वन्यजन्तु सप्ताह सुरु : मन्त्रीले दिए यस्तो शुभकामना

काठमाडौँ । आजबाट २५ औँ वन्यजन्तु सप्ताह सुरु भएको छ ।

नेपाल सरकारले हरेक वर्ष वैशाख महिनाको पहिलो सातालाई वन्यजन्तु सप्ताह मनाउने गरेको छ ।

विगतका वर्षमा वन्यजन्तु सप्ताहमा आम नागरिकलाई संरक्षण सचेतना जगाउने उद्धेश्य सहित बिभिन्न कार्यक्रम आयोजना गरेर मनाइने गरेको भएतापनि यो वर्ष भने कोरोना भाइरसको प्रभावले भएको लकडाउनका कारण सबै औपचारिक कार्यक्रम स्थगित गरिएका छन् ।

यसैबीच वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सोमवार बिहान एक शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा उनले भनेका छन्,– मानव, जीवजन्तु तथा वनस्पतिको पारस्परिक सहअस्तित्वबाट नै मानव कल्याण निहित हुने हुँदा सबै वनस्पति तथा वन्यजन्तुको संरक्षण अपरिहार्य हुन्छ ।’

यस वर्ष पनि “पृथ्वीको जीवन्तताः समग्र जीवनको सुनिश्चिता” भन्ने नाराका साथ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा मातहतका निकायले सप्ताहव्यापी कार्यक्रम सहित मनाउन लागिरहेका छन् ।

शुभकामना सन्देशमा मन्त्री बस्नेतले भनेका छन्, वन्यजन्तु तथा जैविक विविधता संरक्षण कार्य अति संवेदनशील र चुनौतिपूर्ण रहेको अवस्थामा संरक्षण र व्यवस्थापनको क्षेत्रमा क्रियाशिल रहनु भएका सबै सरकारी, गैरसरकारी संघसंस्था, समुदाय तथा महानुभावहरुलाई हार्दिक धन्यवाद तथा बधाइ ज्ञापन गर्दछु ।

विश्वको करीव ०.१ प्रतिशत मात्र भू–भाग ओगटेको नेपालमा हालसम्म सूचीकृत विश्वकै करीव १ प्रतिशत जीवजन्तुका प्रजाति तथा करीव ३ प्रतिशत वनस्पतिका प्रजातिको उपलब्धताले नेपाल जैविक विविधताले धनी देश भन्ने प्रमाणित गरेको छ ।

जैविक विविधताको संरक्षणका लागि हालसम्म नेपाल सरकारले १२ वटा राष्ट्रिय निकुञ्ज, १ वन्यजन्तु आरक्ष, १ शिकार आरक्ष र ६ वटा संरक्षण क्षेत्र सहित १३ वटा मध्यवर्ती क्षेत्र घोषणा गरी संरक्षणका गतिविधि सञ्चालन गरिरहेको छ । यी संरक्षित क्षेत्रहरुले नेपालको कूल क्षेत्रफलको २३.३९ प्रतिशत भू–भाग ओगटेको छ ।

संरक्षणको क्षेत्रमा भएका विविध प्रयासहरुको परिणाम स्वरुप बाघ, गैंडा, बाह्रसिंगा, हिउँ चितुवा, रेडपाण्डा (हाब्रे), डल्फिन, घडियाल गोही जस्ता लोपोन्मुख एवं दुर्लभ वन्यजन्तुको संख्या बढ्नु; विगत आठ वर्षमा गैंडाको चोरी शिकार नियन्त्रणमा नेपालले सफलता हासिल गर्दै आएको छ ।

संरक्षित क्षेत्रहरु स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहँदै आएका छन् । वन्यजन्तु लगायतका प्राकृतिक सौन्दर्यताको कारण नेपाल भित्रिने विदेशी पर्यटकहरु मध्ये ६० प्रतिशतसम्मले संरक्षित क्षेत्रहरु भ्रमण गर्ने गरको पाइएकाले नेपालको आर्थिक विकासका लागि पनि संरक्षित क्षेत्रहरु निकै उपयोगी हुने वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीको भनाई छ ।

संरक्षण र व्यवस्थापनमा स्थानीय समुदायलाई अर्थपूर्ण रुपमा सहभागी गराउन, मध्यवर्ती क्षेत्र व्यवस्थापन कार्यक्रम मार्फत संरक्षित क्षेत्रले आर्जन गरेको आम्दानीको ३० देखि ५० प्रतिशतसम्म स्थानीय समुदायको सामुदायिक विकास, जैविक विविधता संरक्षण, आय आर्जन र रोजगारी सिर्जना गर्ने कार्यक्रमहरुमा खर्च हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here