जलवायु उत्थानका लागि दाताको भर परेर मात्र हुँदैन

काठमाडौँ । जलवायु उत्थानशिलताका लागि नेपालले दातृ निकायको मात्र भर पर्न नहुने कुरामा विज्ञहरुले जोड दिएका छन् ।


काठमाडौँ क्लाइमेट विकको “जलवायु उत्थानमा नेपालको अवस्था” विषयको शत्रमा बोल्दै विज्ञहरुले यस्तो कुरा बताएका हुन् ।


सो शत्रमा बोल्दै जलवायुविज्ञ युगान मानन्धरले रसुवा भोटेकोशीको हिमबाढीबाट भएको क्षतिपछि नेपालले जलवायु उत्थानशिलताको काम गर्न आफूले पनि लगानी गर्नुपर्ने र दातृ निकायको मात्र मुख ताक्न नहुने बिचार व्यक्त गरे ।


उनले भने, “ जलवायु वित्त भनेको भूराजनीतिक विषय पनि हो । अहिले विकसित मुलुकको प्राथमिकता आफ्नो देशको सुरक्षामा देखिएको छ । जलवायु वित्तमा खासै रुची देखिदैन । त्यसैले पनि नेपालले आफ्नै स्रोतको प्रयोग गर्नुपर्छ । दातृ निकायलाई मागेर मात्र अपेक्षाकृत जलवायु वित्त आउने सम्भावना कम छ ।”


उनले दातृ निकायले सहयोग गरेको रकम समेत खर्च नहुने समस्या नेपालमा रहेको पनि बताए । उनले भने, “नेपाललाई प्राप्त जलवायु वित्त निर्धारित समयमा खर्च नहुने समस्या पनि छ । यसलाई सुधार गर्न सक्नुपर्छ ।”


कार्यक्रममा अर्का जलवायु विज्ञ डा.विमल रेग्मीले नेपाल जस्ता कम विकसित मुलुकमा जलवायु उत्थानशिलताका काम गर्न स्रोतको अभाव हुुने गरेको बताए ।

उनले पनि मानन्धरसँग सहमत हुँदै रसुवा भोटेकोशी लगायतका क्षेत्रमा नेपालले आफूले पनि लगानी गर्न सक्नुपर्ने र नेपाललाई चाहिने जति रकम जलवायु वित्तको रुपमा दातृ निकायले दिन्छन भन्नु गलत भएको बताए ।


उनले भने, “जलवायु परिवर्तनको असर बढी जसो नेपाल जस्ता गरिव मुलुकहरु परिरहेका छन् । जलवायु उत्थानशिलताका काम गर्न स्रोतको अभाव पनि गरिव मुलुकहरुमा हुने गरेको छ । खर्च गर्ने सक्ने संरचना पनि कमजोर भएकाले जलवायु उत्थानशिलताका काम प्रभावकारी हुन सकिरहेका छैनन् ।”


कार्यक्रममा पानी अनुसन्धानकर्ता अजय दिक्षितले हिमाल र पानीबाट हुन सक्ने जोखिमबाट बच्न चीन, नेपाल र भारतकाबिच समन्वय हुनु जरुरी भएको बताए ।

उनले विगतमा भारतसँग यस्ता कुरामा समन्वय हुने गरेको भएपनि आगामी दिनमा चीनलाई पनि समेट्ने कुरामा नेपालले पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा डा. अनुकुमारी लामाले पछिल्ला दिनमा रिजेनेटिभ टुरिजम (पुर्नजन्शील पर्यटन) को आर्कषण बढेको बताइन् । उनले भनिन्, “दिगो पर्यटनले कम हानि गर्ने वा स्रोतको प्रयोगलाई कम गर्ने कुरामा ध्यान केन्द्रित गर्दछ भने पुनर्जन्मशील पर्यटनले सक्रिय भलाइ गर्ने र स्थानीय प्रणालीमा फिर्ता ल्याउने कुरामा ध्यान केन्द्रित गर्छ ।”

डब्लुडब्लुएफ जलवायु परिवर्तन र ऊर्जा कार्यक्रम प्रमुख आरती खड्कीले सहजीकरण गरेको सो कार्यक्रममा जलवायु परिवर्तनसँग सरोकार राख्ने व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here