ब्यापार घाटाको डर लाग्दो स्थिती: नौ महिनामा १० खर्ब घाटा

काठमाडौं । आयात उच्च दर वृद्धिको तुलनामा निर्यात सुस्त हुँदा व्यापार घाटा चुलिएर यस आर्थिक वर्षको ९ महिना (साउनदेखि चैत) मा व्यापार घाटा ९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षको ९ महिना अवधिसँग तुलना गर्दा २२ प्रतिशतले व्यापार घाटा हो।

अहिलेकै दरमा व्यापार घाटा वृद्धि भए यो आर्थिक वर्षको अन्त्यसम्म १४ खर्ब ३० अर्ब व्यापार घाटा हुने अनुमान छ। यो आकार चालु आर्थिक वर्षको बजेटभन्दा ठूलो हो। सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएकोमा मध्यावधि समीक्षामा गरिएको संशोधित अनुमानअनुसार ११ खर्ब ९९ अर्ब रुपैयाँ खर्च हुनेछ।

सवारीसाधनमा २२९ प्रतिशत हाराहारीमा कर र बैंकले दिने ऋणमा पनि मूल्यको ५० प्रतिशत मात्र ऋण दिन पाइने व्यवस्थाले पनि सवारीसाधन आयात निरुत्साहित गरेको छैन।

नेपाल राष्ट्र बैंकले दुई वर्षअघि गरेको अध्ययनमा सरकारले गर्ने खर्चको ७१ प्रतिशत आयातका लागि बाहिरिने गरेको थियो। विकास खर्चतर्फको रकम भने मूल्य अभिवृद्धिमा उपयोग हुन्छ। संघीय संरचनाअनुसार तीन तहको सरकार गठनसँगै तल्लो तहका सरकारमा सवारीसाधन खरिद फेसन बनेको छ।

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैतसम्म कुल १० खर्ब ६१ अर्ब रुपैयाँ आयात भएको छ। निर्यात करिब ७० अर्ब रुपैयाँ हाराहारीमा छ। आयातनिर्यातको हिस्सा विश्लेषण गर्दा नेपालले १ रुपैयाँ मूल्यको वस्तु निकासी गर्दा १५ रुपैयाँ २० पैसा बराबरको वस्तु आयात गरिरहेको हुन्छ।

यस अवधिमा आयात भएका प्रमुख वस्तु पेट्रोलियम हो। पेट्रोलियम आयातमा मुलुकबाट एक खर्ब ८२ अर्ब बाहिरिएको छ। त्यस्तै, एक खर्ब ८ अर्बको फलाम र स्टिल, ९० अर्ब जतिको मेसिनरी, ७० अर्बको सवारीसाधन र ६६ अर्बको विद्युतीय सामग्री आयात भएको छ।

निर्यातमा भने पहिलो सूचीमा पामको तेल छ। यस अवधिमा ७ अर्ब ३४ करोड रुपैयाँको पामको तेल निर्यात भएको छ। ७ अर्ब २४ करोडको धागो, ५ अर्ब ७६ करोडको गलैंचा, ५ अर्ब ६८ करोडको चिया तथा कफी र ५ अर्ब जतिको फलाम र स्टिलका सामग्री निर्यात भएको छ।

यो अवधिमा प्रमुख व्यापार साझेदार भारत र चीनबाट हुने आयातको हिस्सा कुल आयातको क्रमशः ६४.८ र १४.५ प्रतिशत छ भने कुल निकासीमध्ये भारत र अमेरिकाको हिस्सा क्रमशः ६३.४ र ११.४ प्रतिशत छ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here