संरक्षित क्षेत्रमा झन दवाव बढेको छ : मन्त्री चौधरी

काठमाडौँ । आइयूसिएन राष्ट्रिय समिति नेपालद्धारा आयोजना गरिएको नेशनल कन्जरभेसन फोरम २०२६ बुधबारबाट सुरु भएको छ ।


दुई दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले उद्घाटन गरिन् । बिसौँ राष्ट्रिय संरक्षण दिवसका अवसर पारेर यो कार्यक्रम आयोजना गरिएको हो ।

नेपालमा संरक्षणका काम पूर्खाको पालादेखि नै भएको र मावन वन्यजन्तु सहअस्तित्वको चलन पुरानै भएको चर्चा


सम्मेलनको बुधबार उद्घाटन गर्दै कृषि, वन तथा पर्यावरण मन्त्री चौधरीले नेपालले संरक्षणमा प्राप्त गरेको सफलतासँगै चुनौतीहरु पनि थपिएको बताइन् । उनले भनिन्, संरक्षण क्षेत्रहरुमा पछिल्ला दिनमा झन दवावमा पर्दै गएको छ ।


उनले संरक्षण र विकासलाई एक अर्काको विरोधी नभएको पनि बताइन् । उनले आगामी दिनमा संरक्षण र विकासलाई एकसाथ लैजानुपर्ने बताइन् र भनिन्, अब संरक्षणमा प्राप्त सफलतालाई मुलुकको आर्थिक समृद्धिसँग जोड्नुपर्ने बेला आएको छ ।


वन अतिक्रमण, चोरी शिकार, अवैध व्यापार, वन डढेलो, मिचाहा प्रजातिको विस्तार, विषादीको प्रयोग, जल तथा वायुप्रदूषण, बासस्थान क्षयीकरण र मानव–वन्यजन्तु द्वन्द्व जस्ता प्रमुख चुनौतीहरुले नेपालको जैविक विविधतालाई समस्यामा पारिरहेका पनि उनले बताइन् ।

मन्त्री चौधरीले वन्यजन्तु र मानव बिचको द्धन्द्ध कम गर्नका लागि सरकारले चालु आर्थिक वर्षेदेखि सहअस्तित्व विशेष कार्यक्रम सञ्चालन गरिरहेको पनि जानकारी दिइन् । उनले वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज व्यवस्थापनमा निरन्तर सुधार भइरहेको, चिडियाखाना स्थापना र सञ्चालन, वन्यजन्तु उद्धार व्यवस्थापन, वन्यजन्तु पालनसम्बन्धी मापदण्ड र वन्यजन्तु कल्याणका विषयमा पनि सरकारले काम गरिरहेको दावी गरिन् ।


उद्घाटन कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले नेपालमा संरक्षणका काम पूर्खाको पालादेखि नै भएको र मावन वन्यजन्तु सहअस्तित्वको चलन पुरानै भएको चर्चा गरे । उनले भने, हामी पुर्खाैँदेखि संरक्षणका हिमायती हौँ । यो नेपाली समाजको बंशाणुगत गुण जस्तै भएको छ ।


सो कार्यक्रममा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयूसिएन) का राष्ट्रिय प्रतिनिधि डा. नरेन्द्रमान बाबु प्रधानले हाल सञ्चालन भइरहेको फोरमबाट पारित विषय सरकारलाई हस्तान्तरण गरिने र आगामी दिनमा हुने अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको विश्व सम्मेलनमा नोपलका तर्फबाट प्रस्तुत गरिने जानकारी दिए ।


दुइ दिनसम्म सञ्चालन हुने कार्यक्रममा जैविक विविधता संरक्षण र मानव वन्यजन्तु सहअस्तित्व जलवायु परिवर्तनले जैविक विविधतामा परेको असर, नेपालका लागि जलवायु न्याय र जलवायु वित्त, मानव हात्ती द्धन्द्ध र नीतिगत व्यवस्था, स्थानीय समुदायको जीविकोपार्जनका लागि वित्तीय सहयोगको आवश्यकता, लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम तय भएको छ । फोरमले काठमाडौँ घोषणापत्र जारी गर्ने भएको छ ।


२०६३ साल असोज ७ गते कञ्चनजङ्गा संरक्षण क्षेत्र स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रम जाने क्रममा तत्कालिन वन मन्त्री गोपाल राई सहितका स्वदेशी तथा विदेशी गरी २४ जनाको ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएको थियो । सोही दिनको सम्झनामा नेपालले हरेक वर्ष असोज ७ गते राष्ट्रिय संरक्षण दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here