हामी भट्टावाल होइनौँ, ईट्टा उद्योगी हौँ

धनगढी । नेपाल ईट्टा उद्योग महासंघका पदाधिकारीहरुले आफ्नो पेशा, व्यवसायलाई ईट्टा उद्योगीको रुपमा व्यवहार गर्न सरकारसँग आग्रह गरेका छन् ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत रहेका ईट्टा व्यवसायीसँगको प्रशिक्षण कार्यक्रम पश्चात् सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वन वातावरण राज्यमन्त्री प्रकाश रावलसँगको भेट महासंघका पदाधिकारीले यस्तो आग्रह गरेका हुन् । महासंघद्धारा आयोजना गरिएको प्रदेशस्तरीय सो प्रशिक्षण कार्यक्रम इसिमोडको सहयोगमा सञ्चालन भएको हो ।

महासंघका बरिष्ठ उपाध्यक्ष शंकरबहादुर चन्दको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले राज्यले अरु पेशा, व्यवसाय सरह ईट्टा उद्योगी, व्यवसायीलाई पनि सम्मान र व्यवहार गर्न आग्रह गर्दै ईट्टा उद्योगीले एकोहोरो रुपमा राज्यलाई कर मात्र तिर्ने गरेको तर राज्यले आफ्नो पेशा व्यवसायको प्रवद्र्धन र संरक्षणका लागि एक पैसा पनि खर्च नगरेको भन्दै असन्तुष्टि समेत पोखेका छन् ।

मन्त्री रावलसँगको भेटमा महासंघका बरिष्ठ उपाध्यक्ष चन्दले भने, हामी भट्टावाला होइनौँ , हामी ईट्टा उद्योगी हौँ । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी रोजगारी दिने र राज्यलाई बढी कर तिर्ने ईट्टा व्यवसायलाई राज्यले पनि त्यही अनुसार व्यवहार गर्नुपर्छ । हामीलाई भट्टावाला भन्नुहुँदैन । यसो भन्दा सबैभन्दा बढी रोजगारी दिने उद्योगी, व्यवसायीको सरकारले नै मानमर्दन गरेको ठहरिन्छ ।

चन्दले भने, एउटा ईट्टा उद्योगले कम्तिमा पाँच सय व्यक्तिलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी दिएको हुन्छ । यहाँ पाँच जनालाई रोजगार दिने सुकिलो लुगा लगाएको व्यक्तिको सम्मान हुन्छ तर हाम्रो सम्मान हुँदैन । राज्यले विभेद गर्दा हामीले पनि खल्लो महसुस गरेका छौँ । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा गरी ८० ईट्टा उद्योग सञ्चालनमा रहेका छन् ।

प्रतिनिधि मण्डलमा इसिमोडका कार्यक्रम संयोजक श्रीमति बिद्यावनमाली प्रधानको पनि सहभागिता रहेको थियो । सो अवसरमा कार्यक्रम संयोजक प्रधानले प्रदेश सरकारलाई ईट्टा व्यवसायको संरक्षण र वातावरमैत्री उद्योगको विकासका लागि ठोस योजना ल्याउन आग्रह गर्दै भनिन्, ईट्टा व्यवसायीले आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकताका साथ कार्यान्वायन गरिरहेका बेला प्रदेश सरकारका तर्फबाट पनि आवश्यक नीतिगत, व्यवहारगत रुपमा सहयोग हुनु जरुरी छ ।

ईट्टा उद्योगलाई आधुनिक प्रविधिमा लैजान इसिमोडले प्राविधिक, शीप तथा अन्य प्रशिक्षणका विषयमा सहयोग गरिरहेको बताउँदै कार्यक्रम संयोजक प्रधानले आगामी दिनमा यो व्यवसायलाई अझ वातावरणमैत्री बनाउनका लागि इसिमोडले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
सो अवसरमा महासंघका सुदूरपश्चिम संयोजक बिरबल बिश्वकर्माले हाल व्यवसाय नविकरण तथा दर्ताका प्रक्रियामा भएका झन्झट, दोहोरो, तेहोरो कर उठाइ राखेको विषयमा सुदूरपश्चिम सरकारले गम्भीर रुपमा हेरिदिन आग्रह गरे ।

सो अवसरमा कैलाली ईट्टा उद्योग संघका तर्फबाट अध्यक्ष बिनोद शाहले स्थानीय तहले ईट्टा उद्योगीलाई दिएका बिभिन्न बाधा, व्यवधानका बारेमा मन्त्री रावलको ध्यानाकर्षण गराए ।

मन्त्री रावलले देश सरकार नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिमा अगाडि बढेकोले ईट्टा उद्योगीका जायज मागलाई तत्काल सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, सबै कुरा भारत, चीन र तेस्रो मुलुकबाट आयात गरिरहेका बेला नेपालमा ईट्टा उद्योगीका कारणले ईट्टामात्र आत्मनिर्भर भएको कुरा प्रति सरकार जानकार छ ।

ईट्टा उद्योगलाई प्रोत्साहन गर्न प्रदेश सरकारले सकारात्मक हिसावले कार्यक्रम तथा योजना बनाउने तयारी गरिरहेकोे मन्त्री रावलले बताए । स्मरणीय छ, मन्त्री रावल पनि ईट्टा उद्योगी हुन् । उनले विगत २० वर्षदेखि सो व्यवसायलाई निरन्तरता दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here