सामुदायिक वनले बनाएको बिजयसाल होमस्टे

काठमाडौँ । २०६० सालअघि गोठबाट निस्केका गाई भैँसी नजिकैको जंगलमा चर्न निस्केपछि घर पनि फर्किदैनथे । गोठालोले घर ल्याए गोठमा पस्थे । घरको मान्छेले अल्छि गरे रातभरी जंगलमा बस्थे ।

खुला चरिचरन थियो । तराईको समथर मैदानदेखि चुरेको फेदीसम्म घना जंगल थियो । गाई भैसीलाई चर्नको अभाव थिएन ।

महेन्द्र राजमार्गदेखि उत्तर तर्फ कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ मा रहेको बाणी बस्ती छ । यो बस्ती रैथाने चौधरी थारुको पुरानो बस्ती हो । यो बस्तीमा करिब ७०० घरपरिवार बस्छन् । त्यसमध्ये ९० प्रतिशत थारु चौधरी र बाँकी अन्य पहाडी समुदायको बसोबास भएको बस्ती नजिकै घना साल, बिजयसाल, सिसौँ, खयर, बाँसको जंगल लोभ लाग्दो थियो त्यति बेला ।

हरीराम डगौरा चौधरी, अध्यक्ष

समुदायमा सबै कृषिमा व्यस्त हुने परिवार थिए । बेरोजगारीको समस्या चर्किदो थियो । यही मौकामा गाउँघर बाहिरका काठ कारोबारीहरु आएर स्थानीय बेरोजगार व्यक्तिलाई प्रयोग गरी काठ तस्करी गर्ने गरेका थिए ।

दिनप्रतिदिन जंगल घट्दै थियो । गाउँबस्तीका युवाको बदनाम पनि हुँदै थियो । अनि गाउँका भद्र भलादमी र जान्ने सुन्ने मानिसको पहलमा सामुदायिक वन बनाउने योजना बारे छलफल चल्यो । स्थानीय गाउँलेको सामुदायिक वन बनाएर संरक्षण गर्ने योजनालाई २०६० सालमा तत्कालिन जिल्ला वन कार्यालय कञ्चनपुरले जनहित महाकाली सामुदायिक वन उपभोक्ता समितिको रुपमा दर्ता गरिदियो ।

दिनदहाडै काठ चोरी हुन्थ्यो, नभए हरेक रात जंगलमा काठ काटेको, रुख ढालेको आवाज गाउँमै सुनिन्थ्यो । जब सामुदायिक वन बन्यो । अनि त्यस्ता क्रियाकलाप बिस्तारै कम हुँदै गए । एकै पटक निमिट्यान्न पार्न त सकिएन तर सामुदायिक वन बनेपछि गाउँलेहरुलाई एकजुट हुन मद्धत पुग्यो । गाउँकै काठ चोरीमा लाग्ने व्यक्तिलाई नैतिक रुपमा सुध्रिन दबाब सिर्जना भयो ।

यस अघि पनि गाउँका मानिसमा जंगल फडानी गर्नु हुन्न भन्ने चेतना नभएको पनि होइन । त्यति बेला जंगल फडानी गर्नु हुदैन भन्ने आवाज झिनो रुपमा उठ्थ्यो । जब सामुदायिक वन बन्यो अनि संरक्षण प्रतिको आवाज बिस्तारै बलियो हुँदै जान थाल्योे ।

हेर्दा हेर्दै खराब हुन थालेको बिजय साल, खयर, सिसौँको घना जंगलभित्र पुनः हरियाली छाउन थाल्यो । ती पुराना दिन सम्झदै जनहित महाकाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरीराम डगौरा चौधरी भन्छन्, एक पटक त जंगलभित्रको रुख विरुवा निकै घटि सकेका थिए । जब सामुदायिक वनको सुरुवात भयो अनि फेरी वनको रुपरंग फेरिन थालेको हो ।

