प्रकाशपुर । कोशी प्रदेशका पहाडी क्षेत्रमा वर्षा भएसँगै सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ ।
नदीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेज कन्ट्रोल रुमले शनिबार बिहान ६ बजे ३ लाख १६ हजार ७९५ क्युसेक पानीको बहाव मापन गरेको छ ।
पानीको बहाव उच्च भएसँगै कोशी ब्यारेजका ५६ मध्ये ४३ वटा ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ । बुधबारदेखि परेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको हो ।
कोशी ब्यारेजमा पानीको बहाव अत्यधिक भएपछि ४३ वटा ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमका कर्मचारी अमित यादवले जानकारी दिएका छन् । उनले भनेका छन्, पानी निकै बढी सक्यो, त्यसैले ढोका खोलिएका छन्।
यादवका अनुसार चतरा–कोशी पुल क्षेत्रमा शनिबार बिहान ६ बजे २ लाख ४३ हजार ७ क्युसेक पानीको बहाव मापन गरिएको छ ।
































