सुरु भयो हात्तीको पनि लकडाउन

काठमाडौँ । ‘नेपालमा हात्ती पूर्व मेची देखि पश्चिम महाकालीसम्म तराईमा पाइने गर्छन् । ती सबै हात्ती अहिले लकडाउनको स्थितिमा गुज्रिरहेका छन्’ यो भनाई हो, नेपालका हात्तीको विषयमा विद्याबारिधि गर्दै गरेका अशोककुमार रामको हो ।

चीनबाट फैलिएको कोरोना भाइरसको त्रासमा विश्वभरका मानव जाति लकडाउनको घेरामा कैद भइरहेका छन् । धनी, गरिव, कालो, गोरा अनि उत्तर,दक्षिण, पूर्व, पश्चिम सबै क्षेत्रमा बिभिन्न अवस्थामा रहेका मानव जाति लकडाउन रहे जस्तै नेपालका जंगली हात्ती पनि यो मौसममा जंगलभित्रै लकडाउनका स्थितिमा आफ्नो जीवनगुजरा चलाइरहेका छन् ।

अध्येता अशोककुमार राम

अध्येता अशोककुमारका अनुसार बाहिरी वातावरण गर्मी चढ्दै गएका बेला हरियो घाँसपात, स्याउला सोत्तर जताततै नपाइने भएकाले नेपालमा पाइने हात्ती चुरे क्षेत्रका पानीका घोल, मूल, पोखरी तथा तालतलैया नजिककै घेरा बाँधेर बस्ने गरेका हुन्छन् । यो मौसममा जंगल बाहिर सकभर खुट्टा हाल्दैनन् । वनजंगलभित्रको अर्गानिक खानेकुरा खान्छन् । जंगली केरा र भोरलाका पात हात्तीका लागि यति बेलाका स्वादिष्ट भोजन मानिन्छन् । त्यसैले बस्तीतिरको मसलेदार बालीनाली तथा घाँसपात अनि कोकोहोला मच्चाउँदै गरेको वातावरणमा कम छिर्न चाहान्छन् ।

विशेष गरेर मार्च, अप्रिल र मे महिनासम्म हात्ती जंगलभित्र ‘लकडाउन’ कै स्थितिमा बसेका हुन्छन् । जंगलभित्र पनि शितल छहारी खोजेर घाम र खुल्ला अनि सुख्खा क्षेत्रसँग ‘सोसियल डिस्टयान्सिङ’ कै अवस्था कायम गरि राखेको हुन्छ । हात्तीले यो मौसममा सकभर सूर्यको तातो प्रकाश बाक्लो छालामा नपरोस भन्ने चाहना राखेको हुन्छ र पानी र आहार खोज्ने दौरानमा पनि बगर, सुख्खा मैदानको बाटो प्रयोग गर्न चाहदैनन् ।

यो मौसममा हात्तीले ओहोर दोहोर गर्ने बाटो पनि अरु बेला भन्दा अलि भिन्न ढंगले निर्माण गरेको हुन्छ । खोलाको किनारै किनार हिड्न मन पराउने हात्ती अरु बेला जंगलमा घुमे जस्तो यो मौसममा घुमेको भेटिदैन ।

तराईको समथर भाग भन्दा चुरेको खोच जहाँ शितल हुन्छ, नजिक खोलाको पानी बगिरहन्छ, छेउछाउमा हरियो घाँसपात हुन्छ त्यस्तो ठाउँलाई ‘आइसोलेसन पेलेस’ का रुपमा हात्तीले छनौट गरेको बसेका हुन्छन् ।

हात्ती निकै चनाखो प्राणीमा पर्छ । हात्तीको कानको सुन्ने क्षमता निकै ‘खतरा’ हुन्छ । आफु माथि आइपर्न सक्ने सम्भावित अप्ठयारोको उचित समयमै पहिचान गर्न सक्नु हात्तीको खास खुबी मानिन्छ । त्यसैले यो बेला हात्तीको अनुहार हेर्न उसकै आइसोलेसन पेलेसमा जानुपर्छ अनि मात्र ‘गजराज’ को दर्शन पाउन सकिन्छ ।

अध्येता अशोक कुमारले नेपालको पूर्वी क्षेत्र झापा इलामदेखि कोशी टप्प, उदयपुर हुँदै बागमती पूर्व र बागमती पश्चिमको पर्सा, चितवन, बाँके, बर्दिया तथा शुक्लाफाँटा हुँदै ब्रह्मदेव जोगबुडासम्मको हात्तीको अवस्था, बिचरण, आहार बिहारका विषयलाई आफ्नो शुक्ष्म अध्ययनको विषय बनाएका छन् ।

उनी भन्छन्, हात्तीको ‘होम रेञ्ज’ निकै ठूलो भएकाले नै मानव वन्यजन्तु द्धन्द्धमा हात्ती अग्रपंक्तिमा देखिएको हो । हुन त वन जंगलका अरु सबै जनावर बस्ती नजिक आउने जाने गर्छन् तर तिनको होम रेञ्ज सानो हुन्छ । छुस्स आउन्छन् अनि भित्र पस्छन् । जसले गर्दा मानवसँग कम ठोक्किन पुग्छन् । अशोक रामको भनाईमा हात्ती लम्केर हिड्छ, निकै टाढा पुग्छ अनि बाटोमा धेरै थरिका कुरासँग ठोक्किन्छ । फलस्वरुप धेरै दुर्घटना हुने गर्छन् ।

मानव जातिका लागि लकडाउन भइरहेका बेला मानव वन्यजन्तु द्धन्द्धका घटनामा कमी आइरहेका छन् । अशोकले अनुभव सुनाउँदै भने, बाहिरको लकडाउनले वनजंगलमा शान्ति छाएको छ । जुन किसिमको शान्ति वन्यजन्तुले चाहेका हुन्छन् अहिले त्यही भएको छ । अनि वन्यजन्तु बाहिर आएर मानिसलाई क्षति पुर्याउने कुरा भएन नि ।

के लकडाउनले संरक्षणमा साँच्चै केही परिवर्तन ल्याएको होला त ? हात्ती सम्बन्धी अध्येता अशोक कुमारले आफ्नो तर्क यसरी प्रस्तुत गरे, संरक्षणको दृष्टिले मात्र हेर्ने हो भने संसारभरका वन्यजन्तुका लागि ‘शान्तिसँग बिश्राम गर्ने’ दिनका रुपमा यो लकडाउनको अवधि भएको छ । न धर्ति न आकाशमा कोलाहल छ । आकाश र जमिनमा मौसमी फेरबदल बाहेक मानिसले गरेका क्रियाकलापका कारणले फेरबदल नभएको बेला वातावरणीय चक्र र चराचरको आवश्यकीय प्रणाली स्वतन्त्र ढंगले सञ्चालन भइरहेको छ ।

हात्ती अहिले बथानमा हिड्छ कि एक्लै ? उनले भने, हात्ती यस बेला एक्लै हिडोस् कि बथानमा । उसका लागि ‘दिल खुस मन चङ्गा’ भएर बस्ने मौसम हो । पानी तथा आहारको उपलब्धताले पनि हात्ती समुहमा हिड्ने वा एक्लै हिड्ने वातावरण बन्छ । तर चुरेको खोचमा भेटिने हात्ती प्रायः जसो बथानमै हुन्छन् । बथानबाट छुट्टिएको भाले भेटियो भने ज्यादै खतरा हुने गर्छ यो मौसममा । पोथी नपाएको रिस अनि प्रचण्ड गर्मीले ढाड सेकेको आक्रोश एकै पटक पोख्ने स्वभाव भाले हात्तीमा हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here