जब सामुदायिक वन बन्यो अनि हात्तीको बथान देखिन थाले । सीमा पारी भारतको जंगली हात्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै चुरेको फेदीसम्म बिचरण गर्न आउन थाले । हात्तीको बथान गाउँघर नजिकको जंगलमा आउँदा एकातर्फ खुसीको कुरो भएपनि अर्कातिर हात्तीले गर्ने नोक्सानीको डर झन बढेर गयो ।

हात्ती मात्र होइन, कति पटक बाघ पनि देखे गाउँलेहरुले । विश्व वन्यजन्तु कोषको तराई भूपरिधि कार्यक्रमले राखेको क्यामरा ट्रयापमा बाघ पनि पर्यो । निलगाई, चित्तलका बथान र बँदेलका हुल देख्दा निकै खुसी लागेपनि बँदेलले बाली नाली नोक्सानीले हैरान पारेको कथा अध्यक्ष चौधरीले सुनाए । यो सामुदायिक वनलाई वन विभागले समेत पुरस्कृत गर्यो ।

वन जंगलको संरक्षण भएपछि वन्यजन्तु पनि बढ्नु स्वभाविक घटना थियो । किसानले मिहिनेत गरेर लगाएको हरेक बालीमाथि बँदेलको आक्रमण हुन थालेपछि सामुदायिक वनले तारजाली लगायो । तारजाली लगाएपछि वन क्षेत्र अतिक्रमण हुने क्रम रोकियो भने जंगलभित्रका बँदेलले बस्तीमा आएर खेतीपाती नोक्सानी गर्ने क्रम रोकिएको अध्यक्ष चौधरीले बताए ।

हात्तीले छावा जन्माएपछि

हरेक वर्षको असोज, कात्तिक मङ्सिर महिनासम्म जंगली हात्तीका बथान देखिन थालेपछि त्यो समयमा जंगलमा खासै मान्छे छिर्दैनथे । हरेक वर्ष हात्ती आउने जाने क्रम चलिरहन्थ्यो । गत वर्ष जंगलमा हात्तीको बथान आएको गाउँलेले थाहा पाए । डरले जंगलमा नछिर्न सामुदायिक वनले गाउँलेलाई अनुरोध गर्यो । एक दिन त जंगलभरी हात्ती निकै बेरसम्म कराए ।

सामुदायिक वनका पदाधिकारीले शिकारीले गोली हानेर कराएको हो कि भन्ने शंका लाग्यो । हात्ती कराउन नरोकिएपछि स्थानीय बासिन्दा हुल बाँधेर जंगलभित्र पस्दा त हात्तीले छावा जन्माएको रहेछ ।

जंगलभित्र खनेको कुलोमा छावा फस्दा माउ हात्तीहरु बेसरी कराएको रहेछन् । छावा माथि उक्लिन नसकेपछि माउ हात्तीसँगै रहेका अरु हात्ती पनि कराउँदा जंगल थर्कियो, गाउँघरमा खैलाबैला नै मच्चियो ।

जुन ठाउँनिर हात्तीले छावा जन्माएको थियो । अचेल त्यो ठाउँमा पूजाआजा हुने गरेको र स्थानीय बासिन्दाको धार्मिक आस्थाको केन्द्र बन्न थालेको चौधरीले बताए । हात्तीलाई भगवान गणेशसँग जोडिएर हेरिने भएकाले सो स्थानमा गएर पूजाआजा गर्ने गरिएको छ । कालान्तरमा गणेशको मन्दिर बनाउने योजना पनि सामुदायिक वनले बनाएको छ ।


बिजय साल र बिजयसाल होमस्टे

यो सामुदायिक वनको खास विशेषता भनेको लोपोन्मुख बिजयसालको जंगल हो । सामुदायिक वन निर्माण गर्नुअघि बिनाशको अवस्थामा पुगेको बिजयसालको जंगल अहिले पुर्नस्थापित भएको छ ।

