काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीलाई ‘हिमाली सुनामी’ नाम दिएका छन् ।
बिहीबार काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुलाई भोटेकोशीमा आएको बाढी बाढी र त्यसबाट उत्पन्न क्षति बारे जानकारी गराउँदै मन्त्री खनालले सो बाढीलाई हिमाली सुनामी भन्ने गरेको बताए ।
उनले भने, ‘ यही भदौ १० गते आएको विनाशकारी बाढीलाई मैले ‘हिमाली सुनामी’ भन्न रुचाउँछु ।’
नेपाललाई आइलागेको प्राकृतिक विपद्को कारण, यसको विकासक्रम र यसबाट भएको क्षति, हानी नोक्सानी बारे सरकारले अध्ययन गरिरहेको पनि उनले बताए । यो बाढी इतिहासको एक खतरनाक बाढी भएको र यो बाढी असामान्य प्राकृतिक घटना भएको पनि मन्त्री खनालले बताए ।
सो छलफल कार्यक्रममा राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, विश्व बैंक र एसियाली विकास बैंक एवं संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू उपस्थित थिए । सो बैठकमा मन्त्री खनालले भोटेकोशी बाढी सामान्य बाढी नभएको स्पष्ट पारेका थिए ।
































