बुटवल । राष्ट्रिय वृक्षारोपणको अवसरमा सोमवार लुम्बिनी प्रदेशले एक घण्टामा २० हजार भन्दा बढी बोट रोपेर नयाँ रेकर्ड निर्माण गरेको छ ।
भूटानको राजाको जन्मोत्सवमा एक घण्टामा ५० हजार बिरुवा रोपेर विश्व रेकर्ड कायम गरेको इतिहास छ । नेपालमा भने एउटै प्लटमा एक घण्टामा २० हजार ९१७ बिरुवा रोपेको यो नै पहिलो रेकर्ड हो ।
लुम्बिनी प्रदेश वन तथा वातारण मन्त्रालयका प्रवक्ता दीपक ज्ञवालीले दिएको जानकारी अनुसार नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नम्बर ११ स्थित जरगाहा क्षेत्रमा १५ हेक्टर जग्गामा बिरुवा रोपिएको हो ।
सो क्षेत्रबाट सुकुम्बासीलाई हटाएको हो । हाल खाली चउर, बगरका रुपमा रहेको सो क्षेत्र कुल २९ हेक्टर रहेको छ । बाँकी क्षेत्रमा अब बिस्तारै वृक्षारोपण गरिने पनि ज्ञवालीले बताएका छन् ।
यो कामका लागि ४०० सय प्रहरी, १०० विद्यार्थी, १०० कर्मचारी र १२०० जति स्थानीय बासिन्दाको सहभागिता रहेको थियो । हाल बगर रहेको सो क्षेत्रलाई १६ वटा प्लट निर्माण गरिएको प्रवक्ता ज्ञवालीले बताए ।
वृक्षारोपण गर्ने व्यक्तिलाई निश्चित दुरीमा राखेर हातमा पञ्जा, मास्क सहितको स्वास्थ्य मापदण्ड अनुसार काम गरिएको ज्ञवालीले बताए ।
उनका अनुसार ४ वटा प्लटमा खयर, ३ वटा जामून, एउटा सिसौँ, ३ वटा मसला र ४ वटा टीकको प्लट निर्माण गरिएका छन् ।
प्रदेश सचिव डा.राजेन्द्र केशी र केही महिना अघि दाङको डिभिजनल वन अधिकृतबाट सरुवा भएर मन्त्रालयमा आएको ज्ञवालीको संयुक्त प्रयासले लुम्बिनीमा यो सफलता मिलेको छ ।