सामुदायिक वन समितिले बिजयसालको वृक्षरोपण गरेर यसको क्षेत्र बिस्तार गरेको छ । अध्यक्ष चौधरीका अनुसार यहाँको बिजयसालको जंगल लोभ लाग्दो हुँदै गइरहेको छ । बिजयसालको पुरानो काठ, सुख्खा खडा र ढलापडा काठको पनि समुदायले सदुपयोग गरिसकेको छ ।

बिजयसालको जंगल भएकै कारणले यहाँका बस्तीमा होमस्टे सञ्चालन गरिँदा होमस्टेको नामाकरण पनि बिजयसाल होमस्टे राखिएको छ । कञ्चनपुरको यो क्षेत्र लोपोन्मुख बिजय सालको जंगलका लागि प्रख्यात मानिन्छ ।

हाल बिजयसाल होमस्टेले गाउँघरमा आम्दानी दिन थालेको छ । अध्यक्ष चौधरीका अनुसार डिभिजनल वन अधिकृत अजय मानन्धर आएपछि वनसँग जोडिएका धेरै जसो कार्यक्रमहरु यही होमस्टेमा सञ्चालन भएका छन् । होमस्टेसँग एउटा सुविधा सम्पन्न हल रहेको छ ।

शुक्लाफाँटा घुम्न आउने पर्यटकका समुह समेत यो होमस्टेमा बस्न थालेका छन् । अध्यक्ष चौधरीले भने, अजय सरसँग चिनजान भएका सरकारी तथा आन्तरिक पर्यटकहरु सबै जसो व्यक्तिहरु यही होमस्टेमा बस्छन् । जसले गर्दा यो होमस्टेको छिटै प्रचार प्रसार भएको छ ।


थारु संस्कृतिको संरक्षण

होमस्टे सञ्चालन हुन थालेपछि थारु संस्कृतिको संरक्षण हुन थालेको छ । होमस्टेमा आउने पाहुनालाई स्थानीय बासिन्दाले सखिया नाच, लठ्ठी नाच, झुम्रा नाच, बैठकी नाच देखाउन थालेका छन् भने थारु समुदायका पुराना खानपिनका परिकार पनि पाहुनाका लागि नयाँ स्वाद हुन थालेका छन् ।

अध्यक्ष चौधरीले भने, कतिपय हाम्रा संस्कार, संस्कृतिहरु हाम्रो पुस्ताले समेत बिर्सन थालेको थियो । अब ति सबै संस्कृतिहरु पुनः देखिन थालेका छन् । जसलेगर्दा युवा पिढीलाई संस्कृतिका बारेमा जानकारी लिन सहज भएको छ भने संस्कृति, संस्कारको संरक्षणमा मद्धत पुगेको छ ।
समुदायको आम्दानी बढ्यो

सामुदायिक वनले बिजय सालको बीउ संकलन गरेरे बेर्ना र बीउ बिक्री गर्ने गरेको छ । सामुदायिक वन भित्रको नर्सरीमा बिजयसालका साथै सिसौ, खयर, बेतका बेर्ना समेत उमार्ने गरिएको छ । अध्यक्ष चौधरीका अनुसार यी बिरुवाको माग स्थानीय तहमा निकै हुने गरेको छ भने कैलाली, बर्दियाका सामुदायिक वनबाट समेत माग आउन थालेको छ ।

सामुदायिक वन भित्र कुरिलो खेती गरिएको छ । स्थानीय तहमा बासको अत्याधिक माग भएकाले बास रोपणलाई प्राथमिकता दिइएको अध्यक्ष चौधरीको भनाई छ । बेतको जंगल प्रशस्त भएकाले बेतको जंगललाई बिस्तार गर्ने योजना सामुदायिक वनको रहेको छ ।


