियो ।

अहिले व्यक्तिगत श्रम स्वीकृतिमा १७२ मुलुकमा नेपाली कामका लागि वैदेशिक रोजगारीमा जाने गरेका छन् । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अहिले सरकारले श्रम स्वीकृतिसमेत रोकेको छ । जसले गर्दा अहिले नै कोरोनाको असर सकिए पनि रेमिट्यान्स आप्रवाह बढ्न अझै केही महिना भने लाग्ने नै छ ।

रेमिट्यान्समा कमी आउँदा बैंकहरूको निक्षेप संकलन र कर्जा प्रवाह पनि प्रभावित हुन्छ । अहिले विदेशी विनिमय सञ्चिति ८.५ महिनाको आयातलाई धान्न पुग्ने भएपनि स्थिति सामान्य भएपश्चात रेमिट्यान्स घट्दा सोसमेत दबाबमा पर्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले बताए ।

अहिले विदेशमा रहेका कामदारले काम गरिरहेका उद्योग पनि बन्द भएका छन् । अहिले विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाउने अवस्था छैन । अहिले धेरैवटा मुलुक लकडाउनमा गएको अवस्थामा नेपाल भित्रिने सबै रेमिट्यान्स आप्रवाह बन्द भएको छ ।

कोरोनाको कहरका कारण धेरैजसो नेपाली कामदार फर्केका कारण देशमा उत्पादन बढ्ने अपेक्षा भने गर्न सकिन्छ । जसले गर्दा नेपालको कुल गार्हस्थ उत्पादन जीडीपीमा सकारात्मक प्रभाव पर्नेछ । सरकारले यही बेला जीडीपीलाई योगदान पु¥याउने खालको कार्यक्रम ल्याउन सकेको खण्डमा रेमिट्यान्सको भरमा बचेको नेपाली अर्थतन्त्र ग्रार्हस्थ उत्पादनमा परिणत हुनेछ ।
आव २०७६\७७ को पहिलो चार महिनाको तथ्यांकअनुसार खाडी मुलुकबाट प्राप्त हुने रेमिट्यान्स कुल रेमिट्यान्सको ५०.३ प्रतिशत रहेको छ । यी मुलुकमध्ये सबैभन्दा बढी रेमिट्यान्स कतारबाट १७.७ प्रतिशत प्राप्त भएको छ भने दोस्रो स्थानमा यूएईको १३.४ प्रतिशत रहेको छ । साउदी अरेबिया तथा मलेसियाबाट प्राप्त रेमिट्यान्स कुल रेमिट्यान्सको क्रमशः १२.५ प्रतिशत र ९.७ प्रतिशत रहेको छ । बहराइन तथा कुवेत जस्ता खाडी मुलुकबाट प्राप्त हुने रेमिट्यान्स रकम कुल रेमिट्यान्सको ४ प्रतिशत भन्दा कम रहेको पाइएको छ ।

प्रमुख श्रम गन्तव्य मलेसियामा कामदार जाने क्रम बन्द भएका कारण आव २०७५\७६ मा मलेसियाबाट प्राप्त रेमिट्यान्स पनि घटेको छ । मलेसियासँग द्विपक्षीय सम्झौतापश्चात् आगामी दिनमा मलेसिया जानेको संख्याका साथै त्यहाँबाट प्राप्त रेमिट्यान्स वृद्धि हुने अनुमान गर्न सकिन्छ । यद्यपि मलेसिया पनि कोरोना प्रभावित भएका कारण समस्या हुने देखिएको छ ।

राजधानीका अनुसार खाडी मुलुक र मलेसियाबाहेक रेमिट्यान्स प्राप्त हुने अन्य मुलुकमा संयुक्त राज्य अमेरिका, जापान र दक्षिण कोरिया पनि कोरोनाका कारण समस्याग्रस्त भएका कारण चालू आवमा रेमिट्यान्स ठप्प भई नेपालको समग्र अर्थतन्त्रमा प्रभाव पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here