डोजर चलेपछि काकाकुल हुँदैछ चुरे क्षेत्र

इलाम । इलामको दक्षिणी चुरे क्षेत्रका दुई स्थानीय तहमा मुहान सुकेसँगै खानेपानीको हाहाकार भएको छ । विशेष गरी पछिल्लो समयमा गाउँ गाउँमा बाटोघाटोका लागि डोजर चल्न थालेपछि पूर्खाैँ पुरानो मूलहरु पनि धमाधम सुक्न थालेपछि यहाँ पानीको हाहाकार मच्चिन थालेको छ ।

जताततै पहाडमा डोजरले चिरा चिरा पार्न थालेपछि र वन फडानी बढ्दै गएपछि भूक्षय र पहिरो गएपछि पानीका मुहान पुर्ने र हिउँदमा मुहान सुक्ने गरेकाले यस क्षेत्रका दर्जन भन्दा बढी गाउँका हाल झण्डै ५० हजार स्थानीय बासिन्दा खानेपानीका लागि खोला र खोल्सा धाउन बाध्य छन् ।

प्राकृतिक कुवा, धारा सुकेसँगै दक्षिणी चुरे क्षेत्रका बासिन्दाले खानेपानीको बढी जसो अभाव झेल्न थालेको धेरै भएको छैन । गाउँमा पानीका मुहान सुकेसँगै दक्षिणी चुरे क्षेत्रका बासिन्दाका लागि खोला र खोल्साका किनार पानीका स्रोत भएका छन् ।

चुरे क्षेत्रमा जङ्गल फँडानी, अव्यवस्थित बसोबास, विकास निर्माणका लागि डोजर चल्न थालेपछि पानीका मुहान सुकेपछि स्थानीयवासीले खानेपानीका लागि सास्ती खेप्नु परेको महमाईका देवीभक्त कुमालले बताउनुभयो ।

चुरे क्षेत्रमा पर्ने माई नगरपालिका र चुलाचुली गाउँपालिका क्षेत्रमा वन फँडानी बढेसँगै वर्षात्मा हुने भूक्षय र बाढीपहिरोले पानीका मुहान पुरिने र सुक्ने गरेको छ । वर्षौँदेखि उपभोग गर्दै आएको पानीको स्रोत सुकेपछि चुरे क्षेत्रका बासिन्दा खोला किनार तथा खेतमा ट्युवेल, इनार बनाई वर्षात्मा धमिलो र हिउँदमा बालुवासहितको पानी खान बाध्य छन् ।
आयस्रोत हुनेले ट्युवेल र इनारको पानी मोटरबाट घरमै तान्छन् भने नहुनेले खोला किनार धाउने गरेको दानाबारीका तेजबहादुर घिमिरेले बताउनुभयो ।

चुरे क्षेत्रको खानेपानी समस्या समाधानका लागि सरकारी निकायबाट प्रयास भए पनि दीर्घकालसम्म पानी हुने मुहान नहुँदा खानेपानी आयोजना अलपत्र छन् । वर्षातमा कुवा तथा धारोमा पानी भए पनि दक्षिणी चुरे क्षेत्रका बस्तीमा हिउँदमा पानीको अत्यधिक समस्या हुने गरेको छ । दिनप्रतिदिन खानेपानीका मुहान सुक्न थालेका छन् । पानीको सङ्कट भएसँगै विद्यार्थीले तिर्खा मेटाउन घरैबाट बोतलमा पानी ल्याउने गर्छन् । चुरे क्षेत्रका विद्यालयमा खानेपानी अभाव हुँदा तिर्खा लाग्दा पिउने र विद्यालय सरसफाइमा समस्या हुने गरेको माई नगरपालिकाका दीपक थेवेले बताउनुभयो ।

विद्यालय परिसरमा खानेपानी नभएकै कारण माई नगरपालिका–४ स्थित कन्काइ उच्च मावि, दीपज्योति प्रावि, महमाईको वीरेन्द्र निमाविलगायतका विद्यालयका विद्यार्थी घरैबाट बोतलमा खानेपानी बोकेर विद्यालय जान बाध्य छन् । विद्यालयले गाउँबाट खोजेर एक गाग्री पानी ल्याए पनि हिउँदमा समस्या हुने गरेको छ । कन्काइ उच्च माविका शिक्षक खेमराज लिम्बू विद्यार्थी पानी खान नजिकको गाउँ जाने गरेकाले पढाइमा समेत समस्या हुने गरेको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here