सामाजिक कार्यमा बढी ध्यान

सामुदायिक वनबाट भएको आम्दानीले संरक्षणका गतिविधि त निरन्तर सञ्चालन भइरहेका छन् । कञ्चन बहुमुखी क्याम्पसलाई सहयोग गरेको छ भने स्थानीय बालकल्याण निम्न माध्यमिक विद्यालयमा पढाउने शिक्षकको तलब समेत सामुदायिक वनले व्यहोर्ने गरेको छ ।

विद्यालयको भवन निर्माण, फर्निचर खरिद तथा मर्मत, सम्भारमा बेला बेला आर्थिक सहयोग गर्दै आएको छ । गाउँघरमा बाटोघाटोमा ग्राभेल गर्ने कार्यमा सामुदायिक वनको रकम खर्च गर्ने निर्णय अनुसार त्यो काम पनि सम्पन्न भएको अध्यक्ष चौधरीले बताए ।

बेला बेला होमस्टेको लागि गरिने छलफल, गोष्ठी, बैठकमा पनि सामुदायिक वनको भूमिका रहने गरेको छ । इको क्लबका गतिबिधि सञ्चालन गर्ने गरिएका छन् ।

स्थानीय किसानलाई आधुनिक कृषि कार्यमा जोड्न सामुदायिक वनले सहजीकरण गरी ट्याक्टर खरिद समेत गर्ने काम भएको छ । जसले गर्दा परम्परागत कृषि प्रणालीलाई परिवर्तन गर्न सहज भएको छ ।


संरक्षणको प्रमुख उद्धेश्य

अतिक्रमणको समस्या तथा वन्यजन्तुको ओहोर दोहोर हुन सक्ने स्थानको पहिचान गरी सामुदायिक वनले तारबार तथा घेरबार लगाउने कार्य गरिरहेको छ ।

फलस्वरुप हाल सुकुम्बासीबाट हुने अतिक्रमण रोकिएको छ भने बँदेलले पुर्याउने क्षतिमा कमी भएको छ । अध्यक्ष चौधरीले भने, बाँदरको आतंक कम गर्न अझै सकिएको छैन । त्यसको उपायको खोजी गरिरहेका छौँ ।

वन भित्र घाँसे मैदानको निर्माण तथा व्यवस्थित गर्ने कार्य पनि भइरहेको छ । चित्तलका लागि घाँसे मैदान बिस्तार र व्यवस्थित गर्नुपर्ने भएको अध्यक्ष चौधरीले बताए ।

सामुदायिक वन भित्र भएर बग्ने मछेली खोलामा बाह्रैमास पानी त बग्छ । तर वन्यजन्तुलाई पानीको व्यवस्थापन गर्नुपर्ने दखिएपछि सामुदायिक वन भित्र रहेको प्राकृतिक तालको पुर्ननिर्माण तथा बिस्तार गरिएको छ । जसले गर्दा अहिले वन्यजन्तु बस्तीतिर पानीका लागि आउने क्रम रोकिएको छ । सामुदायिक वनभित्र नयाँ पोखरी निर्माण गरी माछापालन गरी आम्दानी समेत वनले लिदै आएको छ ।


शीप विकास तथा पर्यटकीय योजना

गाउँघरका किशोरीलाई होजियारी, सिलाई कटाई तालिम दिएर आत्मनिर्भर बनाउने, युवालाई कुलतमा फस्न नदिन सामाजिक सिर्जनात्मक गतिविधिमा लगाउने, महिलाहरुलाई उद्यमशिलतासँग जोड्नका लागि प्रदेश सरकार तथा नगरपालिकासँग सहकार्य गर्ने योजना सामुदायिक वनले बनाएको छ ।

हात्तीले छावा जन्माएको ठाउँमा एक गणेश मन्दिर निर्माण गर्ने, जंगलको बीचमा बस्ती तथा माथि चुरे सम्मको दृश्यावलोकन गर्न सकिने गरी भ्यू टावर निर्माण गर्ने, होमस्टेलाई थप व्यवस्थित गर्ने योजना बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here